ज्याला नबढाउदा चिया मजदुर पलायन

यो समाचार 208 पटक पढिएको

इलाम, ९ भदौ / महँगीअनुसार ज्याला नपाएपछि इलामका चार र झापाका तीनवटा चिया बगानमा कार्यरत मजदुर धमाधम पलायन हुन थालेका छन् ।

jhapa teaविसं २०५७ मा त्रिवेणी सङ्घाई ग्रुपले नेपाल सरकारबाट बगान भाडामा लिँदा सातवटा चिया बगानमा दुई हजार ३४० जना स्थायी मजदुर थिए । “तर हाल आएर ज्यालाकै कारण मजदुरको सङ्ख्या घटेर ८७५ पुगेको छ” निगमको विर्तामोडस्थित कार्यालयका प्रशासन प्रमुख लोकनाथ दङ्गालले भन्नुभयो । चियामा काम गर्ने मजदुरले वर्षदेखि दैनिक रु एक सय ७० मात्र ज्याला पाइरहेका छन् ।

चियाबाहेक निर्माण क्षेत्रमा काम गर्ने मजदुरले दैनिक रु ५०० भन्दा बढी कमाउँछन् । तर जिल्ला दररेट निर्धारण समितिले कामदारको ज्यालादर आठ प्रतिशतले वृद्धि गरी रु ६६० बाट रु ७१० पु¥याए पनि चिया क्षेत्रमा काम गर्ने मजदुरको वर्षदेखिको ज्याला नबढेको मजदुरको गुनासो छ । दिनभर चिया टिपे पनि त्यसबाट मजदुरको जीवन धान्न गाह्रो परकोले बगानमा काम गर्ने मजदुर पलायन हुने क्रम बढेको हो । इलाम र झापाका चिया बगानमा काम गर्ने मजदुरलाई कारखानाले फरक–फरक ज्याला दिइरहेका छन् । चिया व्यवस्थापन पक्षले समयसापेक्ष ज्याला नदिँदा चिया बगानबाट विस्थापित बन्नु परेको यहाँ कार्यरत मजदुर बताउँछन् ।

सुरुमा इलाम चिया बगानमा १२० मजदुर कार्यरत थिए । अहिले २९ जना मात्र स्थायी मजदुर छन् । “एक दशकअघि सम्म १२० स्थायी मजदुर थिए, कम ज्याला भएको भन्दै धमाधम पलायन हुने क्रम बढ्दो छ”, बगानकी कर्मचारी इन्दिरा गुरुङले भने । ‘‘मजदुर पलायलने समस्याग्रस्त बन्दै गएको चिया बगानमा भएका मजदुरसमेत नआउनाले थप समस्या भएको छ ।” चिया बगानमा भने जति पैसा नपाएपछि मजदुर अन्यत्रै रोजगारीमा जाने गरेको उनले बताए ।

मजदुर पलायनले अहिले दैनिक कामकाजमा समस्या पर्न थालेको बगान व्यवस्थापन पक्षले जनाएको छ । नेपाल चिया विकास निगमअन्तर्गतका इलाम र झापाका सातवटा चिया बगानमा आधाभन्दा धेरै मजदुरले ज्यालाको कारण देखाउँदै काम छाडेको बगानको विर्तामोडस्थित सम्पर्क कार्यालयले जनाएको छ । उक्त कार्यालयका अनुसार इलामको चिसापानीस्थित सोक्तिममा रु १८५, दानाबारीस्थित चिलिमकोटमा रु १९०, कन्याममा रु १९६ र इलाममा रु १७० मात्र ज्याला छ । यस्तै झापाका टोकला, बाह्रदशी र बर्नेमा रु २०१ ज्याला दिने गरिएको छ । कम ज्याला भएपछि कन्याम चिया कारखानामा ४७३ स्थायी मजदुर कार्यरत रहे तापनि अहिले १३४ जना मात्र कार्यरत छन् । आफूहरुले पाउने पारिश्रमिक न्यून भएकाले बढ्दो महँगीस“ग जुध्न नसकेको मजदुरको भनाइ छ ।

“अन्यत्रको काममा भन्दा चियामा काम गर्दा पारिश्रमिक थोरै पाइन्छ”, चिया मजदुर नर्वदा निरौलाले भने । “थोरै रकम भएका कारण धेरै मजदुर काम छाड्न बाध्य छन् ।” सोक्तिममा ४५, चिलिमकोटमा ५७, बर्नेमा ३००, बाह्रदशीमा २२ र टोकला चिया बगानमा ३१० जना मजदुर छन् । बगान सञ्चालक पक्षले भने बर्सेनि कारखाना घाटामा गएको जनाउँदै आम्दानीअनुसार मात्र पारिश्रमिक दिन सकिने बताउँदै ज्यालामा धेरै वृद्धि गर्न नसकिने जनाएको छ । रातदिन चिया बगानमा काम गरे पनि चिया बगानबाट भएको कमाइले गुजारा चलाउनै मुस्किल परेको विगत तीन दशकदेखि इलाम चिया बगानमा काम गर्दै आएकी इनपा–९ की फूलमाया लिम्बूले भने ।

चिया बगान स्थापना हु“दादेखि काम गर्ने मजदुर बगानबाट पाएको पारिश्रमिकले खानसमेत राम्रो नपुगेको गुनासो गर्छन् । मजदुरको सङ्ख्या दिनप्रतिदिन घट्दै गएपछि बगानमा झाडी बढ्ने, समयमा चियापत्ती टिप्न नसकिनेजस्ता समस्या देखिएको छ । नेपालकै सबैभन्दा पुरानो चिया बगानको रुपमा रहेको इलाममा अहिले मजदुर अभावले हरियोपत्ती पनि समयमा टिप्न नसकिएको व्यवस्थापन पक्षले जनाएको छ । जिल्लाका ग्रामीण भेगमा समेत चिया खेती गर्दै आएका चिया व्यवसायी मजदुर अभावमा चिया टिप्न समस्या भएको बताउँछन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :