कुहिन थाल्यो मुगुको स्याउ

यो समाचार 132 पटक पढिएको

Apple muguमुगु, २३ भदौ / जिल्ला कृषि विकास कार्यालयले स्याउ राख्ने कार्टुन उपलब्ध गराउन नसकेपछि मुगुका कृषकले फलाएको करोडौँको स्याउ कुहिन थालेको छ ।

“स्याउ धेरै छ पाकेर रूखबाट झर्न थालिसक्यो, अलि अलि भएको कार्टुनमा स्याउ राखेर नेपालगञ्ज पठाएँ अरू कुहिने हो कि भन्ने चिन्ता छ”, कार्कीवाडा गाविसका स्थानीय रामभक्त रोकायाले भन्नुभयो । कृषकका बगैँचामा फलेको स्याउ पाकेर झर्न थाले पनि जिल्ला कृषि विकास कार्यालयले अनुदानमा उपलब्ध गराउने कार्टुन समयमा नै वितरण नगरेपछि स्याउ कसरी बाहिरी जिल्ला पठाउने भन्नेमा कृषक चिन्तामा छन् । मुगु उद्योग वाणिज्य सङ्घका अध्यक्ष एवं उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य नरवीर रावत स्याउ राख्ने कार्टुन नपाएपछि आफूले गमगढी बजारमा रहेका तरकारी बिक्री गर्ने प्लास्टिक क्यारेट भाडामा लिई त्यसैमा ८० क्विन्टल स्याउ राखेर सुर्खेतमा लगी प्रतिकिलो ५० रुपियाँका दरले मुगुको स्याउ बिक्री गरेको बताउनुभयो ।

कृषि विकास कार्यालयले जिल्लामा फलेको स्याउ सहज रूपमा जिल्ला बाहिर लैजान स्याउ कृषकलाई हरेक वर्ष अनुदानमा कार्टुन उपलब्ध गराउँदै आएको थियो तर तराई बन्दका कारण खरिद गरिएका कार्टुन बीच बाटोमै रोकिएकाले कृषकलाई समयमै कार्टुन वितरण गर्न नसकिएको कृषि कार्यालयले जनाएको छ । गत वर्षका बाँकी रहेका केही सङ्ख्याका कार्टुन कृषकलाई वितरण गरिएको र बाटोमा रोकिएका कार्टुन आए कृषकलाई वितरण गरिने जिल्ला कृषि विकास कार्यालयका योजना अधिकृत बुद्धिनारायण देवले जानकारी दिनुभयो ।

गत वर्ष जिल्लामा उत्पादन भएको स्याउ वर्षाका कारण हवाई यातायात तथा सडक मार्ग बन्द भएपछि जिल्ला बाहिर निकासी हुन नसक्दा खेर गएको थियो । अहिले सडक यातायात र हवाई यातायात सुचारु रहे पनि स्याउ राख्ने कार्टुन नपाउँदा अघिल्लो वर्ष जस्तै यो वर्ष पनि लाखौँको स्याउ कुहिने हो कि भन्ने चिन्तामा कृषकहरू छन् । स्याउ पाकेपछि अहिले कृषकले स्याउ टिप्न सुरु गरेका छन् । स्याउ टिपे पनि सुरक्षित भण्डारणको व्यवस्था नहुँदा कृषकले सस्तो मूल्यमा बिक्री गरिरहेका छन् । गत वर्ष जिल्ला बाहिर स्याउ नपठाए पनि चालिस हजार रुपियाँ बराबरको स्याउ जिल्लामा नै बिक्री गरेको र बाँकी सबै खेर गएको कार्कीवाडा गाविस–२ की राजमाया रावलले बताउनुभयो ।

अहिले जिल्लामा प्रतिकेजी २५ रुपियाँदेखि ४० रुपियाँमा स्याउ बिक्री भइरहेको छ । शुक्रबार मात्र जिल्लाबाट एक सय क्विन्टल स्याउ निकासी भएको छ । नेपालगञ्ज बन्द भन्छन्, यता स्याउ पाकेर झर्न थालिसक्यो । जे पर्ला पर्ला भनेर ७२ क्विन्टल नेपालगञ्ज पठाएँ, कार्कीवाडा–६ निवासी हस्तबहादुर कार्कीले भन्नुभयो । सदरमुकाम आसपासका कार्कीवाडा, रुगा, रोवा, पिना गाविसमा उत्पादन भएको स्याउ सदरमुकाम र नेपालगञ्जतर्फ खपत हुने भए पनि सदरमुकाम बाहिरका माँग्री, जिमा, रारा, खमाले, सुकाढीक, कालैलगायतका गाविसमा फलेको स्याउ यातायात र भौगोलिक विकटताका कारण खेर जाने गरेको छ । सोरुकोटका पदमबहादुर शाही आफ्नो गाउँमा उत्पादन हुने स्याउ गाउँघरमा एक रुपियाँमा तीन दानामा बिक्री हुने गरेको र बजार टाढा हुने भएकाले बिक्री नभएको स्याउको घरेलु मदिरा बनाउने र गाईबस्तुलाई खुवाउने गरेको तर त्योभन्दा कम गुणस्तरका स्याउ गमगढी बजारमा एक दानाको १० रुपियाँसम्म पर्ने गरेको बताउनुहुन्छ ।

जिल्लामा एक हजार ७५ हेक्टर क्षेत्रफलमा स्याउ उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका अनुसार अघिल्लो वर्ष जिल्लाभरिमा दुई हजार ९७५ मेट्रिक टन स्याउ उत्पादन भएकोमा यो वर्ष तीन हजार ९९० मेट्रिक टन उत्पादन भएको अनुमान छ । जिल्लामा उत्पादन भएको स्याउ सुरक्षित राख्न विभिन्न स्थानमा भण्डार घर निर्माण गर्ने आगामी लक्ष्य रहेको कार्यालयले जनाएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :