गाईपालकले पाउँछन् बर्सेनि लाखौं

यो समाचार 259 पटक पढिएको

लमजुङ, (पाउँदीबजार) ६ भदौं /३ वर्षदेखि व्यावसायिक रुपमा गाईपालन गर्दै आएका सुन्दरबजार नगरपालिका पाउँदीबजारका धु्रव पोख्रेल अहिले औसतमा दैनिक ६ हजार रुपैयाँ कमाउँछन्। सुन्दरबजारकै अर्का गाईपालक मुरारीकृष्ण रेग्मीको दैनिक आम्दानी पनि औसतमा ३३ सय रुपैयाँ पुगेको छ।


yak cow 2उनीहरुमध्ये पोख्रेलको मासिक आम्दानी १ लाख ८० हजार र रेग्मीको ९९ हजार रुपैयाँ पुग्न जान्छ। गाईको गोठ सफाइ, कुँडोपानी, घाँसपात, दाना चोकर खुवाउने, घाँस काट्ने, दुध दुहुने र दुध बिक्री गर्ने गरेरै उनीहरुको दैनिकी बित्दै आएको छ।

२०६९ देखि झण्डै ३० लाख रुपैयाँको लगानीमा गाईपालन व्यवसाय सुरु गरेका पोखे्रलको गोठमा अहिले होलस्टिन, क्रस होलस्टिन र जर्सी क्रस जातका ३८ वटा गाई छन्। तीमध्ये १४ वटा दुहुना र बाँकी कुनै ब्याउने र कुनै भर्खरका कोरली (हुर्काउला) छन्। आफ्नो फर्मबाट दैनिक २ सय लिटर दुध उत्पादन हुने भए पनि डेढसय देखि १ सय ६० लिटरसम्म दुध बिक्री गरी दिनहुँ ६ हजार रुपैयाँ आम्दानी गर्दै आएको पोख्रेल बताउँछन्। दिनहुँ औसतमा प्रतिलिटर ४० रुपैयाँका दरले कम्तिमा उनको मासिक आम्दानी १ लाख ८० हजार र वार्षिक आम्दानी २१ लाख ६० हजार रुपैयाँ पुगेको छ। यद्यपि आम्दानी रकम घटबढ भइरहने पनि उनी बताउँछन्।

जगतमाया गाई फर्म सञ्चालक पोख्रेल भन्छन्,’केही गर्न चाह्यो र मन लगाएर गर्योर भने धेरथोर कमाइ भइहाल्छ तर हातमा माटो लाग्ला कि, लुगामा मैलो लाग्ला कि भनेर बस्ने हाम्रो परिपाटी बसेको छ।’ गाईलाई खुवाउन दाना, ढुटो, चोकर खरिद गर्ने र घाँसको लागि वरिपरि ३० रोपनी जग्गामा परम्परागत र विकासे घाँस लगाएको पोख्रेलले बताए। बिहान ५ बज्दा–नबज्दै सुरु हुने गोठको धन्दा राति १० बजेसम्म पनि सकिदैन। झट्ट अरुले हेर्दा गोठाले जिन्दगी बिताएको सोच्ने प्रवृत्ति समाजमा रहेको भए पनि आफूले केवल कमाइका लागि भन्दा पनि स्वदेशमै बसेर पनि परिवार र देशका लागि केही गर्न सकिन्छ भन्ने सोचले गाईपालन सुरु गरेको उनी बताउँछन्। फर्मबाट परिवारका ४ र ज्यालादारीमा २ गरी ६ जनाले राम्रै रोजगारी पाएका छन्।

पछिल्लो समयमा उनको फर्म पशुपालन व्यवसाय गर्न चाहनेका लागि अवलोकन गर्ने थलो बनेको छ। नयाँ व्यवसाय गर्न चाहनेलाई आफूले जानेका सीप र भोगेका अनुभव उनले बाँड्दै पनि आएका छन्। गाईपालनमा कमाइ राम्रो देखिए पनि ठूलो लगानी गर्नुपर्ने, बेलाबखत गाईहरु बिमारी हुने, समयमै औषधि उपचार र पशु प्राविधिक नपाइनेजस्ता समस्या रहेको उनी बताउँछन्। कृषकका लागि सरकारी सेवा सुविधा व्यवहारमा कम र कागजमा बढी भएको गुनासो पनि पोख्रेल गर्छन्। स्थानीय उत्पादनलाई उपभोक्ताले खासै चासो नदिएको र उत्पादनको प्रवर्द्धन गर्ने खालका सरकारी पहल पनि नभएको उनी बताउँछन्।

सुन्दरबजारकै अर्का गाईपालक कृषक मुरारीकृष्ण रेग्मीले पनि गाईपालनबाट राम्रै आम्दानी गर्दै आएका छन्। उनको गत आर्थिक वर्षको औसत कमाई मासिक ९९ हजार र वार्षिक ११ लाख ८८ हजार रुपैयाँ देखिएको छ। उनको गोठमा अहिले ७ वटा दुहुनासहित १७ वटा गाई छन्। तीमध्ये अधिकांश त ब्याउने अवस्थाका छन्। आउँदो वर्ष आफ्नो आम्दानी झनै राम्रो हुने अनुमान उनले गरेका छन्।

दैनिक ६० लिटर दुध उत्पादन गर्ने रेग्मीले डेरीमा हैन शुद्ध र ताजा दुध खुवाउने भन्दै घर–घरै पुर्याकउँदै आएका छन्। सुन्दरबजार, खत्रीठाँटी, भोटेओडार, पाउँदी क्षेत्रमा उनको दुधको माग राम्रो छ। प्रतिलिटर होलसेलमा ५५ र खुद्रामा ६० रुपैयाँका दरले दुध बिक्री हुने उनले बताए। ‘ल्याक्टो, फ्याट काट्ने हुँदैन, दुहेर सिधै ग्राहकसम्म पुर्याुइदिन्छु,’ रेग्मी बताउँछन्, ‘खानेहरुले राम्रो मानिरहेकै छन्।’ फर्ममा उनकै परिवार खट्दै आएको छ।

गाईपालनमा प्राविधिक ज्ञानको कमी र सरकारी सेवा सुविधाबारे उत्तिसाह्रै थाहा नहुँदा व्यवसाय गर्न केही कठिनाइ हुने गरेको उनी बताउँछन्। वर्षमा ३/४ पटक नाम्ले, माटेको औषधि खुवाउनु पर्ने, थुनेलो र अन्य समस्यामा ध्यान दिनुपर्नेमा भने उनले राम्रै बुझेका छन्। फर्ममा काम गर्दै सिक्दै गरेको बताउने रेग्मी कृषकलाई सरकारले दिएको कार्यक्रम, सेवा तथा सहुलियतमा राजनीतिक दल र कर्मचारीहरुबाटै पूर्वाग्राही व्यवहार हुने गरेको बताए। वास्तविक कृषकभन्दा बोलवालाले नै अवसर छोप्ने गरेको उनको गुनासो छ। यी दुई फर्महरु आम्दानीका हिसाबले राम्रै रहेको र आफ्नो कार्यालयका तर्फबाट पनि सक्दो सहयोग गर्दै आएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख डाक्टर दीर्घनाथ ढुंगानाले बताए। पछिल्लो समयमा पशुपालन गर्नेहरु बढ्दै गएको र पशु सेवा कार्यालयसँग नियमित सम्पर्क गरी सल्लाह सुझाव लिने, व्यवसायमा निरन्तरता दिएर खट्न सक्नेलाई यो राम्रो आम्दानीको स्रोत भएको उनी बताउँछन्।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :