बीउमा ११ करोड अनुदान

यो समाचार 247 पटक पढिएको

बुटवल, २१ भदौ /किसानका लागि उन्नत बीउबिजन कार्यक्रमले पहाडी ६ जिल्लाका लागि आव ०७२/७३ मा मात्रै किसानलाई खाद्यान्न एवं तरकारी बीउ उत्पादन र प्रशोधन गर्न झन्डै ११ करोड रुपैयाँ अनुदान दिने भएको छ ।

Seed Bankकिसानलाई उन्नत बीउमा आत्मनिर्भर बनाउन थालिएको किसानका लागि उन्नत बीउबिजन कार्यक्रमअन्तर्गत अर्घाखाँची, गुल्मी, प्युठान, रोल्पा, सल्यान र रुकुमका किसानलाई कृषक समूह सहकारीमार्फत अनुदान दिने कार्यक्रम अगाडि सारिएको हो । कृषि विकास मन्त्रालय किसानका लागि उन्नत बीउबिजन कार्यक्रम, कार्यक्रमव्यवस्थापन कार्यालय रुपन्देहीका प्रमुख लक्ष्मणप्रसाद पौडेलले यो आवमा नार्कमार्फत धान, गहुँ, मकै खाद्यान्नबाली बीउ उत्पादन गर्न २ करोड १० लाख लगानी गरिने जानकारी दिए ।

नार्कमार्फत ३ सय ५० हेक्टरमा धान, गहुँ, मकै खाद्यान्नबाली बीउ उत्पादन गरिनेछ । यो आवमा खाद्यान्न एवं तरकारी बीउ उत्पादनमा संलग्न ८० कृषक समूह सहकारीलाई ६ करोड ८० लाख रुपैयाँ अनुदान दिइनेछ । त्यस्तै, खाद्यान्न तथा तरकारीबाली बीउ उत्पादन प्रशोधनमा संलग्नलाई ४ करोड रुपैयाँ अनुदान दिइनेछ । एग्रोभेटलाई ७५ लाख रुपैयाँ अनुदान दिने कार्यक्रम पनि अगाडि बढाइएको छ । अनुदान कार्यक्रम आवश्यक प्रक्रिया पुर्‍याएर मूल्याकंनपछि सम्झौता गरिनेछ । तीन वर्षसम्म किस्ता–किस्तामा रकम दिइने पौड्यालको भनाइ छ ।

बीउबिजन कार्यक्रमलाई प्रभावकारी बनाउँदै किसानलाई धेरै लाभान्वित बनाउन यो आवमा कृषक सहजकर्तामार्फत बीउ उत्पादन कृषक पाठशाला प्रदर्शन कार्यक्रम सञ्चालन गरिने प्रमुख पौड्यालले जानकारी दिए । उनका अनुसार त्यसका लागि १ करोड १४ लाख रुपैयाँ छुट्याइएको छ । त्यस्तै, कृषक सहजकर्तालाई बीउ उत्पादन कृषक पाठशाला सञ्चालनसम्बन्धी तालिम सम्बन्धित निर्देशनालयसँगको समन्वयमा सञ्चालन गरिनेछ । यसका लागि ४० लाख रुपैयाँ छुट्याइएको छ । बजेटअनुसार परिणाममुखी परिणाम आउने अपेक्षा गरिएको उनले बताए । कृषि व्यावसाय व्यवस्थापनसम्बन्धी कृषि प्राविधिकलाई तालिमसमेत सञ्चालन गरिनेछ । त्यस्तै, कार्यक्रम क्षेत्रको बीउ उत्पादन प्रशोधन एवं बजारीकरणमा संलग्न कृषक समूह सहकारी एवं एग्रोभेटको प्रोफाइल पनि यो आवमा बनाउने कार्यक्रम अगाडि बढाइएको छ ।

राष्ट्रियस्तरका परामर्शदाताबाट बीउबिजन ऐन नीति नियम आवश्यक संशोधनका लागि अध्ययन पनि गराउने कार्यक्रम अगाडि सारिएको पौड्यालले बताए । उन्नत बीउबिजन कार्यक्रम कृषि क्षेत्रका लागि ठूलो र महत्त्वपूर्ण कार्यक्रम भएकाले यसलाई प्रभावकारी बनाउन एकैसाथ विभिन्न कार्यक्रम अगाडि बढाइएको पौडेलको भनाइ छ । किसानका लागि उन्नत बीउबिजन कार्यक्रमअन्तर्गत औपचारिक रूपमा बीउबिजन क्षेत्रको विस्तार, साना पशुपालकको व्यावसायीकरण, स्थानीय उद्यमशीलता तथा संस्थागत विकास र कार्यक्रम समन्वय तथा व्यवस्थापन गर्दै आएको छ । त्यस्तै, मूल बीउ उत्पादनका लागि नेपाल कृषि अनुसन्धान केन्द्र तथा सरकारी फार्मको क्षमता अभिवृद्धि भई स्रोत बीउ उपलब्धतामा बढ्ने कार्यक्रम प्रमुख पौड्यालले जानकारी दिए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :