बुद्धचित्तले सिंगो जिल्लामा ल्याएको समृद्धि

यो समाचार 300 पटक पढिएको

काभ्रे, २३ भदौ / बौद्ध गुरु पद्मसम्भव (गुरु रेमपोछे) ले काभ्रे तिमालको पोखरी नारायणस्थान–९ तोङसाम कुन्ड, याङमेल घाङमा तपस्या सकेर आफ्नो ठाउँ फर्कने बेला स्थानीयलाई दिएको उपहार अहिले बरदान सावित भएको छ । पद्मसम्भवले आठौं शताब्दीमा आशीर्वादस्वरूप रोप्न दिएको एउटा वनस्पती (बुद्धचित्त) को माला बेचेर अहिले तिमालबासी लखपति बनेका छन् ।

Buddhachitta बुद्धचित्तकृषकहरूले एउटै बोटबाट २ देखि २५–३० लाख रुपैयाँसम्म आम्दानी गरिरहेका छन् । लामो समयसम्म कुहिएर खेर गइरहेको बुद्धचित्त मालाको व्यावसायिक कारोबार हुन थालेको भने ३–४ वर्षमात्रै भएको छ । बुद्धचित्तका लागि तिमालको हावापानी विश्वमै अब्बल मानिन्छ । तिमालका बोल्देफेदिचे, सस्र्युखर्क, कानपुर, मेच्छे, ठूलोपर्सेल, पोखरीनारायणस्थान, कुरुवास चापाखोरी र सरमथलीमा यसको व्यावसायिक खेती नै सुरु भएको छ ।

बुद्धचित्तको माला बुद्धका अनुयायी तथा बौद्ध धर्मावलम्बीले अध्यात्मिक चिन्तनमा उपयोग गर्छन् । उनीहरूले बुद्धचित्तका १०८ दानाबाट तयार पारिएको माला लिएर जप्छन् । बुद्धचित्तलाई तामाङ समुदाय र विशेषगरी तिब्बती तथा चिनियाँहरूले सामाजिक, धार्मिक एवं सांस्कृतिक रूपमा प्रयोग गर्ने गरेका छन् । अहिले बजारमा १०८ वटा साना दानाले बनेको माला सुनभन्दा तेब्बर महँगो छ । वर्षको दुईपटक बुद्धचित्तका दाना टिप्न सकिन्छ ।

बजार
पहिले–पहिले बुद्धचित्तको माला नेपालका लामा गुरु, तामाङ समुदाय र चिनियाँहरूले प्रयोग गर्ने गरेका थिए । तर, अहिले यसको बजारीकरण निकै फराकिलो र व्यापक बन्दै गएको छ । चीन, थाइल्यान्ड, हङकङ, सिंगापुर, कोरिया, जापान, अमेरिका, भारत, भुटान, मलेसिया, बर्मालगायत मुलुकमा माग उच्च रहेको व्यापारी बताउँछन् । स्थानीय स्तरमा भकुण्डे, पाँचखाल, धुलीखेल, बनेपाजस्ता मुख्य बजार क्षेत्रमा समेत बिक्री पसल खुलेकाछन् । माला टिप्ने समय भएपछि चोरी हुने डरले स्थानीयहरू बोट कुरेर रातभर जाग्राम बस्दै आएका छन् । व्यापारीहरूले कृषकसँग टिप्नुभन्दा ३–४ महिनाअघि नै बोटको बैना गर्छन् । दाना टिप्ने बेला कृषकहरूले खबर गरेपछि व्यापारीहरू हेलिकप्टर चार्टर गरेरै गाउँ पुग्छन् । सामान्य अवस्थामा स्थल मार्गबाट ल्याउँदा बाटोमै लुटिने डरले हेलिकप्टर चार्टर गर्न थालिएको हो । कतिपय व्यापारीले प्रहरी गाडीमा राखेर पनि लैजान्छन् ।

अहिले बजारमा बिक्री भइरहेको दानाको आकारअनुसार ३ देखि ७ मुखेसम्मको मूल्य प्रतिदाना ४ सयदेखि ४ लाख रुपैयाँसम्म पर्ने व्यापारीहरू बताउँछन् । २ मुखे मालाको भने आकारअनुसार मूल्य निर्धारण हुन्छ । ७ मिलिमिटरको १०८ गेडा (एक माला) लाई ४ लाख रुपैयाँसम्म पर्छ । दानाको आकार बढ्दै जाँदा मूल्य घट्दै जान्छ । सबैभन्दा ठूलो आकारको दाना पाथीमा बिक्री हुन्छ । बजारमा १ पाथीको मूल्य २५ हजार रुपैयाँसम्म पर्छ । दाना जति सानो भयो, मूल्य उति धेरै हुन्छ ।

सानो माला बनाउँदा खोप्नेबाहेक अन्य कुनै औजार लगाउनु पर्दैन । अन्य औजार प्रयोग नभएपछि मालाको बीच भागमा महत्वपूर्ण तत्व हुने र त्यो बुद्धचित्त माला प्रयोग गर्नेले बुद्धत्व प्राप्त गर्छन् भन्ने विश्वासका आधारमा साना माला महँगो भएका हुन् । विद्यालयमा पढ्दै गरेका विद्यार्थीदेखि राजनीतिक दलका नेतासमेत यसको व्यापारमा लागेका छन् ।

बिरुवा बेचेरै ५० लाख
तिमालमा बुद्धचित्त मालाबाट लाखौं कमाइ हुन थालेपछि अहिले यसको व्यवसायमा लाग्नेहरू मनग्य बढेका छन् । धुलीखेल नगरपालिका–६ का प्रताप लामाले यही वर्षको अघिल्लो सिजनमा मात्रै बुद्धचित्तको बिरुवा बेचेर ५० लाख रुपैयाँ कमाइ गरे । “पहिलो सिजनमा १६ हजारभन्दा बढी बिरुवा बेचें,” उनी भन्दै थिए, “कृषकको माग धान्नै मुस्किल छ ।” उनले जग्गा भाडामा लिएर सदरमुकाम धुलीखेलमा बुद्धचित्तको नर्सरी थालेको २ वर्ष भयो । पछिल्लो सिजनका लागि १० हजार वटा बेर्ना राखेका छन् । प्रतिबोट कम्तीमा ३५० का दरले बिक्री गर्दै आएको उनले बताए । माग धेरै भएपछि उनले अध्ययनका लागि जापान पुगेका छोरालाई समेत स्वदेशमै बोलाएर बुद्धचित्तको व्यावसायिक बेर्ना उत्पादन थालेका छन् । “विदेशमा महिनाको १ लाख कमाइ भए पनि वर्षको १२ लाखमात्रै हुन्छ,” उनी भन्छन्, “तर एउटै सिजनमा त्यसको तेब्बर कमाइ स्वदेशमै गरिरहेको छु ।” धुलीखेलदेखि जिल्लाको दुर्गम भेग कोशीपारिसम्म यसको बेर्ना उत्पादन गर्न नर्सरी खोल्ने क्रम बढेको छ ।

एउटै बोटबाट १८ लाख
सिपाली चिलाउने–३ का अजय लामाले यो वर्ष एउटा बोटको दाना १८ लाख रुपैयाँमा बेचे । गत वर्ष त्यही बोटबाट ७ लाख रुपैयाँ आएको थियो । बाजेले रोपेको बोटबाट उनले त्यति रकम लिएका हुन् । “पहिले त्यतिकै फल्थ्यो, झथ्र्यो,” उनले भने, “तर अहिले वर्षैपिच्छे यो बोटको मूल्य बढिरहेको छ ।” उनले ४ वर्षअघि रोपेका ४ वटा बोटबाट समेत १ लाख ५० हजार रुपैयाँ आम्दानी लिएका छन् । माला बेचेर आएको रकमले धुलीखेलमा घर बनाउने तयारी भइरहेको उनले बताए । एउटै बोटबाट लाखौं आम्दानी लिने अजय एउटा उदाहारणमात्रै हुन् । सुख्खा क्षेत्रमा परिणत हुँदै गएको तिमालमा बुद्धचित्तले कायपलट गरिदिएको छ । धेरैको जीवनस्तर सुध्रिएको छ । बुद्धचित्तबाट तिमालमा वार्षिक करोडौं रुपैयाँ भित्रिरहेको छ । कतिपयले त्यो रकम गुम्बा, विद्यालय, सडक मर्मत तथा निर्माणजस्ता सामाजिक काममा समेत खर्चन थालेका छन् । तिमालका धेरै कृषकले बगैंचामा बुद्धचित्तको बोट रोखेका छन् ।

जिल्लाभर विस्तार
करेसाबारीमा रोपेको बोटबाट लाखौं आम्दानी हुन थालेपछि अहिले जिल्लाभर बुद्धचित्तको खेती विस्तार भएको छ । तर, संसारका जुनसुकै कुनामा लगेर यसको बिरुवा रोपे पनि तिमालको जस्तो उत्कृष्ट नहुने जनविश्वास छ । पतझर जातको बिरुवा भएकाले माघ र फागुनमा रोप्नु उत्तम मानिन्छ । नयाँ पालुवा र जरा आउनुअघि रोपिएको बिरुवा सप्रिने र राम्रो हुनका साथै छिटो फल्ने हुन्छ । तर, पनि माघ–फागुनमा पानीको मात्रा नपुग्ने हुँदा कृषकहरूले असार र साउनमा रोप्ने गरेका छन् ।

यो बेला बढी हेरचाह गर्नुपर्ने बेर्ना उत्पादक प्रताप लामाले बताए । रोपेको कम्तीमा २ वर्षदेखि दाना फल्न सुरु हुन्छ । अहिले तिमालका साथै रोशी र दुर्गम कोशीपारि, पाँचखाल, भकुण्डेमा यसको व्यावसायिक खेती भइरहेको छ । “जिल्लाकै अरु ठाउँका कृषकसमेत बिरुवा खोज्न आइरहेका छन्,” लामाले भने, “हावापानी मिल्ने जुनसुकै ठाउँमा पनि यसको खेती हुन्छ ।”

वन कार्यालयको चासो
सुरुका वर्षमा अवैध भन्दै बुद्धचित्तको कारोबारमा संलग्नलाई धमाधम पक्राउ गरेको जिला वन कार्यालयले अहिले यसको विस्तार र सम्भाव्यताबारे काम थालेको छ । निःशुल्क बिरुवा वितरण सुरु गरेर तिमाललाई पकेट क्षेत्र घोषणा गरिएको प्रमुख वन अधिकृत गणेश रायले बताए । “गरिब कृषकको पनि पहुँच होस् भनेर निःशुल्क बिरुवा वितरण गरेका हौं,” उनले भने, “५० करोडभन्दा बढी तिमालमा मात्रै भित्रिएको छ तर गरिब कृषकसम्म पुग्न सकेको छैन ।” वन कार्यालयले छोड्पुर्जीलाई समेत निकै सहज बताएको छ । कार्यालयको तथ्यांकअनुसार गएको आर्थिक वर्षमा ५० जनाले छोड्पुर्जी मागेका थिए । त्यसअनुसार २१ हजार १३ किलो दाना जिल्लाबाट बिक्रीका लागि बाहिर गएको छ ।

वन कार्यालयले छोड्पुर्जी दिएपछि मात्रै प्रहरीले सुरक्षा दिने भएकाले सहज बनाएको रायले बताए । “हामीले तत्कालै कृषकलाई व्यावसायिक बुद्धचित्त खेतीतर्फ आकर्षित गर्न अध्ययन अघि बढाउँछौं,” उनले भने, “अहिले निजी जंगलमा जति फस्टाएको छ, सरकारी जंगलमा पनि लगाउन सके राज्यको राम्रो आर्थिक स्रोत बन्न सक्छ ।” उनले पूर्वदेखि पश्चिमका जिल्लाबाट समेत बुद्धचित्तको बिरुवा माग आएको बताए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :