नार्कमा कर्मचारी नियुक्त गर्न मन्त्रीकै परिबारको चलखेल

यो समाचार 385 पटक पढिएको

काठमाडौँ / मन्त्री तथा नेताका पत्नी, पुत्र तथा पिएले पदीय दुरुपयोग गरी रकम संकलनमा लागेको घटना यसअघि पनि नसुनिएका होइनन् । पछिल्लोपटक, सत्तासाझेदार प्रमुख दल नेकपा एमालेको उपाध्यक्षसमेत रहेका र तेस्रोपटक उपप्रधान तथा गृहमन्त्री बनेका वामदेव गौतमको नाममा पार्टी कार्यकर्ताबाटै रकम संकलनमा परिवार र उनका आसेपासे लागेकोमा कार्यकर्ता दुःखी भएका छन् ।


Nark Nepal Agricultural Research Council पिताको आडमा पुत्र हरिशदेव गौतम तथा पत्नी तुलसा थापा गौतमले यसअघि पनि विभिन्न सरुवा बढुवामा प्रत्यक्ष हात हालेको रकम संकलन गरेको कुरा सेलाउन नपाउँदै हरि पराजुलीलाई कृषिमन्त्रीबाट हटाइएपछि कृषि मन्त्रालय अन्तर्गतको चलखेलमा पनि वामदेव गौतमको परिवार संलग्न रहेको समाचार छ । केही महिनाअघि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) मा सहसचिवदेखि कार्यालय सहायकसम्म २ सय ७ कर्मचारीका लागि आवेदन मागिएको थियो । हरि पराजुली मन्त्री हुँदै मागिएको आवेदनमध्ये प्राविधिक सहायक पदमा आवेदकले कुनै लिखित परिक्षा नदिई सिधै अन्तरवार्ताबाट छनोट हुने मौका पाउनेछन् । उच्चतहका केही पदमा परीक्षा जारी भए पनि सहायकतहका मौखिक शुक्रबार सकिएको छ ।

तर सुरुमै पैसाको व्यापक चलखेल भएकाले परीक्षा निष्पक्ष हुन्छ भनेर आवदेन दिने हजारौँ परीक्षार्थी रित्तो हात लिएर फर्किनुपर्ने भएको छ, किनकी नार्कमा लिलाम बढाबढका आधारमा कर्मचारी भर्ना गर्ने कामको सेटिङ भइसकेको छ । यस काममा रोपाइँको बहानामा महिलामाथि अभद्र व्यवहार गरेर कृषिमन्त्रीबाट बर्खास्त पराजुली र स्वयम् गृहमन्त्री गौतमपत्नी तुलसा थापा नै लागेको बताइन्छ ।

वामदेवको क्वार्टरबाटै सेटिङ

पराजुली मन्त्रीबाट हटे पनि गृहमन्त्री वामदेव गौतमकै क्वार्टरमा बस्ने र मन्त्रालयका विभिन्न फाइल अध्ययन गर्दै उठ्तीपुठ्तीमा लागिरहेको स्रोतको दाबी छ । पार्टीको साइनो लगाउँदै नार्कको जागिरमा भनसुनका लागि जाने पार्टी कार्यकर्तालाई कृषि मन्त्रालयको समेत कार्यभार सम्हालेका गृहमन्त्री गौतमले ‘हरिजीसँग कुरा गर्नू’ भन्दै पठाउने गरेका एक जिल्लास्तरीय नेताले बताए । एकैचोटि ठूलो संख्यामा कर्मचारी भर्ती हुने भएपछि पद हेरेर दर तोकिएको र रकमको लेनदेन गर्न थालेको स्रोतको दाबी छ । सुरुमै रकम बुझाएपछि मात्र जागिर पक्का हुने भएपछि कार्यकर्ता पनि रकम लिएर मन्त्रीनिवास पुल्चोक पुग्नुपर्ने बाध्यता आइपरेको बताइन्छ । कार्यालय सहयोगीका लागि २ लाख रुपैयाँ उठाएको थाहा भएको छ । ‘३ कार्यालय सहयोगीलाई कन्फर्म नाम निकाल्ने शर्तमा तुलसा कमरेडलाई ६ लाख बुझाएर आएँ, अब त काम होला जस्तो छ,’ ती नेताले नेप्लिज डट ओआरजीसँग भने ।

नार्कमा प्रशासन, लेखा र प्राविधिकमा विभिन्न तहका कर्मचारी रिक्त छ । पदपूर्ति हुन लागेका पदमा प्रमुख प्रशासन सहायक (ए फाइभ) का लागि छ, प्रशासन सहायक (ए फोर) ५, लेखापाल (ए फाइभ) ९, प्राविधिक सहायक (जेटिटी फाइभ) २३, प्राविधिक सहायक (टिफोर) मा ३७ र निम्नस्तर प्राविधिक १ सय २७ छन् ।

कर्मचारी बिचौलियाको भूमिकामा
नार्कमा सहसचिव नवीन पौडेल, उपसचिव वीरेन्द्र खड्कालगायतले प्रशासनिक च्यानल मिलाउने जिम्मेवारी पाएका छन् भने केही अघिसम्म पराजुलीको स्वकीय सचिवालयमा बसेका गोकर्ण अर्याल र सुदीप शर्माले बिचौलियाको भूमिका निर्वाह गरिरहेको बताइन्छ ।

हरिको हर्कत उस्तै
‘मिडियाले खेदो खनेपछि पार्टी अध्यक्षको आग्रहमा मैले राजीनामा दिएर गएको हुँ । तर, कृषि विकास मन्त्रालयको सबै काम मैले नै गरिरहेको छु भन्ने कुरा तपाईंहरुले ख्याल गर्नुहोस्,’ कर्मचारीलाई धम्कीपूर्ण भाषण पूर्वकृषिमन्त्री हरिप्रसाद पराजुलीले कृषि विकास मन्त्रालयकै हलमा बिहीबार दिए । मन्त्रालय र मातहतका कर्मचारी उपस्थित रहेको कार्यक्रममा उनले सचिव उत्तम भट्टराईको पहलमा भएको बिदाई ग्रहण गर्दै मन्त्रालय आफ्नो कब्जामा रहेको बताएका थिए । कृषि विकास मन्त्रालय, मातहतका आयोजना, नजिक रहेका जिल्लाका कृषि तथा पशु कार्यालयका प्रमुख तथा कर्मचारीलाई मन्त्रालयको सभाकक्षमा अनिवार्य उपस्थिति गराएर पराजुलीको बिदाई कार्यक्रम गरिएको थियो । कृषि विकास मन्त्रालयका सचिवलाई बिदाई कार्यक्रम गर्न पराजुली आफैँले निर्देशन दिएको पनि बुझिएको छ ।

त्यहीअनुरुप सचिव भट्टराईले बिदाई कार्यक्रम राखेका थिए । बिदाई कार्यक्रममा कृषि विकास मन्त्रालय, विभिन्न आयोजनाका प्रमुख तथा कर्मचारीले पराजुलीलाई महँगो खालका उपहार प्रदान गरेका थिए । पूर्वकृषिमन्त्री पराजुलीले कृषि मन्त्रीबाट राजीनामा दिएको भए पनि मन्त्रालयको सम्पूर्ण काम उनले गृहमन्त्री वामदेव गौतमको निवासमा बसेर गरिरहेकामा एमाले पंक्तिसमेत आश्चर्यमा परेको छ । मन्त्रालयका सम्पूर्ण फाईल अझै पनि हरिहरभवनमा रहेको गृहमन्त्रीको निवासमा पुग्ने गरेको बताइन्छ । मन्त्रालयका फाइलमा पराजुलीले सहमति जनाइसकेपछि मात्र वामदेवले सदर गर्ने गरेको एक कर्मचारीले बताए ।

विवादित पूर्व कृषिमन्त्री पराजुलीको भव्य विदाई

Hari Parajuli, Ministerगत असार १५ गते धान दिवसका अवसरमा मूलपानीमा भएको रोपाइँ दिवसकै कारणले कृषि मन्त्रीबाट हात धुनु परेका पूर्व कृषि विकास मन्त्री हरिप्रसाद पराजुलीले आफू कृषि विकास मन्त्रालयमा मन्त्री भएर लामो समय बसेकाले मन्त्रालय भित्रका गुदी पत्तो पाईसकेकाले आफूले भनेको कुरा मातहतका निकायले तुरुन्तै गर्नेमा ढुक्क रहेको बताएका छन् । मन्त्तालयमा काम कसरी हुँदो रहेछ भन्ने कुरा आफूलाई पूर्ण ज्ञान भइसकेकाले र आफू किसान महासंघको कार्यकर्ता भएका नाताले आफूले भनेको कुरा स्वीकार गर्न निर्देशन समेत दिएको कृषि विकास मन्त्रालयका कर्मचारीहरुले आरोप लगाएका छन् ।

कृषि विकास मन्त्रालयले आयोजना गरेको विदाई कार्यक्रममा पूर्व मन्त्री पराजुलीले सो कुरा बताएका हुन् । श्रावण २८ गते विहिबार कृषि विकास मन्त्रालयले उनलाई भव्यरुपमा विदाई गरेको छ । कृषि सचिव उत्तम कुमार भट्टराईको नेतृत्वमा मन्त्रालय मातहतका आयोजना प्रमुखहरु, सहसचिवहरु, विभिन्न बोर्ड संस्थानका कर्मचारीहरुलाई अनिवार्य उपस्थिति गराएर पूर्व कृषि मन्त्री हरिप्रसाद पराजुलीको विदाई गरिएको कृषि विकास मन्त्रालयका एक अधिकारीले बताएका छन् । कृषि विकास मन्त्रालयले पूर्व मन्त्री हरिप्रसाद पराजुलीलाई भव्य रुपमा विदाई गरेकोमा धेरै कर्मचारीहरु रुष्ट समेत बनेका छन् । विवादमा मुछिएर मन्त्रीपदबाट मुक्त भएका व्यक्तिलाई जुन किसिमले मन्त्रालयले विदाई कार्यक्रम ग¥यो त्यो अत्यन्तै लज्जास्पद भएको एक सहसचिवले कृषिलाई बताए । मन्त्रालय, मन्त्रालय मातहत उपत्यका भित्र रहेका सम्पूर्ण कार्यलय प्रमुख तथा कर्मचारीहरुलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको भए पनि अन्यलाई भने कुने खवर गरिएको थिएन ।

मन्त्रीको विदाई कार्यक्रममा मन्त्रालय मातहतका केही आयोजना प्रमुख तथा केही कार्यलय प्रमुखहरुले उपहार पनि भव्य नै दिएको ती कर्मचारीले बताए । मन्त्रीले मन्त्रालयबाट विदाई कार्यक्रमबाट एक गाडि नै उपहार लगेको उनले बताए । उपहार दिनु र लिनु ठूलो कुरा भएन तर मन्त्रालयले आफै आयोजना गरेर विवादित मन्त्रीलाई जुन ढंगले विदाई गरियो त्यसले गलत सन्देश जाने उनको तर्क थियो । हुन पनि कृषि विकास मन्त्रालयमा हालसम्म कति कृषि मन्त्री आए गए तर हरिप्रसाद पराजुलीले जस्तो विदाई पाउन सकेका थिएनन् । जे होस् कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराईले विवादित मन्त्रीलाई मन्त्रालयबाट जुन किसिमले विदाई सम्पन्न गरे त्यो प्रक्रिया भविष्यमा पनि भयो भने त ठिकै होला अन्यथा पराजुलीको विदाई चाकडीको पराकाष्ठा भन्दा अरु केही हुन नसक्ने ठम्याईएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :