नवलपरासीमा धान उत्पादन घट्ने

यो समाचार 340 पटक पढिएको

नवलपरासी, १ असोज / एक महिनादेखिको मधेस बन्दका कारण नवलपरासीमा किसानले रासायनिक मल नपाएपछि यस वर्ष धानको उत्पादन १० प्रतिशतले घट्ने भएको छ ।

Paddy

नवलपरासीको सरमुकाम परासी एवं सम्पूर्ण मधेस क्षेत्र साउन २५ गतेदेखि बन्द भएपछि जिल्लामा रासायनिक मलको अभाव भएको छ । बन्दका कारण मल नपाउँदा धान खेतमा मल हाल्न नपाएका कारण खेतको हरियो धान क्रमशः पहेंलो हँुदै गइरहेको रजहर गाविसका स्थानीय किसान भोजबहादुर भुजेलले बताउनुभयो ।

जिल्लाको कुल खेतीयोग्य जमिनमध्ये ४६ हजार पाँच सय हेक्टर क्षेत्रफलमा धान खेती हुँदै आएकोमा यस वर्ष धानमा रासायनिक मल छर्ने मुख्य बेलामा मधेस बन्द भएकाले मल छर्न नपाइएकाले यस वर्ष पछिल्लो वर्षको तुलनामा पाँचदेखि १० प्रतिशत धान उत्पादन घट्ने जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ बाली संरक्षण अधिकृत श्रीधर पौडेलले बताउनुभयो ।
नवलपरासीको मधेस र नवलपुरको भित्री मधेस क्षेत्रमा मुख्य रूपमा धान खेती हुने गरेको छ । जसमा प्रतिहेक्टर १२० किलोको दरले पाँच हजार ५८४ टन युरिया, ८० किलोको दरले तीन हजार ७२३ मेट्रिक टन डिएपी एवं ६० किलाको दरले दुई हजार ७९२ मेट्रिक टन पोटास आवश्यक पर्ने जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
नवलपरासीमा आवश्यक पर्ने मल कृषि सामग्री कम्पनी लिमिटेडको भैरहवा एवं वीरगन्जबाट आपूर्ति हँुदै आएको थियो तर मधेस बन्दका कारण सो ढुवानी हुन नसक्दा किसानले आवश्यक रासायनिक मल पाउन सकेका छैनन् । धान रोपेर पहिलोपटक खेतमा गोडमेल गरी रासायनिक मल हाल्ने यो बेलामा मल हाल्न नपाएपछि धानको राम्रो विकास नहुने भएकाले धान उत्पादन प्रभावित हुने बताइएको छ । मल आए नआएको बुझ्न भन्दै दैनिक स्थानीय सहकारीमा किसान आउने र मलको अभावमा रित्तै फर्कनुपर्ने अवस्था रहेको रजरहका किसान भुजेलले बताउनुभयो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :