सुन्तलाको उत्पादन बढाउन व्यवसायिकताको खाँचो

यो समाचार 619 पटक पढिएको

  • जीवन शर्मा 

ओखलढुंगा,  न्यानो घाम संगै पहेंला सुन्तलाको महत्व त्यतिखेर बुझिन्छ, जव मंसिर पुस र माघको जाडोले कानमा साउती मार्दै शरिर कठङग्रयाउन थाल्छ । हिउदको समयमा घामलाग्ने पारिलो चौरीमा बसेर सुन्तलाको मज्जा लिन जो कोहीपनि छुट्टै आनन्द मान्छन् । तर यको व्यवसायिक्ता, प्रविधिक पक्षका बारेमा आजसम्म कसैले सोच्न सकेका छैनन् । नेपालमै सुन्तलाको व्यवसायिक खेति हुन सकेको छैन् ।

orange-tree

 

नेपालको सन्दर्भ लाइ जोडेर हेर्ने हो भने ओखलढुंगालाइ पनि सुन्तला उत्पादनको गतिलो क्षेत्रका रुपमा लिइन्छ । तर यसको व्यवसायिक्ता तर्फ यहाँका कृषकहरु लागेको पाइदैन । सुन्तलालाइ एउटा सोखको रुपमा रोप्ने, तर यस सम्बन्धि प्रविधिक ज्ञान,खेति गर्ने तरिका,रोगको बारेमा जानकारी नराख्नाले दिनानुदिन सुन्तला उत्पादनमा ह्रास आउन थालेको छ । पछिल्लो समयमा ओखलढुंगाका विभिन्न गाविसमा लगाएका सुन्तला बगानमा सिट्रस ग्रिनर नामक रोगको संक्रमण बढेको कृषि विशेषज्ञहरु बताउँछन् । सिट्रस ग्रिनरका कारण सुन्तलाका बोटहरु सुक्ने,फल झर्ने,किरा लाग्ने,मसिनो दाना फल्ने र उत्पादनमा समेत कमी आउँने गरेको ओखलढुंगाका बरिष्ठ कृषि विकास अधिकृत यमकुमार श्रेष्ठको भनाइ छ ।
बगानमा लटरम्म पाकेर प्रशस्त आम्दानी दिने बेलामा सुन्तलाका बगानै सुक्ने, किरा लाग्ने,फल झर्ने लगाएतका समस्या देखापर्न थालेपछि ओखलढुङ्गाका कृषक चिन्तित बनेका छन् । सुरुमा फल झर्ने, बोट पहेँलो हुने र अन्ततः बोटै मर्ने समस्याले ओखलढुंगाका कृषकहरुलाई सताएको भएपनि यसको समाधानको उपाय खोज्न नसकेको कृषकहरु नै बताउँछन । ‘‘हामीले सुन्तला खेती व्यवसायिक नभइ, सोखको रुपमा मात्र लगायौं ।’रुम्जाटारका कृषक रोहित गुरुङले भने, ‘सुन्तलामा लाग्ने रोग र यसको खेति गर्ने प्रविधिक पक्षका बारेमा कसैलाइ थाहा छैन् र कसैले सिकाएका पनि छैन् । ” ओखलढुंगामा सुन्तलाको व्यवसायिक खेति गर्ने कृषक नभएपनि सिजनमा आफ्नो जिविको पार्जनको गतिलो स्रोत सुन्तला लाइ नै बनाएका कतिपय कृषकहरुले यस बर्ष सोचेजस्तो आम्दानी लिन नसकेको बताउँछन् । सुन्तला लाइ खनिज तत्व कसरी पु¥याउँने र उत्पादनमा बृद्धि गराएर कसरी फाइदा

लिने भन्ने ज्ञान कृषकहरु लाइ नभएको गुरुङको तर्क छ ।

सोखको रुपमा सुन्तला लगाउँदै आएका कृषकहरुले पछिल्लो समयमा केही केही ठाउँमा व्यवसायिक बनाउन खोजेपनि कृषि जेटीए र उचित परामर्शको अभावमा खेति फष्टाउन नसकेको रुम्जाटारका अर्का कृषक थमनसिंह गुरुङले बताए । सुन्तलाको लागि अब्बल मानिने जिल्ला सदरमुकाम, तलुवा, रुम्जाटार, उँवु, ठूलाछाप, कुन्तादेवी, रामपुर, माम्खा, दियाले, पोखरे, हर्कपुरलगायत गाविसमा सुन्तलाका बगानहरु रोगाएर सखाप बनेका छन् । भर्खर व्यवसायिक बन्न लागेका कृषकहरु लाइ पनि अमिलो जातका फलफुलमा लाग्ने सिट्रस ग्रिनर नामक रोगले सुन्तलाको बोट सुक्ने र फल झर्ने समस्या देखा पर्दा सुन्तला जातको व्यवसायिकतामै असर पारेको जिल्ला कृषि विकास कार्यालय खोखलढुंगाले जनाएको छ ।
अघिल्ला वर्षहरुमा सुन्तलाको सिजनमा राम्रो आम्दानी गरेका कृषकहरु यसवर्ष रोगका कारण बगान नै सखाप भएको बताउँछन् । सुन्तलाका बगानै सखाप हुँदा पनि कसैले चासो नदिएको उनिहरुको गुनासो छ । यसवर्ष सुन्तलामा दाना लाग्दै नलागेको र रोगको उपचार समेत हुन नसकेको दियालेका कृषक डिल्लीराम घिमिरेले बताए । उनले भने, ‘‘मैले ५ वर्षअगाडि व्यवसायिक खेती गर्ने उद्देश्यले ५० वटा भन्दा बढी सुन्तलाका विरुवा रोपेको थिएँ ।, राम्रोसंग फष्टानको कुरै छाडै धेरैजसो मरेरै सकिए ।’
यस्तै कुन्तादेवी ६ का यज्ञबहादुर कार्कीले पनि अघिल्ला वर्षहरुमा सुन्तला खेतीबाट २ लाखभन्दा बढी आम्दानी गरेपनि यसवर्ष आम्दानी नै नभएको बताए । उनले भने, ‘कृषि विकास कार्यालयमा कैयांैपटक हारगुहार गर्दै बगान हेरिदिन अनुरोध गरेँ, तर कसैले पनि आएर नजर लगाएनन् । उता जिल्ला कृषि विकास कार्यालयका कर्मचारी भने कृषकहरुले सुन्तलाको समस्याका विषयमा सम्पर्क नै नगरेको बताउँदै आएका छ । सुन्तलाका बोट रोगाएर मर्न थालेका भएपनि कृषि प्राविधिकहरु बोटबोटमा पुग्न नसक्ने कृषि विकास कार्यालयका कर्मचारीहरु बताउँछन् ।

पुराना बोटमा अघिल्ला बर्षहरुमा जस्तो फल नपाइनुका साथै स्वादमा समेत फरक हुने गरेको ओखलढुंगाका उपभोक्ताहरुको भनाइ छ । यस बर्ष सुन्तलाको रसमा अमिलोपन बढी भेटिएको उपभोक्ता नवराज कार्कीले बताए । ओखलढुंगामा २७८ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आएको छ भने यसवर्ष सुन्तलाको उत्पादन समेत घटेको छ । यसवर्ष ओखलढुङ्गामा १० प्रतिशत् भन्दा बढी सुन्तलाको उत्पादनमा ह्रास आएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । सुन्तला खेतीमा आएको समस्याका विषयमा सरोकारवाला निकायले ध्यान नदिने हो सुन्तला खेतीमा लागेका किसानहरु व्यवसायिक बन्नुको सट्टा केही बर्ष भित्रै विस्थापित हुने अवस्था आउने देखिन्छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :