मनाङमा रोपेको ५ महिनामा स्याउ उत्पादन

यो समाचार 143 पटक पढिएको

सार्क राष्ट्रमै पहिलोपटक ‘हाई डेन्सिटी स्याउको ठूलो फर्म

चामे, (मनाङ) २८ भदौ / रोपेको ५ महिनामा स्याउ फल्यो भन्दा टंकी मनाङकी ५६ वर्षिया सम्देलम गुरुङ अचम्ममा परिन् । उनलाई यो कुरा पटक्कै विश्वास लागेन । उनी आफ्नै आँखाले स्याउ फलेको दृश्य हेर्न माथिल्लो मनाङदेखि पिसाङ–१ भ्राताङ आइपुगिन् ।

भ्राताङमा एग्रो मनाङले गत चैत अन्तिम सातादेखि लगाएको बिरुवाले साउन महिनामै फल दिन थालेको र भदौको पहिलो सातादेखि खान मिल्ने भएको छ । ‘यस्तो पनि हुन्छ रु’, ५६ बिर्षिया गुरुङले भनिन्, ‘रोपेको ५ महिनामा खान मिल्ने गरी स्याउ फल्दा म निकै अचम्ममा परेको छु ।’ ‘मनाङ पहिलेदेखि नै स्याउ खेतीमा प्रख्याती कमाएको जिल्ला हो ।’ गुरुङले भनिन्, ‘यस्तो बगरले घेरेको ठाउँमा पनि खेती हुनु मनाङबासीको लागि राम्रो कुरा हो । यसरी मनाङमा हुने कृषिबाली उत्पादन गर्न सक्ने हो भने यो ठाउँको विकास हुने थियो ।’

नेपालका प्रायजसो जिल्लाहरुले आफुलाई केही न केही वस्तुहरुमा आतमनिर्भर बनाइरहेका बेला हिमालपारीको जिल्ला मनाङले पनि आफुलाई स्याउ खेतीमा आत्मनिर्भर बनाउने तयारी थालेको छ । सोही अनुरुप मनाङस्थित एग्रो मनाङ प्रालिले ७३५ रोपनी क्षेत्रफलमा ५० हजार स्याउका विरुवाहरु रोपेर उत्पादन समेत सुरु गरेको छ । एग्रो मनाङका निर्देशक पाल्तेन छोपाङ गुरुङले १६ करोड लगानीमा स्याउ खेतीको विस्तार गरेका हुन् । ‘मनाङ पर्यटनमा आत्मनिर्भर भएको र पर्यटनसँगै कृषिलाई पनि आत्मनिर्भर बनाउने मेरो लक्ष्य छ ।’ निर्देशक गुरुङ भन्छन्, ‘हामीले पहिलो वर्ष ५० हजार बिरुवा रोपेका थियौं । यसैवर्ष १० हजार स्याउका बिरुवा रोप्ने तयारीमा हामी छौं । हरेक वर्ष हामी स्याउका बिरुवाहरु थप्दै जानेछौं ।’

मनाङलाई स्याउको मोडेल जिल्लाको रुपमा विकास गर्न लागेका गुरुङले यहाँ उत्पादन भएका स्याउलाई एकैदिनमा काठमाडौं, पोखरा, चितवन लगायतका प्रमुख शहरसँगै अन्य शहरहरुमा पठाउने निर्देशक गुरुङको भनाई छ । विदेशबाट वार्षिक रुपमा खर्बौं रुपैयाँका विभिन्न जातका स्याउहरु आयत भइरहेको बेला एग्रो मनाङले विहान टिपेको स्याउ एकैदिन नेपालका विभिन्न ठाउँहरुमा पुर्याउने लक्ष्य लिएको उनले बताए । ‘स्याउ रोपेको पहिलो वर्ष भएको हुनाले हामीले यसवर्ष १५ हजार किलो स्याउ मात्रै उत्पादन गर्ने लक्ष्य लिएका छौं ।’ निर्देशक गुरुङले भने, ‘अर्को वर्ष डेढ लाख किलो र त्यसपछिका वर्षहरुमा १५ लाख किलो स्याउ उत्पादन गर्ने लक्ष्य छ ।’

एग्रो मनाङले स्याउको प्रति बिरुवा १ हजार ५ सयमा इटाली र सर्भियाबाट खरिद गरीे ल्याएको संस्थाका म्यानेजर पंच गुरुङले बताए । ‘यो जातको स्याउको बिरुवा सानो हुने हुँदा यसलाई रोप्दा नजिक नजिक रोप्नुपर्छ ।’ उनले भने, ‘स्याउको बेर्नालाई १ रोपनी क्षेत्रफलमा १६५ वटा विरुवा रोप्नुपर्दछ । युरोपतिर फुजी जातको स्याउलाई प्रतिरोपनी १८० वटा बिरुवा लगाउने गर्दछन् । यसका साथै बगैचामा गाला, फुजी र गोल्डेन प्रजातीका स्याउका बिरुवाहरु रोपिएको छ ।’

एग्रो मनाङले स्याउ लगाएको ७३५ रोपनीको जग्गा माथिल्लो मनाङका ७ गाउँको साझा र संगोलमा लालपुर्जा भएको जग्गा हो । यो जग्गा गाउँलेहरुले मनाङ मस्र्याङ्दी क्लवको आयश्रोत बढाउनको लागि उपलब्ध गराएको हो । सो जग्गामा विगत ४० वर्षदेखि पराम्परागत रुपमा स्याउ खेती गरिदै आएको र एग्रो मनाङले टेण्डर प्रक्रियाबाट २७ वर्षका लागि १२ करोड ९१ लाख ११ हजार भाडा तिर्ने गरी लिजमा लिएको बताइएको छ ।

स्याउ खेतीका लागि नेपालका उच्च हिमाली क्षेत्रका १० वटा जिल्लाहरुमा व्यवसायिक कृषिको विकासका लागि काम गर्दै आएको एडीवी अन्तर्गतको हिमाली परियोजनाले २ करोड २४ लाख अनुदान, जिल्ला कृषि विकास कार्यालय मनाङको प्राविधिक सहयोग रहेको छ । ‘एग्रो मनाङले सार्क राष्ट्रकै नमुना स्याउ खेती गर्ने अभियानका साथ काम अघि बढाएको छ ।’ निर्देशक गुरुङले भने, “हामीले स्याउको ‘हाइडेन्सिटी मेथड’ मा प्लान्टिङ गरेका छौं ।”

फुजी जातको विदेशी स्याउको बिउ निकै राम्रो भएकोले यसबाट किसानहरुले सोचेभन्दा बढि प्रतिफल लिन सक्ने जिल्ला कृषि विकास कार्यालय मनाङका वरिष्ठ कृषि विकास अधिकृत डा। हरी बहादुर केसीको भनाई छ । यस प्रजातीको स्याउ छोटो समयमै फल दिने हुनाले यस्ता प्रजातीको स्याउले नेपालको अर्थतन्त्रमा ठूलो टेवा पुर्याउने उनको भनाई छ । उनि भन्छन्, “मनाङको एकमात्र नगदे बालीको रुपमा लिइएको स्याउ यसअघि ढुवानीका कारण स्थानीयवासीले खासै आम्दानी लिन सकेका थिएनन् तर अघिल्लो वर्षदेखि किसानहरुले बाहिरी जिल्लामा पनि स्याउ निर्यात गर्न थालेका छन् ।” स्याउ बगैचामा कुल ५८ जना कामदारले प्रत्यक्ष रुपमा रोजगारी पाएको र फर्ममा १० हजार स्याउ रोप्नका लागि अरु कामदार पनि थप्ने बताइएको छ । एग्रो मनाङलाई प्रभु बैंकले वित्तिय सहयोग गर्दै आएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :