म्याग्दीका ६० युवा व्यावसायीक तरकारी खेतीमा

यो समाचार 304 पटक पढिएको

म्याग्दी, ३१ भदौ /आर्थिक वर्ष २०७१/७२ सालदेखि पहाडी जिल्ला म्याग्दीका ६० जना युवाले व्यावसायीक तरकारी खेती सुरु गरेका छन् ।

Vegetable seedकृषि विकास मन्त्रालय, कृषि तथा तरकारी विभाग निर्देशनालय अन्तर्गत जिल्ला कृषि विकास कार्यालय म्याग्दीमार्फत उनीहरुले तरकारी खेती गर्न थालेका हुन् । युवालक्षित व्यावसायिक तरकारी उत्पादन कार्यक्रम अनुसार पछिल्लो चरणमा जिल्लाका ६० जना युवाहरुलाई छनोट गरी आवश्यक सहयोग सँगसँगै उनीहरु तरकारी खेती गर्न आबद्ध भएका छन् । कृषि विकास कार्यालयको केन्द्रीय कार्यक्रमबाट प्रतिव्यक्ति ४० हजार रुपैयाँ अनुदान उपलब्ध गराई उनीहरुलाई व्यावसायीक तरकारी खेतीमा लगाइएको जिल्ला कृषि विकास कार्यालय म्याग्दीले जनाएको छ ।

तरकारी खेतीका लागि बेनी नगरपालिका भित्रबाट ३३ र गाविसबाट २७ जना छनोट गरिएको छ । तीमध्ये वैदेशिक रोजगारबाट फर्किएका १४ जना रहेका छन्भने पुरुष ४६ र महिला १४ रहेको वागवानी विकास अधिकृत वासुदेव पौडेलले बताए । त्यसैगरी जातजाति अनुसार अन्य जातितर्फ २९, जनजाति २५ र दलित ९ प्रतिशतले तरकारी खेती गरेको उनले जानकारी दिए ।

तरकारी खेतीको सम्भावना बोकेको बेनी नगरपालिकासहित जिल्लाको २१ वटा गाविसमा कार्यक्रम लागू गरिएको अधिकृत पौडेलले बताएका छन् । कृषकहरुले प्लाष्टिक टनेलभित्र काँक्रो, फर्सी, बोडी, रामतोरिया, बन्दा, गोभी, काउली, लसुन, प्याज, धनियाँलगायत जातका तरकारीहरु लगाएका छन् ।

वर्षेनी विदेशिने युवाहरुलाई स्वदेशमै रोजगारको सिर्जना गरी आयआर्जन मार्फत उनीहरुको परिवारको जीवनस्तर सुधार गर्ने उद्देश्यले व्यावसायिक तरकारी खेतीको कार्यक्रम सञ्चालन गरिएको वरिष्ठ कृषि विकास अधिकृत वसन्तकुमार श्रेष्ठले बताए । उनका अनुसार तरकारी खेतीमा आबद्ध अधिकांश कृषकहरु १८ देखि ५० वर्षभित्रका रहेका छन् ।

म्याग्दी जिल्लामा वार्षिक सरदर ११ हजार ५१५ मेट्रिक टन तरकारी उत्पादन हुँदै आएको कृषि कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कुल १ हजार दुई हेक्टर क्षेत्रफलमा तरकारी खेती गरिएको छ भने त्यसको उत्पादकत्व ११.४९ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षभन्दा गतवर्षमा ११.६ प्रतिशतले उत्पादनमा थपघट भएको जनाइएको छ । म्याग्दीमा हिउँदको समयमा ४४०, वर्षातमा ३१० र बेमौसमी २५२ मेट्रिक टन तरकारी उत्पादन हुने गरेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :