सुपारीको खबटाबाट थाल बटुका

यो समाचार 180 पटक पढिएको

काँकडभिट्टा (झापा), २९ साउन/ नेपालमै पहिलोपल्ट झापाको बुधबारेमा सुपारीको खबटाबाट थाल बटुका(प्लेट) बनाउने उद्योग खुलेको छ।

Supariबुधबारे–५ का नारायण रिजालले नेपाल सुपारीखेती विकास संस्थाको सहयोगमा सात महिनाअघि आफ्नै घरमा उद्योग स्थापना गरेका हुन्। भारतको केरलाबाट रु २० लाखमा मेसिन खरिद गरेर ल्याएका रिजालले सुपारीको खबटाद्वारा आकर्षक थाल बटुका बनाएर बिक्री गर्न थालेका छन्। नेपाल सुपारीखेती विकास संस्थाका अध्यक्ष देवीप्रसाद खतिवडाले झापामा सुपारीको खेती बढिरहेको हुँदा यसबाट थाल बटुका बनाउने उद्योग फस्टाउने सम्भावना देखेर प्रविधि भित्र्याइएको बताए।

उद्योगमा हाल तीन वटा मेसिन जडान गरिएका छन्। यसले छ प्रकारका साना बटुका र ठूला थाल बनाउँछ। बजारमा सुपारीका थाली रु तीनदेखि आठसम्ममा बिक्री हुने गरेका छन्। खासगरी पूजामा यस्ता सामग्री पवित्र र उपयोगी मानिँदै आएको सञ्चालक रिजाल बताउँछन्। उद्योगका लागि सुपारीको सुकेको पातको खबटा कच्चा पदार्थको रुपमा उपयोग हुने गरेको छ । रिजालले गाउँबाट प्रतिकिलो रु ६ का दरले सुपारीको सुकेको पातका खबटा खरिद गरेर ल्याउने गरेका छन्। खबटा बेचेर गाउँलेले पनि फाइदा लिन थालेका छन्।

सुपारीका थाल बटुकाको उत्पादनले भारतबाट भित्रिएका प्लास्टिकका थालीलाई विस्थापित गरेर स्वदेशी स्रोत, साधन र उत्पादनलाई बढावा दिने सम्भावना बढेर गएको छ। यस्ता थाल बटुका हेर्दा आकर्षक र त्यसमा जुनसुकै खानेकुरा राखेर मजाले खान सकिन्छ। विगतमा सुपारीको फल मात्र काममा आउने गरेकामा अब पात पनि काममा आउने भएकाले सुपारी किसान खुसी भएका छन्। प्रविधि भित्र्याएका रिजालले उद्योग सञ्चालनमा विद्युत् भार कटौती र विद्युत् अनियमितताले बढी अप्ठेरोमा पारेको बताउँछन्। मेसिनलाई तताएपछि पातलाई प्रेसर दिएर थाल बटुका बनाउने गरिएको छ । तर विद्युत् अनियमित हुँदा मेसिन फेरि तताउन लामो समय लाग्ने गरेको र त्यसबाट खर्चसमेत अत्यधिक हुने गरेको उनको गुनासो छ।

विद्युत् अनियमितताकै कारण हाल उद्योग पूर्ण क्षमतामा चल्न नसकेको उनले बताए। विद्युत्का लागि वैकल्पिक स्रोतको व्यवस्था गरेर मात्र प्रशस्त उत्पादन गर्ने सोच रहेको रिजालले बताए। रिजालले सुपारीको थाली वातावरणमैत्री हुने र प्रयोगपछि मलमा परिणत हुने बताए। यतिबेला उद्योगले दैनिक २ सय थान र बटुका उत्पादन गरिरहेको छ। विद्युत्को भरपर्दो प्रबन्ध गर्नसके दैनिक ६ सयभन्दा बढी उत्पादन गर्न सकिने रिजाल बताउँछन्। उनका अनुसार उद्योगलाई घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता गर्ने तयारी भइरहेको छ। उत्पादित सामानलाई काठमाडौँदेखि अमेरिकासम्म पठाउने लक्ष्य राखिएको छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :