बन्दले ‘बन्धक’ किसान

यो समाचार 261 पटक पढिएको

सिराहा, २ असोज / समयमा वर्षा नहुँदा दमकल (बोडिङ) बाट पानी लगाएर भए पनि खेतीयोग्य ३ विघा जमिनमा धान रोपेका सिरहा तेनुवापट्टीका बेचन यादव अहिले चिन्तित छन्। ‘अहिले धान गोड्ने बेला भएको छ,’ उनले भने, ‘धानबालीमा हाल्ने रासायनिक मल नपाएर बरबादै भएँ।’

Paddyमधेसी दलहरुले गरेको बन्दका कारण सिरहाका बेचन मात्रै होइन मधेसका अधिकांश किसानले धान बालीमा हाल्ने रासायनिक मल नपाएर हाहाकार बेहोर्न बाध्य छन्। सरकारले कृषि सामग्री संस्थान र साल्ट टे्रडिङमार्फत किसानलाई अनुदानमा उपलब्ध गराउने मल पाउन छोडेपछि सीमाक्षेत्रका किसानहरु कमसल भारतीय मल खरिद गर्न बाध्य छन्। ‘अनुदानको नेपाली मल ९ सय २० रुपैयाँमा किन्न पाइन्थ्यो,’ तेनुवापट्टीकै अर्का किसान रामपुकार यादव भन्छन्, ‘भारतीय कमसल मल १ हजार देखि १२ सयसम्म तिरेर खरिद गर्न बाध्य छु।’

हडतालको आडमा यहाँको बरियारपट्टी, झाझपट्टी औरही माडर नाकाबाट भारतीय रासायनिक मलको तस्करी बढेको छ। खेतमा लगाएको धानबालीलाई युरिया मल हाल्नुपर्ने बेलामा किसानले मल नपाएर छटपटिइरहेका छन्। ‘भारतबाट तस्करी गरी ल्याइएको रासायनिक मलको मूल्य बढी तिर्नु पर्छ,’ लालपुरकी किसान सुनिला यादव भन्छिन्, ‘नेपाली रासायनिक मल २ किलो लाग्ने ठाउँमा भारतबाट तस्करी गरी ल्याइएको मल चार किलो हाल्नु पर्छ।’ पारिबाट भित्रिएको मलको गुणस्तर नेपाली मल भन्दा कम भएको उनले बताइन्। पारिबाट भित्रिएको मलको बोरामा नाइट्रोजन ४६ प्रतिशत लेखिएको भए पनि त्यस्तो नभएको कृषि अधिकारीहरु बताउँछन्।

जिल्ला कृषि सामाग्री कम्पनी लिमिटेड लाहानका प्रमुख चन्द्र चौलागाइँले बन्दका कारण ढुवानी गर्न नसक्दा मलको हाहाकार भएको बताउँछन्। गोदाममा रहेको पुरानो रासायनिक मलको स्टकबाट बोराको दरले वितरण गरे पनि हात्तीको मुखमा जिरा जस्तै भएको चौलागाइँले बताए। धानखेतीका लागि समयमा पानी नपर्दा बोरिङबाट महँगो पानी किनेर धान रोपेका थिए। ‘पानीको अभावमा पटक–पटक पानी किनेर धान जोगाउनु परेको छ,’ कुर्बा गाउँका किसान शिवनारायण साह भन्छन्, ‘आवश्यकताभन्दा दोब्बर गोडमेल गर्नुपरेकाले धानखेतीको लागत अन्य वर्षको भन्दा दोब्बर बढेको छ।’

सिरहामा कुल खेतीयोग्य जमिनमध्ये ६० हजार ७ सय ५७ हेक्टर जमिनमा धानबाली लगाइन्छ। यो वर्ष समयमा वर्षा नहुँदा ६० प्रतिशत जमिनमा मात्र धान रोपाइँ भएको निमित्त जिल्ला कृषि विकास अधिकृत राजलाल यादवले जानकारी दिए। ‘सिञ्चित क्षेत्रमा ७५ प्रतिशत रोपाइँ भएको छ भने असिञ्चित क्षेत्रमा ५० प्रतिशत रोपाइँ भएको छ,’ यादवले बताए। कृषि सामग्री कम्पनी लिमिटेडका अनुसार यहाँ २ हजार मेट्रिक टन रासायनिक आवश्यक छ। बन्दले आवश्यक्ता अनुसारको मल आपूर्ति नहुँदा किसानमा मलको हाहाकार भएको चौलागाइँले बताए।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :