नेपालमा ७० प्रतिशत फलफूल भारतीय

यो समाचार 123 पटक पढिएको

काठमाडौं, १५ असोज/  नेपाली बजारमा खपत हुने फलफूलको ७० प्रतिशत हिस्सा भारतले ओगटेको छ। ३० प्रतिशत फलफूल स्वदेशी तथा तेस्रो देशहरुबाट आयात हुने गरेको सम्वद्ध अधिकारीहरुले जानकारी दिएका छन्।

भारतसँगको व्यापार घाटामा फलफूलको हिस्सा पनि ठूलै रहेको फलफूल थोक व्यापार व्यवसायी महासंघका अध्यक्ष अम्बर वानियाँ बताउँछन्।  भारतबाटै अधिकांश फलफूल आयात हुने भएकाले अहिले अघोषित नाकाबन्दीका कारण फलफूल बजार समेत सुस्ताएको छ। बजारमा अहिले फलफूलको अभाव बढ्दै गएको र केही दिनमै यसको नराम्रो असर देखिने वानियाँले जानकारी दिए। केही दिन यस्तै अवस्था रहेमा दसैंको समयमा फलफूलको हाहाकार हुने उनको भनाई छ। बिरामीहरुका लागि समेत महत्वपूर्ण रहेको फलफूलको अभाव बढ्दै जाँदा स्वास्थ्य क्षेत्रमा समेत नराम्रो असर देखिन सक्ने सम्वन्धित अधिकारीहरु बताउँछन्। कतिपय जटिल अवस्थाका बिरामीहरुका लागि फलफूलले नै जीवन धानेको समेत पाइन्छ।

अहिले स्टक फलफूलले बजार माग पुरा भइरहेको बजार व्यवस्थापक महेश खड्काले जानकारी दिए। आयातमा समस्या रहे पनि थोक फलफूल बजारमा मूल्य भने त्यति नबढेको उनले बताए। थोक बजारमा रहेको फलफूलले ४ दिन मात्रै धान्न सक्ने उनले बताए।  भारतबाट नेपालले स्याउ, अनार, केरा, भुइँकटहर, तरबुजा लगायतका सबै प्रकारको फलफूल आयात गरिरहेको छ। भारतले नाका बन्दी गरेलगतै मुस्ताङको स्याउले मूल्य पाएको समेत खड्काले जानकारी दिए। थोक बजारमा अहिले काँचो नरिवल भने सकिएको उनले बताए।

फलफूलमध्ये स्वदेशी केराले भने नेपालको माग धेरै समय धान्न सक्ने सम्वन्धित अधिकारीहरुले बताएका छन्। पछिल्लो समयमा नेपालको सुनसरी जिल्लामा उत्पादित केराले ४ महिनाको बजार माग थेग्न सक्ने बताइएको छ। नेपालमै उत्पादित केरा दैनिक बजारमा ५ ट्रक भन्दा बढी खपत भइरहेको र बजारमा अभाव नभएको उनीहरुले बताए।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :