बस्नेत गर्दैछन्, सुस्तरी कृषिमा कायापलट

यो समाचार 270 पटक पढिएको

– डम्बरकृष्ण श्रेष्ठ

सुनसरीमा भइरहेको यान्त्रीकृत खेती र पुसा नामक बासमती धानको परीक्षण दोस्रो चरणमा छ। यान्त्रीकृत खेतीले किसानलाई सहुलियत ऋणसँगै मेशिनबाट धान रोप्ने, गोड्ने र काट्ने प्रविधि दिन्छ भने पुसा बासमतीले बढी उत्पादन। नेपाल कृषि कम्पनीले चलाएको कम खर्चमा बढी आम्दानी दिलाउने प्रविधिबाट मोरङ र सुनसरीका किसानले फाइदा लिन थालिसकेका छन्।

Paddy Brt

मोरङको गोकुवामा २०६४ सालबाट शुरू भएको कृषिको आधुनिकीकरण अभियान अहिले सुनसरीमा परीक्षणमा छ। कम्पनी स्थापना गरेरै यो अभियानमा लागेका बुद्ध एअरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत पहिलो चरणको परीक्षण सफल भएको र त्यसबाट आफूहरू उत्साहित बनेको बताउँछन्। ६५० बिघा जमीनको यान्त्रीकृत खेती व्यवस्थापन तथा अनुगमनसँगै ५० बिघामा परीक्षण खेती र पुसा बासमतीको दोस्रो परीक्षण गरिरहेको बताउँदै बस्नेत भन्छन्, “यो प्रविधि र पुसा धानको परीक्षण सफल भए तराईका फाँट र पहाडका बेंसीमा लागू गर्न सकिनेछ।” यो परीक्षण सफल भए सात वर्ष अघिबाट गर्दै आएको कृषि आन्दोलनको एउटा चरण पूरा हुने बस्नेत बताउँछन्।

कम्पनीले एक किलो चामललाई रु।३२० पर्ने पुसा बासमती धान भारतबाट ल्याएर आफैं बीउ उत्पादन गरेको हो। अहिले सुनसरीको तनमुनामा यो धान लगाइएको छ। सम्झ्ना कृषि सहकारी र सामूहिक कृषि सहकारी सुनसरी अन्तर्गतको ६५० बिघा खेतको यान्त्रिक व्यवस्थापनमा सक्रिय कम्पनीले ५० बिघामा आफ्नै निगरानीमा यान्त्रीकृत खेती र १० बिघामा पुसा बासमती लगाएको छ। छिटाहा–४ का गोपाल साह ९३७० ले आफ्नो १५ बिघामध्ये पाँच बिघामा यो साल मेशिनबाट रोपाइँ गरे, जसलाई सघन धानखेती प्रणाली (एसआरआई) भनिन्छ। कृषि मजदूरको अभावमा कम समयमा सजिलै खेती गर्न पाएकोमा दंग उनी परम्परागत तरीकाबाट १०० मन धान फल्ने जमीनमा यो प्रविधिले १४० मनसम्म उब्जनी दिने आशामा छन्। कम्पनीका प्रबन्धक डा। विवेकानन्द झा परीक्षणमा एक बिघामा मंसुली १०० मन, राधाबारा मोटा १५० मन र पुसा बासमती १०० मन फले सफल हुने बताउँछन्।

परम्परागत प्रणालीमा मंसुली एक बिघामा ६० मन र राधाबारा ८० मनसम्म फल्ने गरेको छ। परम्परागतभन्दा यान्त्रीकृत खेतीबाट ६५ प्रतिशतदेखि ९० प्रतिशतसम्म बढी उत्पादन हुने अनुमान गरिएको छ। ३० जना कामदारलाई २० दिन र रु.६० हजार खर्च लाग्ने एक बिघाको रोपाइँ यो प्रविधिमा पाँच जनाले तीन दिनमै रु. ४६ हजार खर्चमा सक्छन्। कृषि यान्त्रीकरणसँगै सहकारीमार्फत प्रविधि किन्न ऋण प्रवाह भएपछि ग्रीन हाउसमा धानको ब्याड राख्ने र मेशिनबाटै रोपाइँ, गोडाइ र कटाइ हुन थालेको छ। प्रविधि प्रसारबाट उत्पादन वृद्धिमा सघाउन तम्सिएका बस्नेत बुद्ध एअरको ‘कर्पोरेट सोसल रेस्पोन्सिविलिटी’ अन्तर्गतको लगानी परीक्षणले शुभ लक्षण देखाएको बताउँछन्।

Agriculture_DK.indd

बुद्ध एअरको यो अभियान गाउँमा युवा नभएर कामदार समस्या चर्किन थालेपछि शुरू भएको हो। महँगो ज्याला खर्चेर गरेको उब्जनीले त्यस अनुसारको भाउ नपाउँदा जमीन बाँझै हुने अवस्थामा नेपाल कृषि कम्पनीको यान्त्रीकरण अभियानबाट किसान लाभान्वित भएका छन्। कम्पनीले दक्ष महिला कृषि कामदार उत्पादनमा समेत जोड दिएको छ। त्यसका लागि कम्पनीले एक गाविसका पाँच महिलाहरूलाई धानको बीउ उत्पादनदेखि रोपाइँ, गोडाइ र कटाइसम्मको तालीम दिएको छ। घरमा लगभग निष्त्र्किय बसिरहेकी तनमुनाकी रेखा चुनार चौधरी ९२५० ले धान रोप्ने राइस ट्रान्सप्लान्टर र गोड्ने पावर प्याडी विडर चलाउन जानेपछि जिन्दगी नै अर्को भएको बताइन्। १८ असारमा राइस ट्रान्सप्लान्टर चलाइरहेकी रेखाले भनिन्, “साइकल चलाउन सिक्दै थिएँ, त्योभन्दा ठूलो मेशिन चलाउने भएँ।”

Agriculture_DK.inddमेशिनले एक ठाउँमा एउटै मात्र बिरुवा रोप्ने हुनाले यो प्रविधिमा धानको बीउ कम लाग्छ। यो प्रविधिबाट लगाइएको धानमा पानी कम भए पनि पुग्छ। एउटा मेशिनले एक दिनमा तीन बिघामा धान रोप्न सक्छ। गोड्ने मेशिनले झरलाई काटेर पुरिदिन्छ। कृषि कम्पनीले राइस ट्रान्सप्लान्टर र पावर प्याडी विडर भित्र्याएपछि सुनसरीका पाँच गाविसका किसान निकै आशावादी बनेका छन्। एसआरआई प्रविधिबाट लगाएको चैते धानले सोचे जस्तो उब्जनी दिए अर्को वर्ष ६ बिघामा यही विधि अपनाउने अमाहीबेलाहा–७ का निर्मल कटुवालले बताए। त्यसपछि ६ बिघा उखु खेती मासेर धान नै लगाउने उनी बताउँछन्। “सिंचाइ सुविधा भए अब उखु कसैले लगाउँदैनन्”, कटुवाल भन्छन्।

गहुँ–मकै सफल
कुसाहा–६ का कृष्णकुमार उरावले अघिल्लो वर्ष परम्परागत गहुँ खेती गर्दा प्रतिकट्ठा ८० किलो फलाएकोमा गत सिजनमा उन्नत तरीका अपनाउँदा कट्ठामा १३० किलो फल्यो। उरावले ठेक्कामा लिएको खेतमा सामूहिक कृषि सहकारी औरावनीले जोत्ने, मल छर्ने, बीउ लगाउने, काट्ने र तयारी गहुँ दिनेसम्मको काम गरिदियो। त्यसमा लागेको रु.९० हजार पनि सहकारीले नै बेहोरिदियो। यसो गर्दा उरावलाई एकै सिजनमा रु.१ लाखभन्दा बढी नाफा भयो। गत वर्ष किसानको १५० बिघामा गहुँ लगाएको सामूहिक सहकारीले यस पटक २०४ बिघामा लगाएको थियो। गत वर्ष यस्तो चालू पूँजी कार्यक्रम सफल भएपछि यस पटकको गहुँ र मकैको सिजनबाट अन्य सहकारीले पनि अनुसरण गरे। ऊर्जा कृषि सहकारी, एकम्बाले ७० जना किसानको ९८ बिघामा गहुँ लगाएको थियो।

पहिले धान काटेपछि यहाँको खेत गाईबस्तु चराउन बाँझै राखिने गरेकोमा गाउँ छिरेको प्रविधिले स्थिति उल्ट्याइदिएको छ। सुनसरी–मोरङका गाउँका कृषि सहकारी संस्थाहरूले नेपाल कृषि कम्पनीको सहयोगमा खेती गर्ने नयाँ प्रविधि भित्र्याएका छन्। रकम अभावमा रहने किसानका लागि सहकारीले चालू पूँजी कार्यक्रम संचालन गरेको छ। “कृषि औजार सहित खेतीमा लाग्ने रकम सहकारीले बेहोर्न थालेपछि खेत बाँझो रहन छाडेको सामूहिक सहकारीका अध्यक्ष राजुसिंह चौधरीले बताए। सम्झ्ना कृषि सहकारी, तनमुनाले १५६ बिघामा गहुँ र ८ बिघामा मकै लगायो। मोरङ टंकीसिनवारीस्थित गोकुवा कृषि सहकारी र टंकीसिनवारी कृषि उपजले पनि दुई–दुई सय बिघामा गहुँ लगाए। सदस्य किसानका खेतमा सहकारीले लगाएको गहुँले उत्साहजनक उत्पादन दिएकाले यसतर्फ किसानको आकर्षण बढ्दै गएको छ।

चालू पूँजीबाट बिरजु धामी सहकारी, चिमडीले १५० बिघामा गहुँ र १११ बिघामा मकै लगायो। चालू पूँजी कार्यक्रम संचालन गर्ने ऊर्जा, बिरजु धामी, सम्झ्ना कृषि सहकारी, तनमुना र सामूहिक कृषि सहकारी, औरावनीले अन्न ब्यांक पनि संचालन गर्न थालेका छन्। अन्न ब्यांकले किसानको अनाज भण्डारण गरेर त्यसैलाई धितो मानी ७० प्रतिशत ऋण दिन्छ। यस अघिसम्म गहुँ खेती नगर्ने एकम्बाका किसानले यसै कार्यक्रमका कारण गहुँ लगाए भने मकै खेती नगर्ने चिमडीका धेरै किसानले मकै फलाए। बालीमा लगानी गर्न सहकारीहरूका लागि बुद्ध एअरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेत ब्यांकमा रु.५ करोडको व्यक्तिगत जमानी बसिदिएका छन्।

चालू पूँजी कार्यक्रम संचालनमा सहजीकरण गर्ने कृषि कम्पनीले प्रति बिघा रु. ५०० सेवा शुल्क लिन्छ। त्यसबाट खेतीका लागि प्राविधिक सहयोगको व्यवस्था भएको कम्पनीका प्रबन्धक डा. विवेकानन्द झा बताउँछन्। सहकारीहरूलाई बजारमा भन्दा रु.३ लाखदेखि रु.५ लाखसम्म कम मूल्यमा ट्याक्टर, हार्भेस्टर उपलब्ध गराउँदै आएको कम्पनीले न्यून शुल्क लिएर अन्न ब्यांकको अन्न आफ्नो गोदाममा भण्डारण पनि गरिदिन्छ। २०० किसानको ४०३ बिघा खेत समेटिएको सम्झ्ना कृषि सहकारीका अध्यक्ष नागेश्वर माझी सबै खेती सहकारी मार्फत हुँदा सबैलाई सजिलो भएको बताउँछन्। यसरी गाउँलेहरूको जीवनस्तरमा कायापलट भइरहेको उनको भनाइ छ। “हामीसँग खेती गर्ने पूँजी र कामदार मजदूर थिएनन्”, माझी भन्छन्, “कम्पनीले यान्त्रीकरणसँगै ऋण समेत दिंदा सजिलो भयो।”

दुई वर्षमा रु. ५० लाखका दुई ट्याक्टर, एक हार्भेस्टर, दुई रोटाभेटर, एक कल्टी, लेभलर र ट्रली जोडेको सम्झ्ना सहकारीले यसबीचमा करीब रु.३६ लाख मुनाफा गरिसकेको छ। सामूहिक कृषि सहकारी, तनमुनाका यान्त्रीकरण संयोजक शंकरलाल थारू ९४०० सहकारीले तीन ट्याक्टर, दुई हार्भेस्टर, तीन रोटाभेटर, दुई कल्टी, लेभलर र ट्रली सहित रु.६७ लाखको कृषि यन्त्र र रु.४७ लाखको सम्पत्ति आफ्नै बनाइसकेको बताउँछन। उनी भन्छन्, “यन्त्रमा आत्मनिर्भर बनिसक्यौं, अब उत्पादनमा नयाँ रेकर्ड बनाउने तयारीमा छौं।”

 

चालू पूँजी कार्यक्रम
मोरङका टंकीसिनवारी र हात्तीमुडा गाविसका किसान खेत जोत्ने, रोप्ने, पाकेपछि धान काट्ने, भण्डारण गर्ने र मूल्य बढेपछि बिक्री गर्ने जिम्मा कृषि उपज बजार व्यवस्थापन सहकारी टंकीसिनवारीले लिएपछि ढुक्क छन्। सहकारीले नेपाल कृषि कम्पनीको सहकार्यमा संचालन गरेको चालू पूँजी कार्यक्रमबाट यो सम्भव भएको हो। सहकारीले किसानलाई समेटेर सामूहिक खेती गर्न थालेको छैटौं वर्षमा चालू पूँजी कार्यक्रमबाट ऋण दिएको यो चौथो बाली हो। किसानको २०० बिघा खेत समेटेर धानबाट शुरू भएको चालू पूँजी कार्यक्रम गहुँ र मकैमा पनि आइपुगेको छ।

इटहरीमा ट्रान्सप्लान्टरबाट धान रोपिंदै । तस्वीर: डम्बरकृष्ण श्रेष्ठ

सहकारीका व्यवस्थापक बलराम केसी किसानलाई बाली लगाउन ब्यांकबाट ७० र सहकारीबाट ३० प्रतिशत ऋण उपलब्ध गराइएको छ। भण्डारण गरिएको अन्न बजारमा भाउ चुलिएको वेला बिक्री गरेर ऋण र ब्याज तिरेर बाँकी रकम किसानलाई दिइन्छ। किसानको खेतमा उन्नत खेती गरेर बढी उत्पादन बढाई बढी मूल्यमा बिक्री गरेर नाफा दिलाएबापत सहकारीले १२ प्रतिशत सेवा शुल्क लिन्छ। किसानले आवश्यकता अनुसार कुनै पनि वेला संचित अन्नको रकम लिन सक्छन्। खेतीमा उन्नत बीउ, मल र मेशिन प्रयोग तथा समयमा सिंचाइ, गोडमेलले उत्पादन बढेको छ। यो तरीकाको खेतीमा प्रत्यक्ष खर्च ३० प्रतिशत घटेको किसान बताउँछन्। जिल्ला कृषि विकास कार्यालय मोरङका प्रमुख राजेन्द्र उपे्रतीले किसानलाई एकीकृत गराई गरिएको खेतीबाट उत्पादन र लाभ बढेको बताए। “सामूहिक खेती, गुणस्तर नियन्त्रण र बीउ उत्पादनमा सहकारीहरूले उदाहरणीय काम गरेका छन्”, उप्रेती भन्छन्।

प्याड्डी बिडरले धान गोड्दै । तस्वीर: कमल रिमालपरीक्षणमा पुसा बासमती
नेपाल कृषि कम्पनीले यस पटक महँगो धान पुसा बासमतीको परीक्षण रोपाइँ गरेको छ। कम्पनीले भारतबाट प्रतिकिलो भारु १०९ मा ल्याएको (चामल प्रतिकिलो नेरु. ३२० पर्ने) यो धानको बीउ उत्पादन गरेर कम मूल्यमा किसानलाई दिने उद्देश्य राखेको छ। मकैको ढोडबाट बनाइएको कम्पोष्ट मल राख्दा पुसा बासमती बढी बास्नादार हुने अध्ययनले देखाएको छ। “एक बिघाको मकै खेतीबाट ढोड र खोयाको १० टन कम्पोष्ट मल बन्छ”, कम्पनीका प्रबन्धक डा. विवेकानन्द झा भन्छन्, “त्यसबाट पुसा बासमतीको उत्पादन बढ्छ।”

उनका अनुसार, पुसा बासमती संसारको सबभन्दा लामो धान र चामलमा पर्छ। यो पटक कम्पनीले पाँच बिघा र किसानले त्यत्ति नै क्षेत्रफलमा गरी बीउका लागि १० बिघामा यो बासमती लगाउँदैछन्। उत्पादन चित्तबुझ्दो भएन भने अर्को साल माटो परीक्षण गरेर लगाउने कम्पनीको सोच छ। भारतले निर्यात गर्ने चामलमा पुसा बासमतीको हिस्सा ७५ प्रतिशत छ। भारतीय कृषि अनुसन्धान परिषद्ले पुसा बासमतीको दुई प्रजाति ११२१ र १५०९ सिफारिश गरेको झा बताउँछन्। नेपालमा भने होचो बोट, बढी उत्पादन र छिटो पाक्ने १५०९ जात ल्याइएको छ।

ग्रीन हाउसमा धानको ब्याड
नेपाल कृषि कम्पनीले एसआरआई विधिबाट रोपिने धानका लागि ग्रीन हाउसमा बेर्ना उमार्ने नौलो तरीका अपनाएको छ। सुनसरीको तनमुना–५ मा बनाइएको बाँस र प्लास्टिकको ग्रीन हाउसमा उमारेर हुर्काएको धानको बीउ सुनसरी र मोरङमा रोप्दैछ। ‘अटोमेटिक सोइङ मेशिन’ को मद्दतले पाँच तहको टे्रमा बीउ धान छरिन्छ। त्यसमाथि मेशिनले माटो र कम्पोष्ट मल राख्छ। मेशिनले आवश्यक पानी हालेपछि टे्रललाई एक माथि अर्को गर्दै खप्टाएर राखिन्छ। दुई दिनमा बीउ टुसाएपछि ट्रेलाई ग्रीन हाउसमा राखिन्छ।

एक कट्ठाको ग्रीन हाउसमा एक पटकमा २० बिघालाई पुग्ने धानको बिरुवा तयार हुन्छ। ग्रीन हाउसका बेर्ना १० दिनमा १४ देखि १६ सेन्टीमिटरसम्मको हुन्छ। यो प्रविधिबाट मेशिनले रोप्ने धानलाई पर्याप्त पानी पुग्ने ठाउँ भए एक चास जोते पुग्छ। ग्र्रीन हाउसबाट धानको बीउ उत्पादन हुन थालेपछि सुनसरी र मोरङका किसानले फाइदा लिन थालिसकेका छन्। सामूहिक खेती मात्रै नभई व्यक्तिगत रुपमै खेती गर्न चाहने किसानले समेत बीउ लिएर यो प्रविधिबाट धान रोप्न थालेको कम्पनीका प्रबन्धक झा बताउँछन्।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :