खाद्यान्न संकट हुने खतरा छ : धान बिज्ञ बस्नेत /संवाद

यो समाचार 379 पटक पढिएको

नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा कृषि क्षेत्रको ३४ प्रतिशत योगदान छ भने त्यसमा धानको २१ प्रतिशत योगदान छ । मुख्य खाद्यान्नका रूपमा धानबालीलाई लिने गरिन्छ । मुलुकमा वार्षिक १ खर्बबराबरको धान उत्पादन हुने गर्छ । यो वर्ष समयमा वर्षा नहुँदा तराईका धेरै खेतीयोग्य जिल्लाका १८ प्रतिशत खेत अझै बाँझै रहेका छन् । सो कारणले खाद्यान्न उत्पादनमा कमी आउने देखिएको छ । धान उत्पादनको पकेट मानिएका तराईका आठ जिल्लामा रोपाई नहुँदा १२ अर्ब रुपैयाँको धान उत्पादन कम हुने प्रक्षेपण गरिएको छ । सिँचाइ सुविधाको अभावले बर्सेनि तराईका उत्पादनयोग्य जमिन बाँझै रहने गर्छ । जसको कारणले खेतीयोग्य जग्गामा यो वर्ष पनि खाद्यान्न उत्पादनमा कमी आउने देखिन्छ । सिँचाइ सुविधाको अभावले बर्सेनि तराईका धेरै जिल्ला बाँझै रहने गर्छ । अझै पनि ४० प्रतिशत क्षेत्रमा सिँचाइ सुविधा पुगेको छैन । अकासे पानीको भर पर्नुपर्ने जिल्लामा समयमा वर्षा नहुँदा बाँझै रहने गर्छन् । यो वर्ष पनि तराईका धेरै जिल्लामा बाँझै छन् । यिनै विषयमा केन्द्रित रहेर तिन दशकभन्दा धेरै कृषि अनुसन्धान र धानबालीमा अध्ययन अनुसन्धान गदै आएका धानबाली एवं बालीविज्ञ भोलामानसिंह बस्नेतसँग लक्ष्मी सापकोटाले गरेको संवाद :

० समयमा धान रोपाइँ नहुँदा खाद्यान्न उत्पादनमा कस्तो असर पर्छ ?

– यो वर्ष मात्र होइन विगतका आठ/दस वर्षलाई समीक्षा गर्ने हो भने वर्षा जुन १० देखि सुरु हुने गरेतापनि अहिले घटेर सेप्टेम्बर २३ पछि मात्र वर्षा सक्रिय हुने गरेको छ । जसका कारणले गर्दा पनि धान रोपाइँमा ढिलाइ हुने गरेको छ । समयमा धान रोपाइँ नहुँदा उत्पादनमा ५० प्रतिशतसम्म कमी हुने देखिन्छ । विश्वमा जलवायु परिवर्तको असरले वर्षा नियमित हुन सकेको छैन । मनसुन सक्रिय नहुँदा यो वर्ष पनि तराईका धेरै जिल्लामा पर्याप्त रोपाइँ हुन सकेको छैन । यसले खाद्यान्न उत्पादनमा कमी आउने देखिन्छ । विशेष गरी बिउ राखेको २५ देखि ३० दिनको बेर्ना रोप्नुपर्ने हुन्छ । तर, मनसुन सक्रिय नहुँदा बिउ राखेको डेढ महिनासम्म पनि रोपाइँ हुन सकेको छैन । जसका कारणले गर्दा उत्पादनमा उल्लेख्य कमी आउने देखिन्छ । पछिल्लो २० वर्षको अवधिमा १२ वर्ष वर्षा ढिलो गरी भएको छ । जलवायु परिर्वतनका कारणले गर्दा मनसुन सक्रिय क्रमिक रूपमा ढिलो हुँदै गएको छ । उच्च पहाडमा जेठभित्र, मध्य पहाडमा असारभित्रमा, तराई र भित्री मधेसमा साउन अन्तिमसम्म रोपाइँ गरिसक्नुपर्छ । भदौ लाग्दा पनि अझै तराईका धेरै जमिनमा धान रोपाइँ भएको छैन । जसका कारणले खाद्यान्न उत्पादनमा उलेख्य कमी आउने देखिन्छ ।

० सिँचाइ सुविधा नपुग्ने ठाउँमा के कस्ता वैकिल्पक व्यवस्था गर्न सकिन्छ ?

– धेरै खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन । अधिकांश जमिन अकासे पानीको भर पर्नुपर्ने अवस्था छ । जसका कारणले गर्दा पनि कम पानीमा पनि धेरै उत्पादन हुने खडेरी सहन सक्ने धानका जात लगाउन सकिन्छ । सुक्खा धान १ देखि ६ सम्मका जात सिफारिस भइसकेका छन् । खडेरी जुनसुकै बेला हुन सक्ने हुँदा विन्देश्वरी, जानकी, तरहरा एक, हर्दिनाथ २, राधा ४ , ७, ११, १२ जात किसानले लगाउँदा उपयुक्त हुन्छ । सिँचाइ सुविधा नपुग्ने ठाउँमा सतह सिँचाइ, भूमिगत पानी तान्ने, स्यालो टुवेल, वाटर हार्भेस्टिङ (वर्षाको पानी संकलन) गर्न सकिन्छ । प्रविधितर्फ एउटै किसिमको धानको जात धुले र हिले ब्याडमा बेर्ना राख्न सकिन्छ । खडेरी प¥यो भने धुलोमा राखेको बेर्नाले धेरै उत्पादन हुने गर्छ । सैद्धान्तिक रूपमा एक केजी धान उत्पादन गर्न ३ हजार देखि पाँच हजार लिटर पानी आवश्यक पर्छ । साढे तिन अर्ब जनताको मुख्य खाद्यान्न धान रहेको छ । एसियामा धानको उत्पादन र खपत ९० प्रतिशतभन्दा धेरै हुन्छ । सबैभन्दा बढी धान उत्पादन गर्ने देशमा चीन र दोस्रोमा भारत रहेको छ । कम पानीमा धेरै धान फलाउन प्रविधि आवश्यक पर्छ । त्यो सँगै धानलाई सीधै छरेर खेती गर्न सकिन्छ । धानखेतीको सघनीकरण (एसआरआई) प्रविधिबाट पनि धान उत्पादन गर्न सकिन्छ । वर्षभरि सिँचाइ सुविधा २५ देखि ३० प्रतिशत जमिनमा मात्र हुन्छ । धानको उत्पादनले जीडीपीलाई तलमाथि पार्ने हुँदा सिँचाइ सुविधा नपुग्ने स्थानमा वैकल्पिक व्यवस्था गर्नुपर्छ ।

० आउँदो २५ अर्बको धान उत्पादन कम हुने अनुमान गरिएको छ । यसले कस्तो असर पार्छ ?

– नेपालमा प्रति वर्ष प्रतिव्यक्ति १ सय ९१ किलो खाद्यान्न आवश्यक पर्छ । जसमा ९० केजी चामल, ४५ मकै, ४५ गहुँ र ११ किलो अन्य (कोदो जौ, फापर) हुनुपर्छ । सबैभन्दा धेरै ०६८/६९ मा ५० लाख ७२ हजार मेट्रिक टन धान उत्पादन भएको छ । त्यस अवधिमा पनि खाद्यान्न आयात भएको थियो । खानेबानीमा परिवर्तन नहुँदा बर्सेनि खाद्यान्न अभाव हुने गरेको छ । भात खाने बानीका कारणले गर्दा पनि मुलुकमा बर्सेनि खाद्यान्न अभाव हुने गर्छ । संसारमा उत्पादन भएको एक तिहाइ खाद्यान्न नष्ट हुने गर्छ । खेर पाल्ने प्रवृत्तिलाई रोक्दै जानुपर्छ, गर्न ।

यो वर्ष धान उत्पादन पर्याप्त नहुँदा खाद्य संकट हुने देखिन्छ । २५ अर्बको धान उत्पादन कम हुने अनुमान गरिएको छ । नेपालमा कम उत्पादन हुँदा भारतमा पनि असर पर्ने गर्छ । देशलाई खाद्यान्नमा आत्मनिर्भर बन्न उत्पादनमा विशेष जोड दिनुपर्छ । कुल खाद्यान्नमा धानले ५० प्रतिशत योगदान पु¥याएको छ । बाँच्नका लागि अरू देशको मुख ताक्ने प्रवृत्तिलाई परित्याग गरी देशलाई आत्मनिर्भर बनाउने रणनीति बनाउनुपर्छ ।

उत्पादन बढाउने नीति नियमन बनाउने गरिन्छ तर कार्यान्वयन हुँदैन । जसका कारणले गर्दा पनि उत्पादन वृद्धि गर्न सकिएको छैन । चालु आर्थिक वर्षको बजेटमार्फत तिन वर्षमा सञ्चित खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउनुपर्ने घोषणा गरिएको छ । त्यसलाई कार्यान्वन गर्दैै लैजानुपर्छ । सिँचाइमा लगानी बढाउनुप¥यो । कृषि र सिँचाइ मन्त्रालयको समन्य गरेर सिँचाइ सुविधा विस्तार गदै जानुपर्छ । ।

० मुलुकमा धानको उत्पादकत्व कति छ ?

– नेपालमा धानको उत्पादकत्व प्रतिहेक्टर तिन दशमलव चार टन रहेको छ । धानको उत्पादकत्व कम रहेकाले पनि बढाउन अति आवश्यक छ । एसियामा प्रतिहेक्टरमा चार टन उत्पादकत्व रहेको छ । सबैभन्दा धेरै जापान र चीनमा प्रतिहेक्टर ६ टन उत्पाकत्व रहेको, मुलुकमा धानको उत्पादकत्व बढाउने उन्नत जात, खेती गर्ने तरिका, कृषि सामग्री (मल, बिउ, कृषि ऋण) मा जोड दिनुपर्छ । खाद्यान्नको उत्पादकत्व वृद्धि गर्न कृषि अनुसन्धान र प्रविधिमा जोड दिनुपर्छ । परम्परागत खेती प्रणालीको आधुनिकीकरण र व्यवसायीकरण गर्न अति जरुरी छ । उत्पादन परान्त प्रविधि (पोस्टहार्भेस्टिङ) बाट पनि उत्पादकत्व बढाउन सकिन्छ ।

० मुलुकमा खाद्यान्नको आवश्यकता कति हो ?

– २ करोड ८० लाख जनसंख्यालाई वर्षमा ५४ लाख मेट्रिक टन खाद्यान्न आवश्यक पर्छ । नेपालमा २५ वर्षको अवधिलाई हेर्ने हो भने १४ वर्ष खाद्यान्न अपुग भएको थियो । बाँकी ११ वर्ष मात्र खाद्यान्न पर्याप्त रहेको थियो । भात खाने बानीको कारणले गर्दा खाद्यान्न अभाव हुने गरेको छ । तिन/चार वर्षको अवधिमा नेपालको उत्पादन हेर्दा आवश्यकताभन्दा बढी भई बचत रहेको देखिन्छ । विभिन्न जिल्लामा खाद्य संकट भने कायम छ । यस अवधिमा अर्बांै रुपैयाँको खाद्यान्न आयात भएको छ । तथ्यांकले खाद्यान्न बचत रहेको देखाए पनि खानेबानीमा परिवर्तन नहुँदा बर्सेनि खाद्यान्न अभाव हुने गरेको छ । चामलसँगै गहुँ, मकै, जौ र फापरलाई सन्तुलन गरेर उपभोग गर्नुपर्छ ।

० खाद्यान्न उत्पादन वृद्धि गर्न के गर्नुपर्ला ?

– विश्वमा कृषि क्षेत्रमा १९६६ मा हरित क्रान्ति आयो । यसले उन्नत तथा विकासे बिउ, रासायनिक मल र विषादीलाई जोड दियो । हरित क्रान्ति आउनुभन्दा पहिला विश्वको खाद्यान्न उत्पादन ६ सय ३१ मिलियन टन थियो अहिले आएर खाद्यान्न उत्पादन बढेर २५ सय मिलियन टन पुगको छ । नेपालमा खाद्यान्न उत्पादन बढाउन धानको मिसन कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ । विश्वमा धानको उत्पादन बढाउन प्रकाश संश्लेषण प्रक्रियाबाट धानलाई सी–३ पद्धतिबाट सी–४ मा लैजान वैज्ञानिकहरू लागिरहेका छन् । यो पद्धति सफल भए धानको उत्पादनमा ३० देखि ५० प्रतिशत उत्पादन वृद्धि हुन सक्ने अध्ययनले देखाएको छ । धानलाई राष्ट्रिय गौरवको आयोजनामा राख्नुपर्छ । सन् २००८ मा विश्वमा खाद्य संकट भएको थियो । त्यसबेला भारतले मोटो धान, चामल र गहुँ चार वर्षसम्म निर्यात गर्न प्रतिबन्ध लगाएको छ । मुलुकमा धानको उत्पादन बढाउन उच्चस्तरीय राष्ट्रिय खाद्य सुरक्षा मिसन अर्थात धान मिसन कार्यक्रम चलाउनुपर्छ । सम्बन्धित क्षेत्रका विज्ञलाई परिचालन गरेर गर्नुपर्छ । अहिले तराईका आठ जिल्ला (सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा) मा धान संकट हुने देखिएको छ । यी आठ जिल्लामा मात्र नभएर देशैभरी संकट भएको हो । खाद्यान्न संकट हुने देखिएपछि सरकारले समयमै विशेष ध्यान दिनुपर्छ । सिँचाइ सुविधा नपुग्ने ठाउँमा सतह सिँचाइ, भूमिगत पानीलाई तानेर पनि सिँचाइ सुविधा विस्तार गर्न सकिन्छ ।

वाटर हार्भेस्टिङ (वर्षाको पानी जम्मा गर्ने), अन्तर्राष्ट्रिय मुुलुकमा धानमा पनि थोपा सिँचाइ सुरु भएको छ । केही समयपछि जुन प्रविधि नेपालम पनि प्रयोग गर्न सकिन्छ । गत वर्षदेखि मसिना तथा बास्नादार धान खेती गरिँदै आएको छ । यो वर्षदेखि तराईका विभिन्न १२ जिल्लामा बृहत्तर धान उत्पादन कार्यक्रम सञ्चालन हुन लागेको छ । यसले उत्पादनमा सहयोग पु¥याउनेछ ।

उत्पादन बढाउन परम्परागत जात र उन्नत प्रविधिलाई विशेष जोड दिइनपर्छ । अन्तर्राष्ट्रिय धानबाली अनुसन्धान केन्दं्र (यिरी) का अनुसार संसारमा एक लाख ४० हजार रैथाने जातका धान छन् । एक लाख १७ हजार जिन बैंकमा संरक्षण गरी राखिएको छ । नेपालबाट लगेर हजाराँै संख्यामा बिउ संरक्षण गरी राखिएको छ । नेपालमा १४ दखि १५ लाख हेक्टरमा धान खेती गरिँदै आएकामा १३ प्रतिशत विकासे धानका जात लगाइने गरिन्छ । उत्पादन वृद्धि गर्नका लागि चैत धान, भदैया, हिउँदे (बोरो) धान समेत लगाउन सकिन्छ । बर्खे धानको तुलनामा चैतै धानको उत्पादन प्रतिहेक्टरमा २० देखि २५ प्रतिशतले वृद्धि हुने गर्छ । तराई र भित्री मधेसमा लगाइने चैतै धानलाई विस्तार गर्न सके उत्पादन वृद्धि गर्न सकिन्छ ।

० अहिले मुख्य रूपमा कस्ता–कस्ता धानका जात लगाउने गरिन्छ ?

– अहिलेसम्म धानका १ सय चार जात अनुसन्धान भई सिफारिस भइसकेका छन् । जसमा १२ ओटा जात प्रयोगमा छैनन् । कृषि अनुसन्धान परिषद् (नार्क) ले हापानी अनुकूल हुने धानका जात सिफारिस गरी किसानसमक्ष पठाएको छ । खडेरी र डुबान सहन सक्ने धानका जात सिफारिस गरिएको छ । खडेरी सहन सक्नेमा सुक्खा १ देखि सुक्खा ६ सम्मका धानका जात सिफारिस गरिएको छ । सहन सक्नेमा डुबान सहनेमा स्वर्णा सब १ अनुसन्धान गरिएको छ । त्यस्तै अन्य जातमा विन्देश्वरी, जानकी, तरहरा १, राधा ४, राधा ७ , राधा ११ र १२ रहेका छन् । नार्कले अनुसन्धान गरेका धानका जातको प्रतिहेक्टर उत्पादन चारदेखि पाँच टन हुने गर्छ ।

० आयात प्रतिस्थापन गर्न के गर्नुपर्ला ?

– दुःखको कुरा कृषिप्रधान देश भनिए पनि स्थानीय माग पूरा गर्न अर्बांै रुपैयाँको खाद्यान्न आयात गर्नुपरेको छ । खाद्यान्नको आयात प्रतिस्थापन गर्न गम्भीरतापूर्वक कार्यक्रम रणनीति बनाएर लाग्नुपर्छ । सिञ्चित क्षेत्र बढाउनुपर्छ । उन्नत जातका साथै खेती गर्ने तरिका अपनाएर जानुपर्छ । कृषि क्षेत्रको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिनुपर्छ । भूपयोग ऐन नियम कार्यान्वयनमा ल्याउनुपर्छ । कृषि क्षेत्रमा काम गर्ने जनशक्ति अभाव भइरहेका बेला युवालाई आकर्षण गर्ने कार्यक्रम सञ्चालन गर्नुपर्छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :