बुटवलको सीपीको अस्ट्रिच आँट

यो समाचार 315 पटक पढिएको

ओम बानियाँ

सन् १९९२ सालतिर रसियामा अध्ययनरत बुटवलका सीपी शर्मा युक्रेन पुग्दा त्यहाँको एक एकीकृत फार्ममा पहिलो पल्ट अस्ट्रिच देखेपछि र फ्रान्सको पेरिसस्थित एक रेस्टुरा“मा अस्ट्रिचको स्वादिलो मासु खाएपछि उनको मनमा एकाएक नेपालमा गएर अस्ट्रिच पालन गर्ने उत्कट इच्छा जाग्यो ।

Ostrich Austrich Cp Sharma

नेपाल फर्केपछि इच्छा हुदाहुदै पनि माओवादी द्वन्द्वका कारण तत्काल उनले नेपालमा अस्ट्रिच फार्म खोल्ने वातारण पाएनन् । तर, उनको सपना साकार भयो, २०६५ सालमा रूपन्देहीको गंगोलिया, मुडुहारीमा ‘अस्ट्रिच नेपाल’ नामक फार्म खोलेर । शर्माले अस्ट्रिच पालनका लागि वल्र्ड अस्ट्रिच एसोसिएसनको सहयोगमा अस्टेलियाबाट अन्डा र चल्ला ल्याएका थिए ।

करिब २२ बिघा जमिन रहेको यस फार्मलाई अहिले दाङ बिजौरीको १ सय ६० बिघा जमिनमा र रूपन्देही सूर्यपुराको ८० बिघा जमिनमा विस्तार गरिएको छ । अहिले सबै फार्ममा गरी जम्मा ६ हजार अस्ट्रिच छन् । अस्ट्रिचको तौल २ क्विन्टल ६५ किलोसम्म छ । यो दक्षिण एसियाकै सबैभन्दा ठुलो अस्ट्रिच ब्रिडिङ फार्म भएको यस कम्पनीका अध्यक्ष सीपी शर्माको दाबी छ । शर्माका अनुसार ३० करोड रुपैयाबाट सुरु गरिएको यस फार्ममा अहिलेसम्म करिब १ अर्ब ७० करोड रुपैया लगानी भइसकेको छ ।

के हो अस्ट्रिच ?

अस्ट्रिच विश्वको सबैभन्दा ठुला पन्छी हो । यसको अन्डा पनि सबैभन्दा ठुलो हुन्छ । लगभग साढे २ सय किलो तौल हुने सो पन्छीको उचाइ ६ फिटभन्दा धेरै हुन्छ । यो पन्छी मासुका लागि उत्कृष्ट मानिन्छ । अन्य पशुपन्छीको तुलनामा अस्ट्रिचको मासु केही महँगो भए तापनि स्वादिलो र स्वस्थकर भएका कारण यसको मासुको माग राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा समेत निकै बढ्दै गएको छ । अस्ट्रिचको मासु मात्र होइन, अन्डा, प्वाँख तथा बोसोसमेत उच्च मूल्यमा बिक्री हुने गरेको पाइन्छ ।

शर्मा भन्छन्, ‘अस्ट्रिच यस्तो पन्छी हो, यसको हरेक अंग मूल्यवान छन् । अस्ट्रिचको मासु र अन्डा मात्र होइन, अन्डाको खोल तथा प्वा“खसमेत बिक्री हुने गर्छ । छाला, बोसो तथा हड्डी आदि छुट्टै बिक्छन् । अस्ट्रिचको बोसोबाट छालामा लगाउने अनेक प्रकारका क्रिम तथा औषधि बन्छन् । अस्ट्रिचको अन्डा प्रतिगोटा २ हजार र बोसो प्रतिकिलो १० हजारमा बिक्री भइरहेको छ । छाला सबैभन्दा नरम भएकाले यसको अन्तर्राष्ट्रिय बजार मूल्य धेरै छ । अस्ट्रिचको मासु भने तिन वर्गमा छुट्ट्याइएको छ, हड्डी नभएको मासुको खुद्रा मूल्य २५ सय र १७ सय कायम गरिएको छ भने हड्डीसहितको मासुको खुद्रा मूल्य केवल ११ सय रुपैया“ छ ।’

मासुको माग स्वदेश र विदेशमा अत्यधिक भएको र मागअनुसार आपूर्ति गर्न नसकिएको शर्माको भनाइ छ । उनी भन्छन्, ‘माग पूरा गर्न एक्लो उत्पादनले मात्र सम्भव छैन, धेरै जना व्यावसायीको उत्पादन जरुरी छ । यदि, अस्ट्रिच पालनमा सरकारले ध्यान दिने हो भने राज्यले छोटो समयमा नै धेरै लाभ लिन सक्छ ।’

तर, मासुको अन्तर्राष्ट्रिय बजार सुनिश्चित गर्न उत्पादनको गुणस्तर कायम गर्न आवश्यक छ । यसका लागि आफूले चल्ला उत्पादनदेखि मासु काट्ने, प्याकेजिङ गर्ने, ढुवानी र ग्राहकको हातमा मासु पुग्दासम्म गुणस्तरलाई ध्यान दिएको उनको दाबी छ । उनी भन्छन्, ‘सडकको पेटी तथा हाटबजारमा झिँगा भन्काउदै अस्ट्रिच काट्न थाल्ने हो भने मासु खरिद गर्न कोही आउदैनन् ।’ त्यसैले उनले स्तरीय मासुका लागि करोडौं लगानी गरेर अन्तर्राष्ट्रिय मापदण्डको मासु प्रशोधन केन्द्र सञ्चालन गरेका छन् ।

रोजगार र आम्दानी

यस फार्मबाट हाल १ सय २० जना कर्मचारीले प्रत्यक्ष रोजगार पाएका छन् भने फार्मको आसपासका ७ सय घरपरिवार व्यावसायिक घास पालनमा आबद्ध छन् । घास खेतीबाट धान गहुको तुलनामा बढी आम्दानी हुने भएकाले कृषकहरू घास खेतीतिर आकर्षित भएका हुन् । एक बिघा खेतमा अस्ट्रिचका लागि घास खेती गर्दा वार्षिक ६० हजार आम्दानी हुने शर्मा बताउछन् ।

रूपन्देहीमा अस्ट्रिच फार्म देखेपछि थुप्रै कृषक तथा विदेशबाट फर्किएका युवाहरू अस्ट्रिच पालनतर्फ उत्तिकै आकर्षित भएका छन् । शर्माका अनुसार गाई–भैंसीको तुलनामा अस्ट्रिच पालनको लागत केही बढी हुने भए तापनि यसमा जोखिम कम र आम्दानी बढी हुने गर्छ । उनी भन्छन्, ‘हाम्रो फार्मबाट बिमा गरेको तिन महिनाको अस्ट्रिचको चल्लालाई ४० हजार रुपैयाँमा किनेर ६ महिना पाल्ने हो भने अस्ट्रिच एक क्विन्टलको हुन्छ । ६ महिना अस्ट्रिच पाल्न केवल १०, १२ हजार खर्च हुन्छ । ४ सय अस्ट्रिच पाल्ने हो भने वार्षिक ४० लाख आम्दानी हुने गर्छ ।’

Austrich

पर्यटकीय गन्तव्य

नेपालीहरूले गाई–भैंसी, कुखुरा, हास, बंगुर तथा माछा आदि पालेको त देखेका छन् । तर, विश्वकै सबैभन्दा ठुलो पन्छी पालेको धेरै कमले देखेका छन् । त्यसैले पनि मानिसहरू सय रुपैयाँको टिकट काटेर यस फार्ममा अस्ट्रिच हेर्न आउने गर्छन् । नेपालीहरू मात्र नभएर लुम्बिनी आउने पर्यटकसमेत यस फार्ममा अस्ट्रिच हेर्न आउने शर्मा बताउछन् । त्यसैले अहिले यो अस्ट्रिच फार्म रूपन्देही र दाङको पर्यटकीय गन्तव्यसमेत भएको छ ।

को हुन् सीपी शर्मा ?

ठुलो जोखिम लिएर धेरै कम नेपालीले देखेको यस नौलो पन्छीको व्यावसायिक खेती गर्ने आट गर्ने सीपी शर्मा बागलुङको सल्यानमा जन्मे/हुर्केर बुटवलको मिलनचोकमा स्थायी बसोबास गर्ने युवा व्यवसायी हुन् । सुरुका दिनहरूमा ट्र्याक्टर व्यवसाय अगालेका शर्माले २०३९ सालमा एसएलसी उत्तीर्ण गरेका थिए । त्रिविबाट व्यवस्थापनमा स्नातक गरेपछि उनी अध्ययनका लागि रसिया पुगे र त्यहाँबाट एमबीए गरे ।

२०६५ सालमा अस्ट्रिच फार्म खोलेपछि उनले आफ्नो सम्पूर्ण ध्यान अस्ट्रिच फार्म नेपालको विस्तार र विकासमा लगाएका छन् । उनले आफूलाई अस्ट्रिच गोठको गोठालो भन्ने गर्छन् । नेपालमा भलै अस्ट्रिच र यसको मासुका बारेमा धेरै कम नेपालीलाई थाहा भए तापनि बिस्तारै नेपालमा अस्ट्रिच व्यवसाय फस्टाउने कुरामा शर्मा ढुक्क छन् । सन् २०१७ देखि वार्षिक १७ अर्ब रुपैया र सन् २०२० देखि वार्षिक ८७ अर्ब रुपैयाको अस्ट्रिचको निर्यात गर्ने उनको गुरुयोजना छ । सन् २०१७ सम्म यस अस्ट्रिच नेपाल प्रालि ब्रेक इभन प्वाइन्टमा आउन सक्ने उनको आशा छ ।

देश–विदेश घुमेर राम्रो ज्ञान र अनुभव बटुलेका सकारात्मक सोच राख्ने मृदुभाषी शर्मा युवा वर्गलाई रोजगारका लागि खाडी मुलुकमा भौतारिनुभन्दा नेपालमै पसिना बगाउन सुझाव दिन्छन् । तनमनले अस्ट्रिच पालन गर्न रुचि भएका युवाहरूलाई प्राविधिक सहयोगका साथै आफूले गर्न सक्ने जस्तोसुकै सहयोग गर्न तयार रहेको उनी बताउछन् ।

Ostrich Austrich

पुछारमा

हो, युवा व्यवसायी सीपी शर्माले ठुलो आट लिएर अधिकांश नेपालीले कल्पना नै नगरेको अस्ट्रिच व्यवसाय अगालेका छन् । लक्ष्यप्रति दृढसंकल्पी, मेहनती र सकारात्मक सोच राखी आफ्नो बाटो आफैं खोजेर यहासम्म आइपुगेका छन् । अतः यी युवा व्यवसायी सीपी शर्मा नेपाली युवाहरूका लागि रोलमोडल हुन सक्छन्, प्रेरणाका स्रोत हुन सक्छन् । हुन पनि हो, मानिसमा आट, मेहनत, इमानदारिता तथा सीप सिक्ने अभिरुचि भयो भने मानिसले धेरै प्रगति गर्न सक्छन् । यस तथ्यप्रति हरेक युवा सचेत हुनुपर्छ ।

मूल कुरो हरेक युवाले आफ्नो अमूल्य जीवनलाई सार्थक बनाउन जीवनको एक ‘महान् लक्ष्य’ बनाई त्यो लक्ष्यमा अर्जुनदृष्टि साधी दृढसंकल्पका साथ अगाडि बढ्नुपर्छ । दिनभरि अनुशासन, इमानदारिता र मेहनतको पसिना बगाई राति चैनको निद सुत्ने युवाको भविष्य निश्चित रूपमा उज्ज्वल हुनेछ । अतः हरेक युवाले यसरी आफ्नो मस्तिष्क सदुपयोग गरेको खण्डमा नै युवा शक्ति स्वस्थ, सबल र सुखी हुन्छ । युवा शक्ति सुखी र समाथ्र्यवान भयो भने कुनै पनि राष्ट्रलाई शान्त र समृद्धशाली बन्न कसैले रोक्न सक्दैन ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :