‘नाकावन्दी’ र हावादारी ‘राष्ट्रवाद’

यो समाचार 268 पटक पढिएको

भारतले अघोषित नाकावन्दी लगाएपछि माओवादी अध्यक्ष प्रचण्ड साइकल चढ्न तम्तयार भए । उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले हवाइजहाजमा इन्धन ल्याउने भाषण ठोके । कोही अनिलो खाने भए । कोही भारतीय दूतावासको गेटमा गएर धर्ना दिन तत्पर भए ।

Sumanraj pant
सुमनराज पन्त

फेसबुकका भित्तादेखि अनलाइन, अखबार, टेलिभिजन र रेडियोसम्म यावत आक्रोश र प्रतिक्रिया आइरहेका छन् । अधिकांश जमघटमा यो नाकावन्दी सहने तर भारतसित नझुक्ने गफ भइरहेका छन् । लाग्छ, अहिले भारतीय नाकावन्दीले अकस्मात् हामीमा स्वाभिमान जुर्मुराएको छ ।  हो, अहिले भारतीय नाकावन्दीले हामीलाई जेल्दा चेत फिरिरहेको छ । हामी भोक सहन्छौं । दुःख भोग्छौं तर उसको सुनियोजित अभिष्ट पुरा हुन दिँदैनौं । हामी आफ्नो स्वाभिमानमा अडिग छौं । सामाजिक सञ्जालमा यस्ता स्टाटस लेखेर आफ्नो तुष पोखिरहेका छौं । सोचौं त, यो नाकावन्दीमा हाम्रै आफ्नो कमजोरी छैन र ? रेमिट्यान्सको पैसाबाट हामीले बाह्य वस्तु र सेवामा परनिर्भर हुँदैगर्दा अहिले आफ्नै स्वाधिनता र स्वाभिमानमै कति ठूलो चोट पुगिरहेको छ ?

लाजमर्दो आयात
हामीलाई लाज लाग्नुपर्ने हो, अहिले हामी खुर्सानीदेखि मकैसम्म विदेशबाट ल्याउँछौं । वर्षमा तीन बाली हुने हाम्रा जमीन बाँझो राख्दै हात बाँधेर बस्छौं अनि भन्सार छूट दिएर वर्षेनि ५० औं अर्ब रुपैंयाँको धान, गहुँ, मकै र तेल आयात गर्छौं । घरकै जुठोपुरो खुवाएर पनि हरेक घरमा पाल्न सकिने खसीबोका विदेशबाटै आउँछन् ।  भनिन्छ, नेपाल कृषिप्रधान देश । तर, लाजमर्दो कुरो, यहाँ अहिलेसम्म एउटा रासायनिक मल कारखाना छैनन् । हरेक सिजनमा भारतबाट मल नआए हाम्रा बालीनाली सुकेरै मर्छन् ।

यता, सरकारी अनुदानसमेत पाएका प्राँगारिक मल कारखानाहरु भने आफ्नो उत्पादन बेच्न नपाएर डुबिरहेका छन् । के हाम्रो सरकार र निजी क्षेत्र आफ्ना किसानलाई पुग्ने परिमाणमा मल उत्पादन र बेच्न सक्दैन ? त्यसो त, हामीले प्रयोग गर्ने बीऊ र औषधिमा पनि परनिर्भरताको पराकाष्ठा छ । हजारौं हेक्टर भूमि मरुभूमि बनिरहेको छ । हामीलाई आफ्नो लागि गुणस्तरीय बीऊ उत्पादन प्रशोधनमा लगानी गर्न के ले अवरोध गरेको छ ? राज्यको करोडौं लगानीमा पढेका, छात्रृवृत्तिमा पढेर आएका हाम्रा कृषि विज्ञहरुलाई आफ्नो दक्षता आम किसानमाझ प्रसार गर्न रोक्ने हाम्रै परम्परागत सरकारी सिस्टम नै हैन ? के हाम्रा विज्ञहरु यहीं तरकारी, फलफूलको बिऊको व्यवसायिक उत्पादनमा सहायक बन्न सक्दैनन् र ? नश्ल सुधारमार्फत् पशु उत्पादनमा चामत्मकारिक वृद्धि ल्याउन सक्दैनन् र ? एउटै बोटबाट १५ केजीसम्म गोलभेंडा फलाउने प्रविधि नेपाल भित्रिसकेको छ ।

तर, त्यसलाई प्राथमिकता दिन सरकार चाहँदैन । बरु, तरकारी आयातमा भन्सार छूट दिन्छ तर यहीं उत्पादन गर्छौं भन्दै आयात गरिने कृषि उपकरणमा चर्को शुल्क असुल्छ ।  सिंचाइ, मल, बीऊ र श्रमिकको अभाव सहँदै हाम्रा किसान बाली उत्पादन गर्छन् । तर, सरकार कृषि उपजको समर्थन मूल्य निर्धारण गर्न लाचार हुन्छ । बरु, भारत र चीनबाट प्याज आएन, फलफूल आएन भन्दै सरकारी अधिकारीहरु रुवाबासी गर्दै बस्छन् । तर विडम्बना, वर्षौं पढेर आएका दिग्गज हाम्रा कृषि विज्ञलाई सरकार गन्दैन । उनीहरुले दिएको प्रतिवेदनलाई दराजमै थन्क्याइदिन्छ ।

खानी उपयोग गरौं
नेपाल स्रोतविहीन मुलुक हुँदै होइन । यहाँ इन्धनदेखि खानीसम्म भएको प्रमाणित आधारहरु छन् । बहुमूल्य खनिज यहीं छन् । बहुमूल्य जडिबुटी यहीं छन् । तर दुःखको कुरो, हाम्रो खानी तथा भूगर्भ विभागले आफ्नो काम देखाउन पाएको छैन । नक्सा र प्रतिवेदनमा खानीको स्रोत यहाँ यहाँ छन् भन्दै लेखेर बस्न विवश छ । पूर्वी नेपालमा एउटा गतिलो इन्धन खानी फेला परेको वर्षौं बितिसकेको छ । तर, सरकार त्यो खानी रुङ्ँगेर बस्ने कर्मचारी पाल्न सक्छ, तर खानीको उपयोग गर्न सक्दैन । प्राप्त जानकारी अनुसार, मोरङ जिल्ला, कानेपोखरी आसपासको उक्त खानीको मूल मार्ग आसाम आयलको खानी मार्गमा पर्ने भएकोले भारतीय दवाबमा उत्खनन गर्न नसकिएको हो । के हामीले आफ्नो स्रोतको उपयोग हाम्रै यति लाचार बन्नु पर्छ र ? त्यस्तै, प्राकृतिक ग्यास, फलाम, सुनजस्ता दर्जनौं खानी हाम्रै नेपालमा छ । तर हाम्रो ध्यान किन त्यता जाँदैन ?

अहिले भारतीय नाकावन्दीले हामीलाई पेल्दै जानुको कारण चीनसितको नाका बन्द हुनु पनि हो । भूकम्प गएको चार महिना बितिसक्दा पनि हामी चीनसितको नाका खोल्न चासो राख्दैनौं । केही सातामै सम्पन हुने नाका खोल्ने काम गर्न सरकार बजेट दिँदैन । कर्मचारीले उधारोमा कति काम गरुन् ? तातोपानी नाका खुलाउन कर्मचारी ३५ लाख रुपैंयाँ बढी ज्याला र इन्धनमा उधारो तिर्न नपाएर छटपटिएका छन् । तर हाम्रै नेतागणहरु हवाइजहाजमा ढुवानी गर्छु भन्दै हावादारी गफ दिँदै बस्छन् । कोही साइकल चढ्छु भन्छन् ।

स्वाभिमान संस्थागत गरौं
अहिले भारतीय नाकावन्दीले अधिकांश नागरिकमा स्वाभिमान जुर्मुराएको छ । आफ्नै स्रोत, सीप र श्रममा आत्मनिर्भर बन्नुपर्छ भन्ने चेत खुलेको छ । यही बेला हो सरकारले नागरिकको उत्साहलाई संस्थागत गर्ने । मासिक हजारौं युवालाई विदेश जान प्रेरित गर्ने होइन, यहीं बसेर गरिखाने अवसर सिर्जना गरिनुपर्छ । नागरिकलाई उत्पादनमा सरिक गराउने अनि सरकारले तिनको स्वदेशी, विदेशी बजारीकरणमा हातेमालो गर्ने जिम्मेवारी वहन गर्नुपर्छ । भारतले रोकिदियो, चीन तिमीले हामीलाई हेरिदेऊ भन्दै कुर्लिने होइन, हामी आत्मनिर्भर हुन पहिला सुरु गरौं न । हाम्रो भूमिमा उत्पादन हुनै नसक्ने वस्तुमात्र ल्याउने बारेमा सोचौं । अनि सुहाउँछ स्वाधीनता र स्वाभिमानको कुरा गर्न । बरु साइकल चढ्छौं, अनिलो खान्छौ भन्दै हावादारी राष्ट्रवादले हामी स्वयं दुनियाँसामु नादान र हुतिहारा सावित भइरहेका छौं ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :