साढे २ करोडको ‘सेक्स सिमेन’ खरिद गरिँदै

यो समाचार 267 पटक पढिएको

काठमाडौं, २ भदौ / पहाडी ६ जिल्लाका लागि चालू आर्थिक वर्षमा साढे २ करोड रुपैयाँको सेक्स सिमेन खरिद गरिने भएको छ । खरिद गरिने सेक्स सिमेनमध्ये जर्सी गाईका लागि ५० लाख र बोयर बोकाको सिमेन खरिदका लागि २ करोड लगानी गरिन लागेको हो ।

Sex Seimenकिसानलाई उन्नत बीउमा आत्मनिर्भर बनाउन लागिएको किसानका लागि ‘उन्नत बीउबिजन’ कार्यक्रमअन्तर्गत सेक्स सिमेन खरिद गर्न लागिएको हो । अर्घाखाँची, गुल्मी, प्युठान, रोल्पा, सल्यान र रुकुममा सञ्चालित कार्यक्रमअन्तर्गत यो आव आव ०७२।७३ मा जर्सी गाईको सेक्स सिमेन १ हजार डोज र बोयर बोकाको सिमेन १० हजार डोज खरिद गर्न लागिएको कृषि विकास मन्त्रालय, किसानका लागि उन्नत बीउबिजन कार्यक्रम व्यवस्थापन कार्यालय रुपन्देही प्रमुख लक्ष्मणप्रसाद पौडेलले जानकारी दिए ।

उनका अनुसार पशुपालनकै क्षेत्रमा यस कार्यालयले यस आर्थिक वर्षमा बोयर नश्लको बोका ५० वटा आयात गर्ने भएको छ । जसका लागि १ करोड ५० लाख रुपैयाँ पर्ने कार्यालयले जनाएको छ । कृषि विकास मन्त्रालय, किसानका लागि उन्नत बीउबिजन कार्यक्रम, कार्यक्रम व्यवस्थापन कार्यालय रुपन्देहीका पशु विकास संयोजक डाक्टर श्रीरामप्रसाद न्यौपानेले जर्सी गाईको सेक्स सिमेन र बोयर बोकाको सिमेन खरिद प्रक्रिया अगाडि बढाउन तयारी थालिने बताए । उन्नत खालको युरोप तथा अन्य मुलुकमा पाइने भएकाले त्यतैबाट खरिद गर्न सकिने उनको भनाइ छ ।

बोकाको सिमेनभन्दा जर्सी गाईको सेक्स सिमेन केही बढी महँगो पर्छ । बोकाको एक डोजलाई २ हजार पर्ने भए पनि गाईका लागि ५ हजार पर्छ । न्यौपानले भने, ‘गाईको सेक्स सिमेनले बाच्छी जन्माउने सम्भावना बढी हुने भएकाले केही बढी महँगो पर्छ ।’ कार्यक्रमअन्तर्गत औपचारिक रूपमा बीउबिजन क्षेत्र विस्तार, साना पशुपालकको व्यावसायीकरण, स्थानीय उद्यमशीलता तथा संस्थागत विकास र व्यवस्थापनसम्बन्धी काम हुँदै आएको छ ।

त्यस्तै मूल बीउ उत्पादनका निम्ति नेपाल कृषि अनुसन्धान केन्द्र तथा सरकारी फार्मको क्षमता बढाएर स्रोत बीउको उपलब्धता बढाइने कार्यक्रम प्रमुख पौडेलको भनाइ छ । खाद्यान्य तथा तरकारी बीउ उत्पादनमा संलग्न कृषकका अलवा पशुपालकका लागि पनि करोडौँका कार्यक्रम कार्यालयले सञ्चालन गरिरहेको छ । कार्यालयले यसै आवमा पशु उत्पादन एवं व्यावसायमा संलग्न कृषक समूह सहकारीलाई २ करोड ४० लाखबराबरको अनुदान सहयोग गर्ने भएको छ । सन् २०१२ डिसेम्बरदेखि सुरु भएको झन्डै ५ अर्बको कार्यक्रम सन् २०१९ सम्म सञ्चालन गरिनेछ ।

सोही अवधिमा कम्तीमा १५ वटा स्थानीय पशु संकलन केन्द्र तथा बजार र २५ वटा चिलिङ सेन्टर स्थापना गरिनेछ । उनका अनुसार ६० प्रतिशत दूधसँग सम्बन्धित तथा २५ प्रतिशत बाख्रापालन समूह बजारीकरणमा संलग्न हुनेछन् । १३ सय ४६ मेट्रिकटन मासु र ८५ हजार ९ सय ३० लिटर दूध अतिरिक्त उत्पादन हुने अपेक्षा कार्यक्रमले लिएको छ । त्यसका लागि ५ सय ५० दुग्धजन्य तथा बाख्रापालन समूहलाई सहयोग गरिनेछ ।
नश्ल सुधार कार्यक्रममार्फत कार्यक्रम क्षेत्रका कम्तीमा ८ सय ५ कृषक घरधुरीले उन्नत नश्लका पशुपालन गर्नेछन् । त्यस्तै ५ सय ५ पशु तथा बाख्रापालक कृषकले व्यावसाय सञ्चालन गर्नेछन् भने कम्तीमा ८ सय ५ दुधालु पशुलाई नियमित खोप प्रदान गरिनेछ ।

कार्यालयका पशु विकास संयोजक डा. न्यौपाने कार्यक्रम सुरु भइसकेपछि पशुपालन क्षेत्रमा देखिनेगरी प्रगति भएको दाबी गर्छन् । सोही कारण किसानको जीवनस्तरमा परिवर्तन आउन थालेको उनको भनाइ छ । ६ सयवटा गाईमा कृत्रिम गर्भाधान सम्पन्न गरिएको तथा ६ वटा राँगो वितरण गरिएको उनी बताउँछन् । त्यस्तै, गुल्मी र अर्घाखाँचीमा ४ वटा बाख्रा प्रजनन केन्द्र पकेट क्षेत्र छनोट, ६ वटै जिल्लामा डेरी पकेट म्यापिङ तथा गाविस छनोट सम्पन्न भइसकेको छ ।

कार्यक्रममा बीउबिजन क्षेत्रमा ३९ प्रतिशत बजेट छट्याइएको छ भने साना पशुपालकको व्यावसायीकरणमा ३४ दशमलव ३ प्रतिशत बजेट छुट्याइएको छ । सोही अवधिमा १ लाख ५० हजार घरधुरी लाभान्वित हुनेछन् । त्यसमध्ये साना पशुपालक ५५ हजार घरधुरी रहने कार्यालयले जनाएको छ । परियोजनाको कूल लागत ४ अर्ब ७८ करोड छ । हालसम्म २७ प्रतिशत प्रगति भएको कार्यक्रमअन्तर्गत आव ०७२।७३ का लागि ४७ करोड बजेट विनियोजन भएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :