बढी भएको दूध भारत निर्यात गर्ने तयारी

यो समाचार 116 पटक पढिएको

काठमाडौं, १५ भदौं / सरकारले खपत नभएको दूध भारत निर्यात गर्ने तयारी गरेको छ। किसानले उत्पादन गरेको दूध खपत नभएर सडकमा फाल्नुपर्ने अवस्था आएका कारण निर्यातको तयारी गरिएको हो।

Kailali-Milk-newsagro-finalकृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले बन्द र हडतालका कारण ढुवानीमा समस्या रहेको र उत्पादित दूधले पनि बजार नपाएपछि भारत निर्यातका लागि गृहकार्य सुरु गरिएको जानकारी दिए। आन्तरिक बजारमा खपत हुन नसकेको दूध खेरजान नदिन भारतको पटना निर्यात गर्न लागिएको सचिव भट्टराईले बताए। ‘यो बेला दूधको उत्पादन पनि बढ्यो,’ उनले भने, ‘तर बन्द र हडतालका कारण पूर्ववत् रूपमा दूधको खपत हुन सकेन्।’ उनका अनुसार दैनिक दुई लाख ५२ हजार मूल्यबराबरको करिब ६० हजार लिटर तरल दूध भारत निर्यात गर्ने तयारी गरिएको छ।

दूध नबिकेपछि दुग्ध विकास संस्थान (डीडीसी) र निजी डेरीले समेत किसानबाट खरिद गर्ने दूधको परिमाण घटाएर अघोषित रूपमा मिल्क होलिडे गरेका छन् । विशेष गरी पछिल्लो समय दूधको मूल्यमा निरन्तर वृद्धि भएपछि उपभोक्ताको क्रयशक्ति घटेको छ।  यस कारण दुग्धजन्य पदार्थको समग्र खपतमा नै कमी आएको छ। सरकारले निजी क्षेत्र र डीडीसी दुवैलाई दूध निर्यातका लागि सैद्धान्तिक सहमति दिइसकेको छ। तर, भारतमा भन्दा नेपालमा दूधको भाउ लिटरमा ६ रुपैयाँ बढी छ।

त्यसैले निर्यात गरिने दूधमा किसानलाई लिटरको ६ रुपैयाँ अनुदान दिन कृषि विकास मन्त्रालयले अर्थलाई पत्राचार गरिसकेको छ । नेपाली किसानले फ्याटका आधारमा न्यूनतम ४५ देखि अधिकतम ४६ रुपैयाँसम्ममा डेरीलाई दूध बिक्री गर्छन्। नेपाली डेरीले लागतको आधारमा भारतमा लिटरको ४८ रुपैयाँमा दूध बिक्री गर्ने प्रस्ताव गरेको छ। तर, भारतमा भने दूधको मूल्य लिटरको ४२ रुपैयाँ मात्र छ। ‘भारतीय दूधभन्दा हाम्रो दूध लिटरमा ६ रुपैयाँ महँगो छ,’सचिव भट्टराईले भने, ‘त्यो मूल्य समायोजन गर्न अर्थ मन्त्रालयसँग अनुदान उपलब्ध गराउन पत्राचार गरिएको छ। अर्थबाट जवाफ आएपछि निर्यात प्रक्रिया सुरु हुन्छ।’

आन्तरिक बजारमा खपत हुन नसकेको दूध खेरजान नदिन भारतको पटना निर्यात गर्न लागिएको हो। दैनिक दुई लाख ५२ हजार मूल्य बराबरको करिब ६० हजार लिटर तरल दूध भारत निर्यात गर्ने तयारी गरिएको छ।
डीडीसीका महाप्रबन्धक गंगा तिमल्सिनाले खपत हुन नसकेको दूध भारतको पटनास्थित पटना डेरी कोअपरेटिभ लिमिटेडलाई बिक्री गर्ने तयारी भएको जानकारी दिए। ‘खपत हुन नसकेको दूध किसानले फाल्नुभन्दा भारत निर्यात गर्नु उपयुक्त देखिएको छ,’ तिमल्सिनाले भने, ‘यो विषयमा मन्त्रालयले सहमति दिसकेको छ।’

अन्य समयभन्दा भदौदेखि पुससम्म दूध उत्पादन बढी हुन्छ। यही अवधिको दूध निर्यात गरिनेछ। एकातर्फ उत्पादनमा वृद्धि हुनु र अर्कोतर्फ देशभर बन्द र हडतालका कारण उद्योगीले दूध खरिद गर्न नसक्दा किसानले सडकमा फालेर विरोध जनाउदै आएका छन्। चितवन, इलाम, काभ्रेलगायतका स्थानमा किसानले दूध फालेर विरोध गरेका छन्। दुई वर्ष अघिसम्म डीडीसीले नेपालमा दूध उत्पादन कम हुँदा पटनाको डेरीबाट दैनिक ४० हजार लिटर दूध आयात गर्थ्‍यो।

नेपाल डेरी एसोसिएसनका अध्यक्ष सुमित केडियाका अनुसार पटना डेरीले भूकम्प र त्यसपछिको बन्द हडतालका कारण समस्यामा परेको डेरी क्षेत्रलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता दिएको जानकारी दिए। ‘हामीले बढी भएको दूध तत्कालै भारत निर्यात गर्न प्रस्ताव अघि सारेका थियौं, मन्त्रालयसहित पटना डेरीले पनि सकारात्मक प्रतिवद्धता जनाएको छ,’ अध्यक्ष केडियाले भने, ‘भारतीय पक्षले बढी भएको कच्चा दूध खरिद गरिदिने आश्वासन दिएको छ।’

देशभर दैनिक १७ लाख लिटर दूध उत्पादन हुँदै आए पनि डीडीसी र निजी क्षेत्रले गरेर दैनिक सात लाख लिटर दूधमात्रै खरिद गर्दै आएको छ । बाँकी १० लाख लिटर दूध स्थानीय बजारको मिठाइ पसल र उत्पादनकर्ता आफै प्रयोग गर्दै आएको केडियाले जानकारी दिए। डीडीसीले भने दैनिक एक लाख ८० हजार दूध खरिद गरेर एक लाख ५५ हजार लिटर बिक्री गर्दै आएको छ। खरिद गरेको मध्ये बाँकी रहेको करिब २५ हजार लिटर दूधको पाउडर ९स्कीम्ड मिल्क० बनाउँदै आएको छ। अहिले बजारमा घीउ पनि मौज्दात छ।

केडियाका अनुसार अहिले सरकारी र निजी क्षेत्रसँग गरेर एक अर्ब ५० करोड रुपैयाँ बराबरको घीउ मौज्दात छ। यसले पनि दूध खपतमा असर गरेको छ। नेपाली बजारमा स्वदेशीभन्दा भारतीय घीउ सस्तो छ।  केडियाले खपत नभएको दूध व्यवस्थापन गर्न अहिले नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको राशनमा दूध र दुग्धजन्य पदार्थलाई समेत समावेश गर्न आवश्यक पहल भइरहेको जानकारी दिए।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :