दसैंलाई खसी–बोका ल्याउन समस्या

यो समाचार 165 पटक पढिएको

काठमाडौं, १५ असोज / दसैंमा दैनिक उपभोग्य वस्तुसँगै खसीबोकाको पनि अभाव हुने देखिएको छ ।

Goatविगतका वर्षहरूमा यतिबेला खसीबोका किनबेचको चहलपहल बाक्लो हुन्थ्यो, यो वर्ष दसैं मुखमै आइसक्दा पनि यस्ता बजार सुनसानजस्तै छन् । तराई आन्दोलनका कारण ढुवानी हुन नसक्दा उपत्यकामा खसीबोका भित्रिन नसकेका हुन् । यातायात सुचारु नभए काठमाडौंबाट बाहिरिनेहरू पनि घट्ने र यसले मूल्यमा चाप पर्ने देखिन्छ । तराईको वातावरण असहज हुँदा दसैंका लागि खसीबोका ल्याउनै नसकिएको नेपाल खाद्य संस्थानका प्रवक्ता श्रीमान् खनालले बताए । “यो वर्षको दसैंका लागि आजभोलिदेखि नै खसीबोका खरिदबिक्री सुरु भइसक्नुपर्ने थियो, बन्दका कारण सबै ठप्पजस्तै भयो,” उनले भने ।

खसीबोका खरिदका लागि प्रमुख जिल्ला अधिकारी, भेटेरेनरी, ढुवानीकर्तालगायतसँग छलफल भइसके पनि कृषकसँग सम्पर्क हुन नसकेको उनले बताए । उनका अनुसार संस्थानले यो दसैंका लागि १५ सय खसीबोका र १ हजार भेडा–च्यांग्रा खरिद गर्ने निर्णय गरिसकेको छ । यसअघिका वर्षमा ३ हजार खसीबोका र त्यत्तिकै परिमाणमा भेडा–च्यांग्रा ल्याइन्थ्यो । भेडा–च्यांग्रा मनाङ र मुस्ताङतिरबाट ल्याइने भएकाले समस्या नहुने खनालले बताए । तर, सडकको अवस्था गतिलो नहुँदा खासाबाट तातोपानी नाका हुँदै भेडा–च्यांग्रा ल्याउन भने नसकिने देखिएको छ ।

यो वर्ष बन्द–हड्ताल धेरै भइरहेकाले थोरै नै खरिद गर्ने निर्णय संस्थानले गरेको थियो । तर, तराईको अवस्था सहज नहुँदा त्यत्ति पनि ल्याउन मुस्किल देखिएको खनालले बताए । संस्थानले घटनस्थापनादेखि खसीबोका र भेडा–च्यांग्रा बिक्री थाल्छ । तराईका सिरहा, मकवानपुर, सुर्खेत, बाँकेलगायत जिल्लाबाट खसीबोका ल्याउने गरिएको छ । आन्दोलनले यी सबै जिल्ला प्रभावित भएकाले ढुवानीमा समस्या छ । बन्द खुलिहाले पनि भेटेरेनरी डक्टरले खसीबोका र भेडा–च्यांग्राको स्वास्थ्य परीक्षण गरेपछि मात्र संस्थानले खरिद गर्ने भएकाले यसै ढिलो हुनेछ । बाहिरबाट खरिद गरेर ल्याएपछि पनि भेटेरेनरी डक्टरले स्वास्थ्यपरीक्षण गरेरमात्र बेच्नुपर्ने व्यवस्था छ ।

संस्थानले पहिले खासाबाट ल्याउने गरे पनि पछिल्लो समय मनाङ र मुस्ताङबाट मात्रै भेडा–च्यांग्रा ल्याउने गरेको छ । तर, त्यहाँबाट पनि ल्याउन समस्या हुने भएकाले व्यवसायीले खासाबाट तातोपानी हुँदै काठमाडौं ल्याउँथे । व्यवसायीका अनुसार हरेक दसैंमा ५० देखि ५५ हजार चौपाया बिक्री हुन्छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :