निर्माणाधीन सिँचाइ आयोजना अलपत्र

यो समाचार 229 पटक पढिएको

काभ्रे, ३२ साउन / १२ वर्षअघि सुरु भएको इन्द्रावती खोलानजिकै निर्माणाधीन सिँचाइ आयोजना अहिलेसम्म अलपत्र अवस्थामा छ ।

Irrigationआयोजना निर्माणका लागि स्थानीयले चासो दिँदासमेत सरकारवालाको ध्यान नजाँदा महादेवस्थान गाविस वडा–७, ८ र ९ का १२ सय घरधुरी कृषकको करिब १० हजार रोपनी खेतीयोग्य जमिन अहिले मरुभूमिमा परिणत भएको छ । क्रसरवालाको बलमिच्याइँ र प्रशासनको बेवास्ताका कारण आयोजना निर्माणले गति लिन नसकेको हो । करिब १ करोड ९० लाखमा निर्माण गर्न लागिएको सिँचाइ योजना अहिले अलपत्र अवस्थामा रहेको छ । संसदीय विकास कोषबाट सभासद् विदुर सापकोटाले सिँचाइका लागि २० लाख रुपैयाँबराबरको पाइप किनिदिएका थिए ।

इन्द्रावती वातावरण सरोकार केन्द्रका उपाध्यक्ष शम्भुप्रसाद फुँयाल वर्षौंदेखि दातालाई आग्रह गरेपछि निर्माणको तयारीमा रहेका बेला गतवर्ष पानीले बगाएपछि अन्योलमा परेको बताउँछन् । ‘आयोजना बनिनसक्दै नदीले कटान गरेको छ । स्थानीय र दाताको सहयोगमा निर्माण हुन लागे पनि क्रसर उद्योग र नदी कटानका कारण आयोजना निर्माण हुन सकेन,’ उनले भने । पटकपटक उपभोक्ताले आयोजना बचाउ गर्न सरकारी निकायमा धाउँदा पनि बेवास्ता भएको र क्रसर बन्द गराउन निवेदन दिँदासमेत निवेदन दर्ता नगरी गायब पारिएको गुनासो उनको छ ।

स्थानीय श्यामकृष्ण लम्सालले आयोजना बनाउँदै गए पनि क्रसरवालाले सिँचाइको निर्माणाधीन ट्यांकीमा खोलो लगाएपछि बगाएर लगेको बताए । ‘क्रसर उद्योगीसँग पैसा र पहुँच छ, कसैले कारबाही गर्न सक्दैनन्,’ उनले गुनासो पोखे । आयोजना निर्माणको अन्तिम विकल्पस्वरूप अख्तियार दुरुपयोग अनुसन्धान गुहार्ने अवस्थामा पुगेको गौरीबिसौना देउपुरका अर्जुन चौलागाईंले बताए । क्रसर उद्योगका कारण हजाराँै रोपनी जग्गा बगरमा परिणत हुँदा पनि सरकारी निकायले बेवास्ता गरेको उनको गुनासो छ । प्रमुख जिल्ला अधिकारी सुदर्शन ढकालले छिटै क्रसर र सिँचाइ आयोजना निर्माण गरिने जानकारी दिए । स्थानीयको गुनासो सम्बोधन गर्न तत्काल अनुगमन गरी दोषीमाथि कारबाहीको प्रतिबद्धता जनाए पनि अहिलेसम्म उनले प्रक्रिया सुरु गरेका छैनन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :