पोखरी निर्माण

This post has already been read 65 times!

बारा, ७ पुस । कृषि विकास कार्यालय बाराले चालु आर्थिक वर्ष २०७०/७१ मा ६५ हेक्टरमा नयाँ पोखरी निर्माण गर्ने भएको छ । साथै, अभियानमुखी मत्स्य उत्पादन कार्यक्रम मार्फत जिल्लामा ३५ हेक्टर क्षेत्रफलमा रहेका पुराना पोखरीको मर्मत गरिने छ ।

जिल्ला कृषि विकास कार्यालयका प्रमुख कमलेश तिवारीका अनुसार पोखरी निर्माण र मर्मतका निम्ति रु ७९ लाख अनुदान दिइने छ । तिवारीका अनुसार नयाँ पोखरीका लागि १३२ जना र पोखरी मर्मतका लागि ६० जना किसानलाई अनुदान उपलब्ध गराइने छ । बारा जिल्ला मत्स्य उत्पादनका दृष्टिले निकै सफल जिल्ला मानिन्छ ।

 

माछा उत्पादनमा नेपाललाई आत्मनिर्भर बनाउने उद्देश्यले सरकारले बारा जिल्लामा आव २०६४/६५ देखि अनुदानसहित अभियानमुखी मत्स्य उत्पादन कार्य सञ्चालन गर्दै आएको छ । कार्यक्रमले नयाँ पोखरी निर्माण गर्नका लागि प्रतिहेक्टर रु एक लाख र पुरानो पोखरी मर्मतका लागि प्रतिहेक्टर रु ४० हजारका दरले किसानलाई अनुदान दिन लागेको हो ।

नयाँ पोखरीको निर्माण र पोखरीको मर्मतपछि आगामी वर्षमा मत्स्य उत्पादनमा थप ५९० मेट्रिक टन उत्पादन हुने विश्वास लिइएको सो कार्यालयका मत्स्य अधिकृत सरोजकुमार यादवले बताउनुभयो ।

बारा जिल्लामा गत आर्थिक वर्ष २०६९÷७० मा ९१५ हेक्टर क्षेत्रफलमा रहेका तीन हजार १७६ वटा साना तथा ठूला पोखरीमा मत्स्यपालन गरी प्रतिहेक्टर ५।९ मेट्रिक टनले कुल पाँच हजार ३९८ मेट्रिक टन माछा उत्पादन भएको थियो । उत्पादित माछामध्ये एक हजार ७१९ मेट्रिक टन जिल्लाको आन्तरिक बजारमा खपत भएको थियो । यस्तै, रु ७३ करोड ५८ लाख बराबरको तीन हजार ६७९ मेट्रिक टन माछा जिल्लाबाहिर निर्यातसमेत भएको सो कार्यालयले जनाएको छ ।