कालिकोटमा व्यावसायिक सुन्तला खेती फस्टाउँदै

यो समाचार 115 पटक पढिएको

कालिकोट, २६ साउन / कालिकोट जिल्लाको सुकाटिया गाविसमा व्यावसायिक सुन्तला खेती पस्टाउँदै गएको छ । केही वर्षअघि स्थानीय कृषकले परीक्षणका रूपमा सुन्तलाका केही बिरुवा रोपेकोमा त्यो सफल भएपछि तीन वर्षदेखि जिल्ला कृषि विकास कार्यालले किसानलाई बिरुवा प्रदान गर्दै आएको छ । त्यसरी प्राप्त बिरुवाबाट मनग्य सुन्तला फल्न थालेपछि व्यावसायिक रूपमा सुन्तला खेती फस्टाउँदै गएको छ ।

कालिकोट जिल्लाका विभिन्न स्थानलाई विभिन्न खेतीको पकेट क्षेत्रका रूपमा विकास गर्दै आएको जिल्ला कृषि विकास कार्यालयले सुकाटिया गाविसमा सुन्तलाको राम्रो उत्पादन हुन थालेपछि यस गाविसलाई कालिकोट जिल्लाकै सुन्तलाको पकेट क्षेत्रका रूपमा लिएको छ । सुकाटिया गाविस–७ का मात्र डेड सयभन्दा बढी कृषकले सुन्तला खेती गर्दै आएका छन् । गाविसमा सामान्य कृषक समूहहरू गठन गरी त्यसैलाई जिल्ला कृषि विकास कार्यालयमा दर्ता गरी बिरुवाको माग गर्ने र सबै समूहका सदस्यहरूले खेती गर्ने गरेका छन् ।

पाँच वर्षयता सुन्तलाको व्यावसायिक खेती गर्दै आएका सुकाटिया–७ का स्थानीय कृषक रत्नप्रसाद आचार्यले विगतमा दुई बोरा गहुँ फल्ने खेतमा हाल सुन्तलाको व्यावसायिक खेती गरेर परिवारको खर्च चलाएर वार्षिक एक लाख ५० हजार रुपियाँ बचत गर्ने गरेको बताउनुभयो । उहाँले तीन वर्षअघि फल्न थालेका २५० सुन्तलाका बोटबाट वार्षिक ४० क्विन्टलभन्दा बढी उत्पादन गरी दुई लाख पचास हजार रुपियाँभन्दा बढी आम्दानी गर्ने गरेको बताउनुभयो ।
उहाँले विगत ६४ सालमा दर्ता गरेको एक कृषक समूहलाई हाल आएर मोडेल कृषि सहकारी संस्थाका रूपमा दर्ता गरी जिल्ला कृषि विकास कार्यालय मार्फत बिरुवाको माग गरी सहकारीका सबै सदस्यलाई सुन्तला खेतीमा अग्रसर गराउनुभएको छ । उहाँको मात्र २५० फल्ने र एक हजार नफल्ने गरी एक हजार २५० बिरुवा भएको बगैँचा रहेको छ ।

उहाँ सोही गाविसको राराकाटिया उच्च माविको निमावि गणित अस्थाई शिक्षक पनि हुनुहुन्छ । तर गाविसका अगुवा कृषक आचार्यले भन्नुभयो, यो सबै मेरो कमाइ फुर्सदको समयको सदुपयोग हो । यसै आम्दानीले मेरा चार छोरा छोरी काठमाडौँका पढाउन सफल भएको छु । उहाँ मात्र होइन सुकाटिया गाविसका अन्य कृषकले पनि सुन्तला खेतीलाई मुख्य पेसाका रूपमा लिन थालेका छन् । खेतमा मकै गहुँ लगातयको अन्य तरकारी खेती पनि गरिएको छ तर यिनै बालीको बीचमा खेतमा सुन्तलाका बिरुवा पनि रोपिएका छन् ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :