विद्यालय सञ्चालन गर्न व्यावसायिक तरकारीखेती

यो समाचार 246 पटक पढिएको

खोटाङ, १४ भदौ / आम्दानीको स्रोत नभएपछि खोटाङका एक विद्यालयले व्यावसायिक तरकारीखेती सुरु गरेको छ । नेर्पा–८ स्थित जनता निमावि सञ्चालनका लागि आम्दानीको कुनै स्रोत नभएपछि व्यावसायिक तरकारीखेती सुरु गरिएको हो ।

vegetable farmingआर्थिक अभावमा विद्यालय सञ्चालन गर्न कठिन भएपछि तरकारीखेती सुरु गरिएको प्रधानाध्यापक झमप्रसाद आचार्यले बताउनुभयो । “तरकारीखेतीबाट अहिले राम्रो आम्दानी हुन थालेको छ ।” आचार्यले भन्नुभयो, “विद्यालय आफैँले व्यावसायिक तरकारीखेती सुरु गरेपछि विद्यार्थीसमेत यसप्रति आकर्षित भएका छन् ।” विद्यालयको दुई र भाडामा लिइएको दुई गरी चार रोपनी जग्गामा विभिन्न प्रकारका तरकारीखेती लगाइएको प्रधानाध्यापक आचार्यले बताउनुभयो । व्यावसायिकरुपमा सुरु गरिएको तरकारीखेतीमा शिक्षक, अभिभावक र विद्यार्थीले हरेक शुक्रबार १ बजेदेखि काम गर्ने गरेका छन् ।

दुई वर्षअघि देउसी खेलेर सङ्कलन गरिएको रु ४३ हजार रकमबाट तरकारीखेती सुरु गरिएको विद्यालयले जनाएको छ । व्यावसायिक रुपमा सुरु गरिएको तरकारीलाई आवश्यक पर्ने विषादी विद्यालय आफँैले तयार गर्ने गरेको छ । विद्यालयले उत्पादन गरेको तरकारी स्थानीय हाटबजारमा बिक्री हुने गरेको छ । निजी स्रोतबाट सञ्चालन गरिएको विद्यालयमा सोही आम्दानीबाट शिक्षकलाई तलब भुक्तानी दिन थालिएको प्रधानाध्यापक आचार्यको भनाइ छ । विसं २०४९ फागुन ४ गते स्थापना गरिएको विद्यालयमा कक्षा १ देखि ५ सम्म अङ्ग्रेजी माध्यमबाट पढाउन थालिएको छ । कक्षा ८ सम्म पढाइ हुने उक्त विद्यालयमा अहिले १८१ विद्यार्थी अध्ययनरत छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :