कृषि कर्जाभन्दा गाडी कर्जा सजिलो

यो समाचार 300 पटक पढिएको

काठमाडौं, ३० भदौं / ‘गाडी खरिद गर्न बैंक तथा वित्तीय संस्थाले सजिलै ऋण दिन्छन् । तर,कृषि कर्जामा अनावश्यक झन्झट लगाउँछन् । गाडी खरिद गर्नेभन्दा कृषि कर्जा महँगो छ ।’ यो भनाई राष्ट्रबैंकका पूर्वगभर्नर युवराज खतिवडाको हो । एउटा सार्वजनिक कार्यक्रममा खतिवडाले गाडी खरिदमा सहज ऋण दिने तर कृषिमा नदिने भन्दै बैंक तथा वित्तीय संस्थामाथि आक्रोस पोखेका थिए ।


new-Nepal-Rastra-Bank_Panor_20130725084453

खतिवडाले भनेजस्तै अहिले पनि गाडी खरिदका लागि कर्जा लिन सजिलो छ । गाडीको कुल मूल्यको २० प्रतिशत रकम आफूसँग भएमा वित्तीय संस्थाले ८० प्रतिशत ऋण दिन्छन् । उदाहरणका लागि तपाईंसँग चार लाख रुपैयाँ नगद भएमा २० लाख रुपैयाँ पर्ने गाडी अहिले खरिद गर्न सक्नुहुन्छ । बाँकी १६ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाले सजिलै कर्जा दिन्छन् । हरेक वर्ष असोजदेखि काठमाडौंका सडकमा नयाँ सवारीको आगमन हुन्छ । हरेक वर्ष नेपाल अटोमोबाइल्स डिलर एसोसियन (नाडा)ले गर्ने नाडा अटो सोपछि गाडी खरिद गर्नेको संख्या पनि बढ्छ ।

बैंक तथा वित्तीय संस्थामा अटो लोन लिन चाहने ग्राहक पनि थपिन्छन् । बैंक तथा वित्तीय संस्थामा असोजदेखि कात्तिक महिना र चैतमा निजी सवारी साधान खरिद गर्नका लागि ऋण लिने बढी हुन्छन् । नाडाले सवारी मेला दसंै अगाडि गर्ने र बढी गाडीको बुकिङ पनि यही समयमा हुन्छ । गाडी खरिद गर्ने धेरैजसोले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका छन् । हरेक वर्ष गाडी चढ्ने ग्राहक बढ्दै गएसँगै सबै बैंक तथा वित्तीय संस्थाले गाडी खरिद गर्नेलाई लक्षित गरी विभिन्न योजना ल्याएका छन् । अटो मेलामा सहभागी बैंक तथा वित्तीय संस्थाले मेलामा गाडी खरिद गरी कर्जा लिने ग्राहकलाई केही प्रतिशत ब्याजदरमा समेत छुट दिने गरेका छन् । एक वर्ष अगाडि नाडा अटो सोमा मारुतीको सिफ्ट खरिद गरेका ललितपुरका ताराबहादुर खड्काले हिमालयन बैंकबाट कर्जा लिएका हुन् ।

‘साढे ८ प्रतिशत ब्याजदरमा चार वर्षमा तिर्ने गरी गाडी खरिदका लागि कर्जा लिएको हो’ ,उनले भने, ‘ गाडीको कुल मूल्यको ७० प्रतिशत फाइनान्सिङ बैंकले गरेको छ । बैंकको गरेको फाइनान्सिङले गाडी चढ्न सहज भएको छ ।’ नेपाल बैकर्स संघका अध्यक्ष उपेन्द्र पौडेल अटो क्षेत्रमा जाने कर्जा हरेक वर्ष बढ्दै गएको बताउँछन् । ‘कर्जा प्रवाह गर्न अटो क्षेत्र बैंक तथा वित्तीय संस्थाका लागि एउटा ठूलो क्षेत्र हो’ ,उनले भने, ‘ यसमा जाने कर्जा असुलमा पनि खासै समस्या छैन ।’

विगत चार वर्षदेखि नेपालको बैंकिङ प्रणालीमा तरलता (लगानी योग्य रकम)को अभाव भएको छैन । पर्याप्त तरलता भएका कारणले पनि गाडी खरिद गर्नेलाई अहिलेको अवस्थामा कम्तीमा पनि दुई वर्षसम्म ब्याजदर बढ्ने सम्भावना छैन । यसले बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर गाडी खरिद गर्नेलाई ब्याजदरको विषयमा कम्तीमा दुई वर्ष ढुक्क हुन सक्ने अवस्था सिर्जना गरेको छ । डेभलपमेन्ट बैकर्स संघका अध्यक्ष कृष्णराज लामिछाने विकास बैंकले गाडी कर्जामा वाणिज्य बैंकसँग प्रतिस्पर्धा गरिरहेको बताउँछन् । ‘ हामीले निजी र सार्वजनिक दुवै गाडी खरिदका लागि कर्जा दिएका छौ’ ,कैलाश विकास बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत रहेका लामिछानेले भने, ‘ निजी सवारी साधनको तुलनामा सार्वजनिक सवारी साधानमा गएको कर्जा उठाउन केही समस्या छ । सार्वजनिक सवारी साधन एउटाले कर्जा लिएर खरिद गर्ने अर्कोले चलाउने भएकाले पनि कर्जा उठाउन समस्या भएको हो ।’

लामिछाने निजी सवारी साधनको कर्जा माग दसैं र नयाँ वर्षको समयमा र सार्वजनिक सवारीमा कर्जाको माग मंसिरदेखि माघसम्म बढ्ने गरेको बताउँछन् । नेपाल राष्ट्रबैंकको तथ्यांकले पनि हरेक वर्ष बैंक तथा वित्तीय संस्थाले गाडी खरिदमा दिने कर्जा बढ्दै गएको देखिन्छ । राष्ट्रबैंकका अनुसार गत आर्थिक वर्ष २०७१÷७२ सम्म १४ अर्ब रुपैयाँ गाडी र गाडीका पाटपुर्जाका लागि गएको छ । यस्तै अटोमोबाइल्स डिलरमा बैंक तथा वित्तीय संस्थाले २६ अर्ब रुपैयाँ कर्जा दिएका छन् । सवारी साधनलाई धितोमा राखेर ८४ अर्ब रुपैयाँ कर्जा बैंक तथा वित्तीय संस्थाले असार मसान्तसम्म दिएको देखिन्छ । सवारी साधनलाई धितोमा राखेको दिएको कर्जा सवारी खरिदमा दिने हुँदा सवारी क्षेत्रमा ८४ अर्ब रुपैयाँं कर्जा प्रवाह गरेको देखिन्छ । सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहाल लगानीका क्षेत्र सीमित भएको अवस्थामा अटो क्षेत्रमा कर्जा प्रवाह गर्ने दृष्टिकोणले महत्वपूर्ण रहेको बताउँछन् । ‘ गाडी चड्नेहरू हरेक वर्ष बढेका छन् । गाडी बिक्रेताले पनि नयाँं मोडलका गाडी भित्र्याएका छन्’ ,उनले भने, ‘ बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाहको हिसाबले अटो क्षेत्र प्राइम फोकस हो ।’

बैंक तथा वित्तीय संस्थाबाट गाडी खरिद कर्जा लिन अन्य कर्जाभन्दा सजिलो छ । ‘ग्राहकले मासिक किस्ता तिर्ने आम्दानीको स्रोत देखाएमा कर्जा लिन सजिलो छ’ ,सानिमाका प्रमुख कार्यकारी अधिकृत दाहालले भने, ‘ हामीले हेर्ने भनेको ग्राहकले गर्ने मासिक आम्दानी हो। अन्य कर्जा प्रवाह गर्दा धेरै विषय हेनुपर्ने हुन्छ । ग्राहकको आम्दानी चित्त बुझेपनि कर्जा सजिलै पाउँछन् ।’ बैंक तथा वित्तीय संस्थाअनुसार न्यूनतम आम्दानी राखिएको हुन्छ । मासिक ५० हजारभन्दा बढी कमाउने व्यक्तिले बैंक तथा वित्तीय संस्थाबाट अटो लोन लिन सक्छ । कर्जाको ब्याजदर पनि बैंक पिच्छे फरक छ । बैंक तथा वित्तीय वित्तीय संस्थाले न्यूनतम ८ प्रतिशतदेखि गाडी खरिदका लागि कर्जा दिन्छन् ।

अटो मेलामा सहभागी बैंकले भने मेला अवधिभरका लागि विशेष छुट योजना ल्याएको जनाएको छन् । न्यूनतम ८ प्रतिशतमा सुरु हुने भए पनि ग्राहकअनुसार कर्जाको ब्याजदर फरक हुने गरेको छ । खासगरी ग्राहकले बैंक तथा वित्तीय संस्थासँग गर्न बाग्रेनिङले ब्याजदर तय गरेको हुन्छ । बाग्रेनिङ गर्ने तथा एउटा बैंकमा लिएको ऋण अर्कोमा सार्न सक्ने ग्राहकका लागि अटोलोनको ब्याजदर केही सस्तो पर्छ । ग्राहकले गाडी खरिद गर्दा बैंक तथा वित्तीय संस्थाका योजना र सुविधाको आधारणमा निर्णय गर्दा सहज हुने बैंक बताउँछन् । गाडी खरिद गर्न चाहने ग्राहकको सुविधाका लागि गाडी बिक्रेताले कर्जा सुविधा पनि उपलब्ध गराएका हुन्छन् । कुन बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर गाडी चढ्ने त्यो ग्राहकको रोजाइको विषय हो । इन्फोगाडीको कुल मूल्यको २० प्रतिशत रकम आफूसँग भएमा वित्तीय संस्थाले ८० प्रतिशत ऋण दिन्छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :