‘कोदो लानुस्, चामल ल्याइदिनुस्’

यो समाचार 285 पटक पढिएको

गोरखाबजार, २९ भदौ बारपाक–८ का बुद्धिबहादुर घले पिँढीमा फिजाएको कोदो पाथीमा भर्दै हुनुहुन्छ । एक पाथी, दुई पाथी गर्दै उहाँले पाँच मुरी कोदो गोदाममा भण्डारण गर्नुभयो । बीस पाथीको एक मुरी मानिन्छ ।

Riceकोदो पिसेर बनाइएको पीठोको रोटी र ढिँडो खाने गरिएको घलेको भनाइ छ । रक्सी बनाउने मुख्य कच्चापदार्थका रुपमा पनि कोदोको प्रयोग गरिन्छ । कोदोको परिकारले बिहान–बेलुकाको छाक टार्दै आएको बताउने घलेका अनुसार बारपाकमा खेती हुनेमध्ये प्रमुख बालीमा कोदो हो । “यस वर्ष आठ मुरी कोदो भित्र्याएँ,” घलेले भन्नुभयो – “भूकम्पले घर भत्केपछि तीन मुरी कोदो माटोमा पोखियो ।” धुलोमा पोखिएको कोदाको दाना चाल्नोले चाल्दासमेत छान्न सकिएन । धुलोमा मिसिएको कोदो घलेको जहानले एक साता लगाएर तीन पाथी निकाल्नुभयो । तर मानिसले खानयोग्य भएन, घरपालुवा जनावरलाई खुवाइयो ।

बारपाकमा खेत छैन । किसानले बारीमा कोदो, गहुँ, आलु, सिमीलगायत बाली लगाउँदै आएका छन् । नौ मुरी अन्नले एउटा सानो परिवारलाई वर्षभरि खान पुग्छ भन्ने गाउँघरतिर मान्यता छ । “भूकम्पले कोदो नष्ट नगरेको भए बेसाएर खान पर्दैनथ्यो,” घलेले भन्नुभयो – “चिसो ठाउँमा भातभन्दा कोदोको परिकार रुचाइन्छ ।” कोदोको परिकार खाँदा हैरान भएको बताउँदै घलेले भन्नुभयो – “कोदो लैजानूस्, चामल ल्याइदिनूस् ।” महाभूकम्पपछि विभिन्न सहयोगी सङ्घसंस्थाले चामल वितरण गरेका थिए । दुई बोरा चामल पाएको भन्दै घलेले मुख फेर्ने काम भएको बताउनुभयो । केही वर्षअघिसम्म बारपाकमा चाडबाडका बेला मात्रै चामलको भात खाने चलन थियो ।

सडक सञ्जाल पुगेपछि आर्थिक सम्पन्नता भएका मानिस भात खान्छन् । भातले भन्दा कोदोले शक्ति दिने घलेको विश्वास छ । “ढिँडो र सिस्नुको तरकारी खानुको बेग्लै आनन्द छ” उहाँले भन्नुभयो – “बजारबाट ल्याएको तरकारी बेस्वादको हुन्छ ।” पछिल्लो समय बारपाकीले बजारबाट तरकारी खरिद गरी लैजाने चलन बढेकामा उहाँले विरोध गर्नुभयो । उहाँले यस वर्ष ४० भारी ९थुन्से० मकै उत्पादन भएको बताउनुभयो । वडा नं ५ को सिप्रङ र ४ को स्याप्रङ क्षेत्रमा खेतीयोग्य जमिन प्रशस्तै छ । वडा नं ७ का रामबहादुर घलेले पनि यस वर्ष कोदो, मकैलगायत बाली भित्र्याउनुभएको थियो । भूकम्पले घर भत्काएपछि अन्नपात खेर गएको घलेको गुनासो छ ।

“दुःख गरेर भित्र्याएको अन्न भूकम्पले घरभित्रै पु¥यो,” उहाँले भन्नुभयो – “आफूलाई बढी भएर कोदो बेचिन्थ्यो । यसपाला अनिकाल लाग्ने भयो ।” घलेको मुख्य पेसा कृषि हो । भूकम्पपछि उहाँले निगालोको चोयाले डोको, थुन्से, नाम्लोलगायत सामग्री बुन्ने काम गर्नुभएको छ । “थुन्सेलाई तीन सय रुपैयाँमा बेच्छु, डोकोलाई एक सय ८० मा ” – उहाँले भन्नुभयो । घलेको परिवार टहरोमा बस्दै आएका छन् । घर भत्किएपछि नयाँ कपडा, किताबकापी खरिद गर्न मुस्किल परेको घलेको दुखेसो छ । “सबैले हुनेखानेलाई हेर्दा रहेछन्,” उहाँले भन्नुभयो – “गरिबलाई घर बनाउने पैसो सरकारले छिटो देओस् ।” सरकारले घर पुनःनिर्माणमा सहयोग गरिदिए ढुक्क भएर खेतीपाती पर्ने घलेको सोच छ । भूकम्पप्रतिरोधी मौलिक प्रकारको घरमा बस्ने घले परिवारको इच्छा छ ।

स्थानीयवासी विर्षराज घलेले अधिकांश बारपाकी किसानको घर भत्किएकाले कोदो, मकै, सिमीलगायत बालीको बीउ अभाव भएको बताउनुभयो । “घरभित्र भण्डारण गरेको अन्न खेर गयो,” उहाँले भन्नुभयो – “बीउ जोगाउन सकिएन ।” स्थानीय जातको बीउ लोप हुने अवस्था देखिएको उहाँको भनाइ छ । विकासे जातका बीउले बारपाकको हावापानीमा राम्रो उत्पादन नदिने किसानको गुनासो छ ।

जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत तीर्थकुमार श्रेष्ठले नयाँ जातका बीउ भूकम्पपीडितलाई वितरण गरिएको बताउनुभयो । विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोगमा बीउ वितरण गरिएको उहाँको भनाइ छ । स्थानीय जातका बीउ पाउन मुस्किल रहेको भएपनि सकेसम्म स्थानीय जातको बीउको खोजी गरिएको श्रेष्ठले बताउनुभयो । भूकम्पले गोरखाको दुई नगरपालिकासहित ६० गाविसका ५८ हजार घरधुरी बस्नै नहुने गरी भत्किएको थियो । घरभित्र भण्डारण गरिएका अन्न माटोमा मिलेपछि बीउको अभाव देखिएको हो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :