सम्पन्न घाँसी

यो समाचार 175 पटक पढिएको

तनहूँ गुणादीका वामदेव खनाल घाँस बेचेर सम्पन्न भए भन्दा धेरैलाई अपत्यारिलो लाग्न सक्छ। बामदेव खनालले घाँस खेती थाल्दा घाँस बेचेरै पैसा कमाइन्छ भनेर पत्याउने कमै थिए। व्यावसायिक पशुपालन शुरू भए पछि उन्नत जातका घाँसको माग बढ्यो । त्यस पछि घाँस र घाँस कै बिरुवा बिक्री गर्ने व्यवसायले गति लिन थालेको ६० वर्षीय खनाल बताउँछन् । “पशु कार्यालयले घाँस र घाँसका बिरुवा किन्न थाले पछि व्यवसाय राम्रो भएको हो”, खनाल भन्छन्।

अहिले उनी कहाँ देशका विभिन्न भागबाट किसान तथा सरकारीरगैरसरकारी संघसंस्था घाँसको बिरुवा लिन आउँछन्। गत वर्ष घाँसका बेर्ना बेचेर रु।१५ लाख लिएका उनले यो वर्षको गर्मीमा पनि रु।१० लाखका बिरुवा बेचे। शुरूमा १७ रोपनी बारीमा घाँसका बिरुवा रोपेका उनले अहिले ७० रोपनी जमीन भाडामा लिएर खेती गरेका छन्। फाइदा राम्रो हुन थाले पछि उनले ५ रोपनी धान खेतमा पनि घाँस कै बेर्ना रोपेका छन्। “धान रोपेको भए दुई महीना छाक टार्न मुश्किल पर्थ्यो, घाँसबाट रु।४ लाख आम्दानी हुन्छ”, खनाल भन्छन्।

ghasi
घाँस खेती गर्दा धान खेती जस्तो दुःख नहुने उनको भनाइ छ। गोडमेल र सिंचाइ कम भए पुग्ने र एकपटक रोपे पछि मल र केही चिस्यान दिने हो भने उत्पादन गतिलो हुने उनी बताउँछन्। २०५६ देखि खनाललाई घाँस खेती गर्न सघाएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख बाबुराम जमर कट्टेल खनाललाई मुलुक कै नमूना कृषक भन्न रुचाउँछन्।

“उहाँको फर्ममा जस्तो घाँस खेती नेपालमा कसैको छैन”, कट्टेल भन्छन्, “अवलोकन भ्रमण र वेर्ना खरीद गर्न उनी कहाँ घुईंचो लाग्ने कारण त्यही हो।” खनालले उत्पादन गरेका घाँसका बिरुवा झापा देखि डडेलधुरा सम्म पुगेको पनि उनी बताउँछन्। कृषि मन्त्रालयबाट उत्कृष्ट कृषक पुरस्कार पाएका उनको व्यवसाय सफल हुन थाले पछि वैदेशिक रोजगारीमा मलेशिया गएका उनका छोरा विनोद फर्केका छन्। “घाँसबाट कमाइ होला भन्ने नलागेर मलेशिया गएको थिएँ” विनोद भन्छन्, “त्यहाँ भन्दा यहीं धेरै कमाइ हुने देखेर फर्किएँ।” विनोदका तीन दाजु भाइ पनि घाँस खेती गर्न बुवालाई सघाइरहेका छन्।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :