उखुबाली अनुसन्धान केन्द्र विस्थापनको खतरामा

यो समाचार 292 पटक पढिएको

सिमरा, ३२ साउन/ मुलुकको एक मात्र उखुबाली अनुसन्धान केन्द्र विस्थापनको खतरामा परेको छ । बाराको जितपुरमा रहेको राष्ट्रिय उखुबाली अनुसन्धान केन्द्र औद्योगिक प्रदूषणका कारण विस्थापनको खतरामा परेको हो ।

Sugarcane, Newsagrocomसन् १९७१ मा स्थापना भएको उखुबाली अनुसन्धान केन्द्रले नेपालमा उखुबालीबारे अध्ययन अनुसन्धान गर्दै आएको छ । उखु कृषकलगायत सरोकारवालालाई प्रशिक्षण तथा बीउबिजन उत्पादनका लागि स्थापना भएको केन्द्रले मुलुकभरका लागि काम गर्दै आएको छ । सरकारले अनुसन्धान केन्द्रसँगै ठूला उद्योग खोल्ने अनुमति दिएका कारण उद्योगबाट निस्कने प्रदूषणले गर्दा केही वर्षयता अनुसन्धान कार्य प्रभावित बनेको केन्द्रका प्रमुख वरिष्ठ वैज्ञानिक तुफेल अन्सारीले बताए । अहिले उखुबाली अनुसन्धान केन्द्रसँगै खुल्न लागेको सिमेन्ट कारखानाले केन्द्र विस्थापन हुने खतरा बढेको अन्सारीको भनाइ छ । ‘अहिले भएकै उद्योगले समस्या पारेका छन्, सिमेन्ट उद्योग सञ्चालनमा आएपछि अन्तै सर्नुको विकल्प छैन,’ उनले भने ।

उखुबाली अनुसन्धान केन्द्रको जग्गासँगै जोडिएर पूर्वपट्टि रिलायन्स सुपरटेक सिमेन्ट उद्योगले केही महिनाभित्रै उत्पादन सुरु गर्नेगरी काम थालेको छ । राष्ट्रिय उखुबाली अनुसन्धान केन्द्रको उत्तरतर्फ रहेको केबी साम आल्मुनियम उद्योगले प्रशोधन नगरिएको पानी फाल्न थालेपछि केन्द्रले झन्डै पाँच बिघा जग्गा बाँझै अवस्थामा राखेको छ । ‘बाँझो राखिएका सबै ठाउँमा पहिलेपहिले उखु रोप्थ्यौँ, उद्योगको पानीले बोट मर्न थालेपछि जमिन खाली राख्न बाध्य भएका हाँै,’ केन्द्रप्रमुख अन्सारीले भने । एक वर्षदेखि केन्द्रले जमिन प्रयोग गर्न छाडेको उनले बताए ।

केबी साम आल्मुनियम उद्योग र उखुबाली अनुसन्धान केन्द्रको बीचमा पर्ने करिब पाँच मिटर ऐलानी जमिनमा गढिमाई नगरपालिकाले नाला बनाउने अनुमति दिएपछि उद्योगले फोहर पानी बगाउन नाला बनाएको छ । तर नालाबाट पानी बगेर जाने व्यवस्था नहुँदा उद्योगबाट निक्लने केमिकलयुक्त पानी उखुबाली अनुसन्धान केन्द्रको जग्गामा पस्ने गरेको छ । उद्योगले पानी प्रशोधन गरी फ्याँक्ने प्लान्ट राख्ने प्रतिबद्धता ६ महिनाअघि गरेपनि अहिलेसम्म पूरा नभएको अन्सारीले जानकारी दिए ।
केन्द्रसँगै रहेको शिवशक्ति घिउ उद्योगका कारण केन्द्रको दैनिक कामकाज प्रभावित बनेको अन्सारीले बताए । उद्योगबाट निस्कने दुर्गन्ध र धुँवाले काम गर्नै नसक्ने अवस्था रहेको उनले दाबी गरे ।

‘केन्द्रको आवास क्षेत्रसँग जोडिएको घिउ उद्योगका कारण आवास सुविधा पाएका कर्मचारी अन्यत्र कोठा लिएर बस्न बाध्य छन् । सरकारले उपलब्ध गराएको ठाउँ छाडेर भाडा तिरेर अन्यत्र बस्नुपर्ने अवस्था छ,’ एक कर्मचारीले भने । औद्योगिक प्रदूषणका कारण केन्द्रलाई परेको वातावरणीय असरबारे जिल्ला प्रशासन कार्यालय बारा, गढिमाई नगरपालिका कार्यालय, नेपाल कृषि अनुसन्धान परिषद् र कृषि विकास मन्त्रालयसमेतमा पत्राचार गरिसकेको केन्द्रप्रमुख अन्सारीले बताए । ‘सबैलाई समस्याबारे जानकारी गराएको छु तर, कतैबाट सुनुवाइ भएन,’ उनले भने । ५१ बिघा क्षेत्रफल कुल भू–भाग ओगटेको उखुबाली अनुसन्धान केन्द्रले अहिले विभिन्न प्रजातिका उखु परीक्षण उत्पादन गर्दै आएको छ । उखुबाहेक धानको पनि प्रजनन परीक्षण उत्पादन गरिरहेको उनले जानकारी दिए । तर, ५१ बिघामध्ये २१ बिघा नेपाली सेनाले लिएपछि अहिले केन्द्रसँग ३० बिघा जमिनको स्वामित्व छ । केन्द्रले इजरायली थोपा सिँचाइ प्रविधिसमेत केन्द्रमा परीक्षण प्रयोग गरिरहेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :