एक वर्षमा सवा २५ अर्बको चामल आयात

यो समाचार 214 पटक पढिएको

चामल आयात ५० प्रतिशतले वृद्धि

काठमाडौ, ९ भदौ / गत आर्थिक वर्षमा मुलुककै प्रमुख कृषिजन्य वस्तु चामल आयात झन्डै ५० प्रतिशतले बढेको छ । भन्सार विभागका अनुसार ०७१/७२ मा ३५ अर्ब ६७ करोड बराबरको खाद्यान्न आयात भएकोमा चामलको हिस्सामात्रै २५ अर्ब २४ करोड रुपैयाँ छ ।

Riceयो तथ्यांक ०७०/७१ भन्दा झन्डै ५० प्रतिशत बढी हो । सो वर्षमा १६ अर्ब ९३ करोड रुपैयाँ बराबरको चामल भित्रिएको थियो । बढ्दो रेमिट्यान्सले जीवनस्तर सुधारसँगै गाउँघरका खेतबारी बाँझो हुँदै गएकाले चामल आयात ह्वात्तै बढेको जानकारहरू बताउँछन् ।

गत आवमा धान उत्पादन घटेपछि चामल आयात बढेको हो । कृषि मन्त्रालयका अनुसार गत वर्ष धान उत्पादन ५ प्रतिशत अर्थात् करिब २ लाख ५८ हजार मेट्रिकटन घटेर ४७ लाख ८८ हजार मेट्रिकटन मात्र उत्पादन भएको थियो । ०७०/७१ मा करिब ५० लाख ४७ हजार मेट्रिकटन उत्पादन भएको थियो । मनसुन ढिलो भएकाले रोपाइँ हुन नसकी खेतीयोग्य भूमि बाँझो रहेकाले उत्पादन घटेको कृषि विकास मन्त्रालयलको दाबी छ ।

“मौसमको प्रतिकूलताले गत वर्ष धान उत्पादन घटेको हो,” मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुर भन्छन्, “यो वर्षमा पनि तराईमा रोपाइँ निकै न्यून छ । यसले झन् उत्पादन घट्ने देखिन्छ ।” चामल उत्पादनको हिसाबले नेपालमै अपुग भएकाले निर्यात गर्न रोक लगाइएको छ । वाणिज्य तथा आपूर्ति मन्त्रालयका पूर्वसचिव तथा व्यापारविज्ञ पुरुषोत्तम ओझा कृषि क्षेत्रमा आधुनीकरण र व्यावसायिक बन्न नसकेका कारण चामललगायत कृषिजन्य वस्तुको आयात बढेको बताउँछन् ।

कृषि क्षेत्रमा सरकारले न्यून बजेट छुट्ट्याउने गर्छ । छिमेकी मुलुक भारत तथा चीनले कृषि क्षेत्रको व्यावसायिक विकासका लागि प्रविधि, मल, सिँचाइदेखि बिक्री–वितरणसम्म कृषकलाई ठूलो रकम अनुदान दिन्छन् । सम्भावना भएको कृषिलाई व्यावसायिक बनाउन सरकारले सिँचाइका साथै अनुदान र वितरण प्रणालीमा जोड दिनुपर्ने विज्ञहरूको सुझाव छ । “तुलनात्मक लाभ भएका वस्तु उत्पादन र निर्यात प्रवद्र्धन गर्नुपर्छ,” ओझा भन्छन्, “कृषिप्रधान मुलुकमा चामलको आयात दिनप्रतिदिन बढ्नु राम्रो होइन । अब सरकारले यसबारे सोच्नैपर्छ ।” भूकम्पले धेरै ठाउँमा क्षति पु¥याएकाले अगामी वर्ष झन् कृषिजन्य वस्तुको आयात बढ्ने सम्भावना उनले औंल्याए ।

कृषिविज्ञ हरि दाहाल विश्व व्यापार संगठन (डब्लूटीओ)को सदस्य भएसँगै विदेशी वस्तु सहज ढंगले प्रवेश व्यवस्था हुँदा आयात बढेको बताउँछन् । “नेपाली वस्तु अन्य मुलुकको तुलनामा गुणस्तरीय छैनन्, त्यसैले प्रतिपस्र्धा गर्न सकेका छैनन्,” उनी भन्छन्, “चीन, भारतका कृषकलाई ठूलो अनुदान हुँदा लागत सस्तो पर्छ, हामीले प्रतिस्पर्धा गर्न सक्दैनौं ।” गत वर्ष खाद्यान्नको व्यापारघाटा ३५ अर्ब ६६ करोड रुपैयाँ छ । गहँु १ अर्ब र मकै ७ अर्ब ८० करोड रुपैयाँको आयात भएका छन् । निर्यात भने १६ लाख रुपैयाँको मात्रै छ ।

आव          चामल आयात
०७१/७२    २५ अर्ब २४ करोड
०७०/७१    १६ अर्ब ९३ करोड
०६९/७०    १३ अर्ब ४४ करोड
०६८/६९    ११ अर्ब ५६ करोड

रचनात्मक प्रतिक्रिया दिनुहोस् :