सस्तो चल्ला पाउनै मुस्किल

यो समाचार 299 पटक पढिएको

बनेपा, १४ भदौं / गत वैशाखमा ब्रोइलर चल्लाको मूल्य सार्वजनिक गर्दै किसानलाई राहत दिएको दाबी गर्ने केही ह्याचरी उद्योगीहरु यतिखेर चर्को मूल्यमा चल्ला बेच्दैछन्। नेपाल ह्याचरी उद्योग संघका पदाधिकारी र सदस्यसमेत रहेका काभ्रे, भक्तपुर ललितपुर र काठमाडौंका दर्जन बढी उद्योगीहरुले अन्य ह्याचरीकोेभन्दा १० रुपैयाू प्रति चल्ला महँगोमा बिक्री गरिरहेका पाइएको छ।

baby chickenयतिखेर संघका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, निवर्तमान अध्यक्षलगायतको ह्याचरी उद्योगले प्रति चल्लाको मूल्य ६५ रुपैयाँ कायम गरेका छन्। यसको विपरित उपाध्यक्ष, महासचिवलगायत अन्य पदाधिकारीले भने ५५ रुपैयाँ कायम गर्दै आएका छन्। ‘संघकै पदाधिकारीहरुले प्रति गोटा चल्लाको मूल्यमा १० रुपैयाँ बढी असुलिरहेका छन्। बढी मूल्य असुल्ने ह्याचरीहरुले किसान मार्ने काम गर्दैछन्,’ नेपाल कुखुरापालक किसान संघका अध्यक्ष भोजराज दाहालले भने। उनका अनुसार विज्ञापन गरेरै सार्वजनिक रुपमै बढी मूल्य लिने ह्याचरीहरुमा ललितपुर ह्याचरी, आशापुरी ह्याचरी, प्रभात पोल्ट्री, जिजे पोल्ट्री, चम्पापुर पोल्ट्री, सिद्धिगणेश पोल्ट्री, फुयाँल पोल्ट्री, भादगाउँ ह्याचरी र खत्री पोल्ट्री रहेका छन्।

‘यीमध्येका आशापुरी ह्याचरी, ललितपुर ह्याचरी, प्रभात पोल्ट्री र जिजे पोल्ट्रीले गत वैशाखमा डिलरले चल्लामा मनोमानी मूल्य लिए भन्दै सार्वजनिक रुपमै भाउ घटाएका थिए। तर, यतिखेर भने यीनै ह्याचरीले अरु ह्याचरीको भन्दा १० रुपैयाँ बढी लिइरहँदा समेत कतैबाट कारवाही हुन सकेको छैन्’, दाहालले भने। भुकम्पपछि कुखुरापालक किसानहरु समस्यामा परेको भन्दै आफूले ह्याचरी उद्योगीहरुलाई चल्लाको भाउमा कम नाफा लिएर राहत दिन गरेको अनुरोधको कुनै सुनुवाई नभएको उनको भनाई छ। ‘संघकै अध्यक्षको ह्याचरीबाट महँगो चल्ला ल्याएर मैलै नै किसानलाई दिइरहेको छु। अरु ह्याचरीले कम मूल्यमा दिएको प्रमाण दिँदा सुनुवाई नै भएन,’ दाहालले दुखेसो पोखे।

ह्याचरी उद्योग संघको जेठ ८ गतेको भेलाले किसानलाई राहत हुने र भारतबाट गुणस्तरहीन चल्ला भित्रन नदिनका निम्ति चल्लाको मूल्यलाई समयानुकुल बनाउँदै लैजाने निर्णय गरेको थियो। यसमा संघका सबै पदाधिकारीहरु सहमत भई हस्ताक्षरसमेत गरेका थिए। ‘किसानलाई पनि राहत पुग्ने र भारतीय चल्ला पनि भित्रन नदिने उद्देश्यले प्रत्येक हप्ता भारतको सीमावर्ती शहरहरु भैरहवा, चितवन, बीरगञ्ज, बिराटनगर, काकडभित्ताका साथै काठमाडौंका ह्याचरी उद्योगीसँग एसएमएसमार्फत मूल्यका बारेमा जानकारी संकलन गर्दै आएका छौं। त्यसकै आधारमा भारतको मूल्यलाई समेत ध्यानमा राखेर हालको मूल्य ५५ रुपैयाँ कायम गरेका हौुं, मानन्धरले थपे।

हाल कायम गर्दै आएको मूल्यमा चल्ला बेच्दा ह्याचरीलाई कुनै घाटा नहुने उनको तर्क छ, ‘म र मेरा साथीहरुको ह्याचरीले यही हिसाबले बेचिरहेका छौं। अब ह्याचरी उद्योगीहरु पनि स्वच्छ प्रतिस्पर्धामा जाने हिम्मत गर्नु पर्योी। किसान नै पलायन हुने गरी बढी नाफा लिइदिनु भएन,’ मानन्धरले भने। नेपालमा चल्लाको मूल्य बढी हुने वित्तिकै भारतीय सीमाबाट अवैध रुपमा चल्ला आउने गरेको छ। मानन्धरका अनुसार भारतमा एक दिने ब्रोइलर चल्लाको मूल्य यो हप्ता ४० रुपैयाँ (भारु २५) कायम रहेको छ। नेपालसम्म ल्याइपुर्यामउँदा खर्चसहित ५० जत्ति पर्ने भएबाट कम नाफा पाइने भएकाले भारतीय व्यापारीहरु यतिखेर हच्केका हुन्।

‘नेपालका ह्याचरीले मनलाग्दी भाउ राख्ने चलन बस्दै जाने क्रममा भारतको भन्दा २० रुपैयाँ जति बढी नाफा पाउने अवस्था बन्यो भने एकै हप्तामा नेपालमा भारतीय चल्ला छ्याप्छ्याप्ती हुन जान्छ। यसो भएमा यहाँका ह्याचरीहरु समेत धराशायी बन्न पुग्छन्,’ मानन्धरले तर्क राखे। हाल मुलुकमा कब–५०० जातको ब्रोइलर उत्पादन गर्ने ह्याचरीको बाहुल्य छ। यस जातको ब्रोइलरबाट मासु तयारी गर्दा जर्ती धेरै नजाने भएकाले किसान र कोल्डस्टोर दुबैको पहिलो रोजाई हुने गरेको छ। पछिल्लो समय हब्बर्ड जातका ब्रोइलर चल्ला समेत किसानको दोस्रो रोजाईमा पर्न थालेको छ। नेपालको कृषि व्यवसायअन्तर्गत पशुपंछीपालनमा सबैभन्दा बढी फस्टाएको पेशा ब्रोइलर कुखुरापालन हो।

ह्याचरी संघका अनुसार नेपालमा ब्रोइलर(मासुको लागि) र लेयर्स (अण्डाका लागि) चल्ला उत्पादन गर्ने १ सय ८१ वटा ह्याचरी उद्योगहरु रहेको छ। यीनै ह्याचरीबाट प्रति हप्ता १८ देखि १९ लाख गोटा ब्रोइलर चल्ला र १ लाख ३५ हजार गोटा लेयर्स चल्ला उत्पादन हुँदै आएको छ।

चल्लाको गुणस्तरको अनुगमन छैन

पशु स्वास्थ्य तथा पशु सेवा नियमावली, २०५६ को नियम १७ को अधिनमा रही पशु सेवा विभागले ब्रोइलर कुखरा व्यवस्थापन सम्बन्धी मापदण्ड २०६४ लागू गरेको छ। मापदण्डअनुसार एक दिने ब्रोइलर चल्लाको तौल कम्तीमा ३३ ग्राम हुनु पर्दछ। तर, चल्ला आउने बाकसमा यसको जानकारी दिइएको हुँदैन। एक दिने चल्लामै राम्रो तौलको चल्ला भएमा वृद्धिदर पनि राम्रो र बेच्ने बेलामा तौल पनि राम्रोसँग आउने पशु चिकित्सकहरुको भनाई छ।

‘किसानहरु पनि चल्ला पाए हुन्छ भन्ने मानसिकतामा रहेका पाइन्छन्। कति तौलको र कस्तो गुणस्तरको चल्ला किनिरहेको छु। कसको ब्रिडिङ फार्ममा पालिएको प्यारेण्टबाट र कुन ह्याचरीबाट उत्पादन भएको हो भन्ने सोधखोज नै गर्दैनन्’, जिल्ला पशु सेवा कार्यालय काभ्रेका प्रमुख डा. शरण पाण्डेले भने। यस्तै, मापदण्डले तोकेअनुसार भेटेरिनरी निरीक्षकले ब्रिडिङ फार्मको क्षमता, जैविक सुरक्षा, रोगसम्वन्धि रेकर्ड, भ्याक्सीनेशन तालिकाको जाँचर निरीक्षणका आधारमा चल्लाको गुणस्तर अनुगमन गर्नु पर्नेमा सो नहुने गरेको पाइएको छ। ह्याचरी र ब्रिडिङ फार्मले प्यारेन्ट९माउ कुखुरा० आयात गर्ने बखत सिफारिशका लागि मात्रै फार्मको अनुगमन हुने गरेको छ। यसबाट पनि मनलाग्दी ढंगले ब्रोइलर चल्ला उत्पादन भइरहेको पाण्डेको भनाई छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :