कुखुरापालक किसानलाई पाइलैपिच्छे सास्ती

यो समाचार 312 पटक पढिएको

बनेपा, ४ असोज /नेपालको कृषिक्षेत्रमा पछिल्लो समय सबैभन्दा फस्टाएको व्यवसाय ब्रोइलर कुखुरापालन हो तर यस व्यवसायमा किसानले भोग्नु परेको सास्ती बयान गरी साध्य छैन। एक दिने चल्ला किन्ने समयदेखि हुर्काउँदा र तयारी कुखुरा बजारमा लैजाने समयसम्म किसानले अनेकौं पटक सास्ती व्यहोर्नु पर्छ।

baby chicken‘ह्याचरी उद्योग संघले पत्रिकामै चल्लाको मूल्य सार्वजनिक गर्दै आएको छ। तर, अझै पनि संघको भन्दा १० रुपैंया बढी तिरेर चल्ला किन्नु पर्ने बाध्यता छ,’ नेपाल कुखुरापालक किसान संघका अध्यक्ष भोजराज दाहालले भने। यतिखेर नेपाल ह्याचरी उद्योग संघले ह्याचरी गेटमा एक दिने ब्रोइलर चल्लाको मूल्य ५५ रुपैंया कायम गरेको छ। तर, संघको निर्णयको बर्खिलाप गर्दै ६५ रुपैंयासम्म लिने गरेको ह्याचरीहरुको बाहुल्य रहेको छ। यीनमा संघकै अध्यक्ष, निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्षलगायतको ह्याचरी रहेको छ।

‘किसानको तर्फबाट निरन्तर दवाब दिन थालेपछि बढी मूल्य लिने ह्याचरी सञ्चालकहरुले भाउबारेमा छलफल गर्छौं भनेका छन्। तर, हप्तौं हुँदासमेत घटाएका छैनन्,’ दाहालले भने। आफू पनि कुखुरापालनमा संलग्न रहेका दाहालको दैनिकी प्रायःजसो यिनै ह्याचरीसँग विवाद गर्दैमा बित्ने गरेको छ। ‘किसानको नेतृत्व गर्ने भएकोले समस्यामा किसानहरु परिरहँदा त्यसै चूप लागेर बस्न सकिन्न नि। बरु व्यवसाय नै छोड्छु, किसानको पक्षमा वकालत गर्न छाड्दिनु,’ दाहालले भने।

अन्य कृषि व्यवसायको प्रत्येक चरणको मूल्य श्रृंखला (भ्यालु चेन)मा उत्पादकदेखि बजारसम्म एउटा प्रणालीको विकास भएको पाइन्छ। तर, कुखुराको मूल्य श्रृंखलामा उत्पादन चरणदेखि तयारी कुखुरा बजारसम्म लैजाने क्रममा अधिकांश समय किसान नै मर्कामा पर्दै आएका देखिएका छन्। खुल्ला बजारको हवाला दिँदै आएका दाना उद्योग र ह्याचरी उद्योगहरुले आफू अनुकूलको निर्णयले फस्टाउँदो कुखुरापालनमा पछिल्ला दिनमा चुनौतीहरु थपिँदै गएको कुखुरा व्यवसायी मञ्च, नेपालका सचिव दयाराम महतको भनाई छ।

‘पछिल्लो उदाहरणका लागि हालैमात्रै कुखुराको दानामा भएको मूल्य वृद्धिलाई लिन सकिन्छ। उनीहरुले आफू अनुकूल दानाको भाउ बढाएका छन्। ब्रोइलरको दाना प्रति बोरा(५० किलो)मा ८५ रुपैंयासम्म बढाएको केहीले ७५ मात्रै बढाएका छन्’, उनले भने। हाल नेपालमा दर्जनभन्दा बढी पेलेट दाना कम्पनीहरुले कुखुराको उमेरअनुसारका विभिन्न पेलेट दानाहरु उत्पादन गर्दै आएका छन्। दाना उद्योगहरुको नियमन प्रभावकारी हुन नसक्दा दानामा केकस्ता सामग्रीहरु हालेको छ र कति पौष्टिकता छ भनेर किसानले पत्तै पाउन नसकेको महतको भनाई छ।

‘दश रुपैंयामा बिक्ने बिस्कुटमा समेत उत्पादकले सबै विवरण र पौष्टिक मात्रा उल्लेख गरेको हुन्छ। तर, बोराको ३ हजार रुपैंयाको हाराहारीमा पर्ने दानाको बोराभित्र के र कति पोषण भएको छ र मैले कस्तो दाना खुवाइरहेको छु भन्ने किसानले भेउ पाउँदैनन्’, उनले थपे। कुखुराको दानामा एफसीआर९दाना खुवाएको अनुपातमा कुखुरामा आउने तौलको दर० कति छ भन्ने उल्लेख नभएसम्म उद्योगले फरक–फरक मूल्य राख्न नहुने महतको तर्क छ।

नेपालमा दाना पदार्थ उत्पादन गर्दै आएका व्यक्ति वा फर्मलाई नियमन गर्न २०३३ सालमै कानून बनेको भए पनि त्यसको प्रभावकारी कार्यान्वन नभएको अवस्था रहेको छ। दाना बनाउने मुख्य कच्चा पदार्थहरुको भाउ बढेकाले बाध्य भएर मूल्य बढाउनु परेको नेपाल दाना उद्योग संघका महासचिव रबिन पूरीको भनाई छ, ‘दाना उत्पादनमा चाहिने अधिकांश कच्चा सामग्रीहरुमा परनिर्भरता बढ्दो छ। भटमासको पीनाका लागि नेपालका सबै दाना उद्योगहरु पुरै भारतमा निर्भर हुँदै आएका छन्। विगतमा मकै ४० प्रतिशत र तोरीको पीना नेपालकै उत्पादनले भ्याउने गरेको थियो। अहिले त्यो पनि अपुग छ। यतिखेर ढुटो समेत भारतकै भर पर्दै आएका छन्’, उनले भने।

तर, किसानहरुले भने कच्चा सामानको भाउ घटेका बेला दानाको मूल्य घटाउन आनकानी गर्ने उद्योगहरु कच्चा सामानको भाउ बढेलगत्तै मूल्य बढाउन उद्दत रहेकोप्रति आपत्ति जनाउँदै आएका छन्। अहिलेको कुखुरापालनमा मूल्य श्रृंखला अनुसार अनुसार किसानहरुले तयार पारेको ब्रोइलर सोझै बेच्न सक्दैनन। दाना र चल्ला बेच्ने सप्लायर्सको भर पर्नु पर्ने हुन्छ। अधिकांश किसानहरुलाई ब्रोइलर पाल्न दाना उद्योग, ह्याचरी र डिलरले नै लगानी गरिदिने भएकाले किसानहरु अधिकारको कुरा उठाउन सक्दैनन। उनीहरुको पहुँच कोल्डस्टोरसम्म नहुँदा डिलरकै भर पर्नु पर्ने हुन्छ।

कोल्ड स्टोरमा डिजिटल तराजूको नाममा शिल नभएका र नापतौलबाट जाँचपास नभएका तराजू बढी प्रयोग भएका छन्। किसानसँग ब्रोइलर कुखुरा खरिद गर्दा डिजिटल तराजूमा ‘सेटिङ’ परिवर्तन गरेर कोल्डस्टोरहरुले तौलमा ठगी गर्ने गरेको किसानहरुले आरोप लगाएका छन्। ‘त्यही कुखुरा एउटा कोल्डस्टोरमा जोख्दा २ किलो २ सय ग्राम आयो, अर्कोमा लैजाँदा ५ सय ग्राम घटी। हेर्दा हेर्दै ५ सय ग्राममा ठगी भयो,’ पनौती, मल्पीका किसान गंगासागर केसीले भने। कोल्ड स्टोर पुगेर ठगिने किसानहरुमा केसीमात्रै एक्ला छैनन्। काठमाडौंका अधिकांश कोल्ड स्टोर पुगेका कुखुरापालक किसानहरुको एउटै गुनासो हुने गरेको छ, कोल्ड स्टोरले ठगेका।

‘डिलरमार्फत कुखुरा बेच्न लिएर जाँदा समेत जोखाईमा ठग्दै आएका छन्। डिजिटल तराजूमै सेटिङ मिलाएका हुँदा रहेछन्। नयाँ किसानले त एक दुई पटक कसरी जोखाइ हुन्छ मेसो नै पाउन सक्दैनन्,’ रोशीका किसान बासु श्रेष्ठले भने। प्रत्येक कोल्ड स्टोरको जोखाईमा फरक आउने र संघले तोकेको भाउ समेत नदिने भएपछि थप मर्कामा परेको उनको गुनासो छ, ‘ग्रेडिङको नाममा २ किलो २ सय ग्रामभन्दा कम हुनासाथ प्रति सय ग्राममा २ रुपैंयाको दरले घटाउँछन्। तर, आँखै अगाडि ग्राहकलाई बेच्ने क्रममा एउटै भाउमा बेच्छन्। हामीलाई त ठगे ठगे, उपभोक्तालाई समेत ठग्दै आएका छन्’, श्रेष्ठले भने।

कुखुरा बेच्न लैजाने क्रममा किसानहरु तौलमा मात्रै ठगिने नभई कोल्ड स्टोरका कामदारहरुले पानी जमेको ठाउँमा, अँध्यारो कोठामा जोखिदिने र कुखुरा लुकाइदिने समस्याबाट समेत पीडित बन्ने गरेका छन्। ‘ट्वाइलेट, ड्रम र खाट मुनिसमेत कुखुरा लुकाइदिँदा रहेछन्’, मल्पीका व्यवसायी कृष्णकुमार केसीले भने। त्यसैकारण कुखुरा बेच्न जाँदा केसीका दाजुभाई सँगसँगै काठमाडौंका कोल्डस्टोरमा जाने गरेका छन्। ‘एकजनाले कुखुरा गन्छौं। अर्कोले जोखेको हेर्छौं। तराजूमा गडबड गर्ने भएकाले कुखुरा जोख्ने तराजूमा पहिले आफ्नो तौल हेरेर निश्चय गर्ने गरेका छौ,’, केसीले थपे।

राष्ट्रिय कुखुरा बिक्री व्यवसाय संघमा आवद्ध कोल्डस्टोरहरुलाई किसानसँग कुखुरा किन्ने क्रममा तौलमा गडबडी नगर्नका लागि बेलाबखत सचेत गराउँदै आएको भएपनि केहीले अझै अटेर गरेको संघका उपाध्यक्ष श्री ढकालको भनाई छ। ‘२०५३ सालसम्म किसानकै खोरबाट कुखुरा उठाउने गरिन्थ्यो। पछि ठूला भनिने कोल्डस्टोरहरुले खोरबाट उठाउन छोडे। आफूकहाँ आइपुगेको किसानसँग जसरी पनि कुखुरा लिने दाउ मात्रै हेर्ने काम भएको छ,’ उनले थपे।

केही वर्ष अघिसम्म बजारमा माग र आपूर्तिको आधारमा कुखुराको खरिद र बिक्री मूल्य निर्धारण गरिने प्रणाली रहेकोमा पछिल्ला वर्षमा केही ठूला कोल्डस्टोरको मनलाग्दी भएको उनको भनाई छ, ‘बजार मूल्यको बारेमा छलफलका लागि कहिल्यै बोलाइन्न। किसानको लागत कति परेको छ भन्ने अध्ययन नगरी सीमित कोल्ड स्टोरहरु बसेर भाउ कायम गर्छन्। अनि उनीहरुले कायम गरेको भाउ फोनमा सुन्दै आएको छ,’ ढकालले भने। कृषितर्फको कुल ग्राहस्थको आठ प्रतिशत हिस्सा ओगट्न सफल कुखुरापालन व्यवसायमा ६० अर्बभन्दा बढीको लगानी भइसकेको छ भने एक लाखले प्रत्यक्ष रोजगारी पाएका छन्। यो व्यवसायमा पाँच हजार व्यवसायी प्रत्यक्ष रूपमा संलग्न छन्।

कृषकको भनाई
रीता सिग्देल, पाँचखाल–१४, कुखुरापालक किसान

कुखुरा पालेको ७ वर्ष भयो। जति पटक पाल्दा पनि नाफा भने भएको छैन। बजारमा कुखुराको राम्रो भाउ आउने सिजनमा पालौं भनेर चल्ला माग्यो। त्यही बेलामा चल्लाको माग बढी हुँदो रहेछ अनि डिलरले दिन मान्दैनन्। भन्नासाथ कहाँ चल्ला पाइन्छ भन्छन्। लामो समय खोर खाली राख्नु पर्छ। अघिल्लो लटमा लागेको घाटा पूर्ति गर्छु चल्ला दिनु पर्यो् भनेर अनुरोध गर्दा समेत दिन मान्दैनन्। तर उनीहरुको भागमा चल्ला धेरै आएर अन्यत्र बेच्न नसकेको अवस्थामा भने जसरी भए पनि चल्ला राख्न दवाब दिन्छन्।

चल्ला एक पटक किन्दा हुन्छ। तर त्यसलाई हुर्काउन नियमित दाना चाहिने हुन्छ। तर, दानाको गुणस्तर सधैं एकैनासको हुँदैन। बोरामा कस्तो दाना हो, के के हालिएको हो, कति दिन खुवाउने हो, कति पोषिलो छ भन्ने कुरा लेखेको हुँदैन। हचुवाका भरमा दाना खुवाइरहेका छौं। जिल्लामा भेटनरी अस्पताल भए पनि कुखुराको रोगको निदानका लागि जाने गरेका छैनौं। निजी क्लिनिकहरुमा जाने गरेका छौं। सरकारले जिल्लाकै भेटनरी अस्पतालमा सेवा पाउने व्यवस्था मिलाइदिनु पर्छ।

उता, ब्रोइलर कुखुरा हुर्कँदै जाँदा बजारमा कसरी लाने हो, कति भाउ पाइने हो भन्ने चिन्ता भइरहन्छ। आफुले पालेका कुखुरा राम्रो तौल आएको र बेच्न ठीक्क परेको भएपनि डिलरको सहयोग विना बेच्न सकिन्न। त्यो पनि डिलरले भनेकै कोल्ड स्टोरमा लैजानु पर्छ। कुखुरा जोख्ने बेलामा तौलमा गडबडी गर्छन्। अनि भाउमा पनि एकरुपता छैन। संघको दर भनिन्छ तर पैसा पाउने बेलामा घटी हुन्छ। कुखुरापालक किसानको समस्या भनि साध्य छैन।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :