पाउडर दूधका कारण मिल्क होलिडे

यो समाचार 286 पटक पढिएको

काठमाडौं, १० भदौ / सरकारले निजी डेरी उद्योगहरुले किसानको दुध खरिद नगरी आयातित पाउडर दुध प्रयोग गरेका कारण मिल्क होलिडेको अवस्था आएको दाबी गरेको छ ।

Kendriya dudhबुधबार राजधानीमा आयोजित केन्द्रिय दुग्ध सहकारी संघको २२ वार्षिक साधारणसभालाई सम्वोधन गर्दै कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराइले यस्तो दाबी गरेका हुन् । उनले किसान तथा डेरी उद्योगको हीतलाइ ध्यानमा राखी सरकारले पटक पटक दुधको मूल्य बृद्धि गर्दै आएको भएपनि डेरी उद्योगले भने किसानको हितविपरित कार्य गरेको आरोपसमेत लगाए । उनले भने– मिल्क होलिडेको समस्या आएपछि हामीले विभिन्न निजी डेरी उद्योगहरुमा अनुगमन गरेका थियो, अघिकांस डेरी उद्योगमा ठूलोमात्रामा आयातित पाउडर दूध रहेको पाइएको छ ।

उनले दुधको मूल्यबृद्धिले झन समस्या बढाएको भन्दै किसान तथा डेरी उद्योगीलाई उत्पादन लागत घटाउने उपाय खोज्न आग्रह गरे । हाल अन्तराष्टिय बजारमा दुध तथा दुग्धजन्य वस्तुको मूल्य घट्दो क्रममा रहेको तर नेपालमा भने बढ्दो क्रममा रहेको उनले बताए । सोही कारण नेपाली उत्पादन प्रतिस्पर्धी हुन नसकेको उनको भनाइ थियो । उनले भने–छिमेकी मुलुक भारतलगायत अन्तराष्टिय बजारको तुलनामा नेपालमा प्रतिलिटर दुधको मूल्य ६ रुपैयाँ बढी छ, त्यसैले पनि नेपाली उत्पादनले मूल्यमा प्रतिस्पर्धा गर्न सकेको छैन ।

आयातित दुग्धजन्य दुध तथा दुग्धजन्य पदार्थमा भन्सार बढाउँदासमेत नेपाली उत्पादनले मूल्यमा प्रतिस्पर्धा गर्न नसकेको उनको भनाइ छ । मूल्य बढी भएकै कारण ध्यू बिक्री हुननसकेको उल्लेख गर्दै सचिव भट्टराइले भने–नेपाली उत्पादनलाई प्रवद्र्धन गर्नका लागि ध्यु आयातको भन्सारदर १५ प्रतिशतबाट बढाएर २० प्रतिशत पुरयाएका छौ भने दुग्ध विकास संस्था(डिडिसी)लाई पनि प्रतिकेजी केजी ध्युमा २० रुपैयाँ मूल्य घटाउन निर्देशन दिएका थियौ । उनले उत्पादन लागत घटाउन डेरी उद्योग ९० प्रतिशतसम्म भ्याट सहुलियत दिने विषयमा अर्थमन्त्रालयसँग कुराकानी भइरहेको बताए ।

नेपाल डेरी एसोसिएनका अध्यक्ष सुमित केडियाले दुग्धजन्य पदार्थको बढ्दो आयातका कारण स्वदेशी उद्योग संकटमा पर्न थालेको बताए । बिक्री नहुुदाँ विभिन्न उद्योगमा डेढ अर्ब रुपैयाँभन्दा बढीको ध्यू थन्किएको उनको गुनासो थियो । असोजसम्म यो ध्युको स्टक तीन गुणाले बढ्ने पनि उनले बताएका गुनासो गरेका छन् । स्वदेशी उत्पादनलाई प्रतिस्पर्धी बनाउन सरकारले अुनदानको व्यवस्था गर्नुपर्ने उनले बताए ।

केन्द्रिय दुग्ध सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले विश्वमा सबैभन्दा धैरै दुध उत्पादन गर्ने भारत तथा विश्वमै सबैभन्दा कम लागतमा दुध उत्पादन गर्ने चीनको बीचमा रहेको नेपालमा परम्परागतरुपमा पशुपालन गरी दुग्ध व्यवसाय गर्दै आएका कारण किसानले लागत, गुणस्तर तथा बजारीकरणको समस्या भोगिरहेको बताए । विगतमा डेरी उद्योगहरुले विदेशबाट दुध आयात गर्नुपर्ने वाध्यता रहे पनि स्वदेशमै पर्याप्त दुध उत्पादन हुँदा हुँदै पनि डेरी उद्योगहरुले विदेशबाट पाउडर दुध आयात गरी मिल्क होलिडेको अवस्था सिर्जना गरेको उनको गुनासो थियो । कार्यक्रममा सहभागित प्रमुख राजनीतिक दलका सांसदहरुले पनि उत्पादन लागत घटाउन जोड दिएका थिए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :