कफी किसानलाई सीपको खाँचो

यो समाचार 237 पटक पढिएको

तानसेन, २ असोज / पाल्पाका कफी किसानले सीपको अभावमा कफी उत्पादन वृद्धि हुन नसकेको बताएका छन्।

Coffe कफी उत्पादन वृद्धिको विषयमा सरोकारवाला निकायसँग राष्ट्रिय चिया तथा कफी विकास बोर्डले गरेको अन्तरक्रियामा किसानले सीप अभाव भएको गुनासो गरेका हुन्। राजनीतिक दल, जिल्ला कफी व्यवसायी संघ, कफी उत्पादक तथा व्यवसायी किसान र सञ्चारकर्मीसँग पाल्पामा कफी उत्पादन, बजार तथा व्यवस्थापनको अवस्थाका बारेमा बोर्डले छलफल गरेको हो। बोर्डका निर्देशक शेषकान्त गौतमले पाल्पा र गुल्मीमा कफी खेतीका लागि ठूलो लगानी गरिएकोले त्यसलाई सहयोग पुर्‍याउन युरोपियन युनियनको सहयोगमा नयाँ परियोजना सुरु गर्न थालिएको बताए।

नमुनाको रूपमा अर्घाखाँची, स्याङ्जा, कास्की, तनहुँ, काभ्रे र ललितपुरमा समेत परियोजना लागू गरिने निर्देशक गौतमले जानकारी दिए। किसानले सुरुका दिनमा लहलहैमा कफी खेती गरेकाले यस विषयमा उचित ज्ञान नहुँदा व्यावसायिक कफी उत्पादनमा समस्या भएको कफी व्यवसायी संघ पाल्पाका अध्यक्ष रेवन्तबहादुर बिष्टले बताए।  यहाँ २०४० सालदेखि कफी उत्पादन सुरु गरिए पनि कयौं पटक घाटा खाएर अहिले उत्पादनको विषयमा चेतना, प्रविधि, हावापानीको जानकारी पाउँदै गएको उनले बताए।

पाल्पामा हाल २० रोपनी जग्गामा कफी खेती गरिएको उनले जानकारी दिए।कफी उत्पादनमा सेतो गबारो रोग प्रमुख चुनौती देखिएकाले यसको निवारणका लागि केन्द्रीय तहबाटै अनुसन्धान भइरहेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख राजेन्द्र कोइरालाले बताए। कफी खेतीको लागि छहारीयुक्त सिँचाइ भएको, पूर्व(उत्तर फर्किएको जग्गा उपयुक्त मानिन्छ।कफी उत्पादनको विषयमा किसान तथा सरोकारवाला निकायसँग अर्घाखाँची, गुल्मी जिल्लामा अन्तरक्रियापछि बोर्डको टोली पाल्पा आएको हो। टोलीमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव इन्द्रप्रसाद उपाध्याय, सहसचिव तोयनारायण ज्ञवाली, परामर्शदाता बद्री बस्ताकोटीलगायत सहभागी छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :