अनुदानले बढायो पशुपालन, मुख्य आकर्षण गाईमा

यो समाचार 292 पटक पढिएको

झापा, २४ साउन / सरकारी अनुदानमा बृद्धी भए सँगै झापामा व्यवसायीक पशु पालन पनि फस्टाउँदै गएको छ । गत आर्थिक वर्ष २०७१र७२ मा झापामा मात्र पशु पालनका लागि झण्डै एक करोड रुपैयाँ अनुदान प्रदान गरिएको छ । प्याक्ट कार्यक्रम अन्तर्गतका परियोजना बाहेक नै यो अनुदान किसानहरुलाई प्रदान गरिएको हो ।

Cow Farmगत वर्ष झापामा युवा लक्षित कार्यक्रम अन्तर्गत ३८ लाख रुपैयाँ अनुदान प्रदान गरिएको थियो । यस्तै पशु आहारा राष्ट्रिय अभियान मार्फत ४ लाख, मासु पसल सुधारका लागि ५ लाख तथा डेरी पसल सुधारका लागि ५ लाख रुपैयाँ अनुदान दिइएको पशु सेवा कार्यालय झापाले जनाएको छ । यस्तै ४ वटा व्यवसायीक पशुपालन फर्ममा १०/१० लाख रुपैयाँ प्रदान गरिएको कार्यालयका पशु विकास अधिकृत बिनय श्रेष्ठले जानकारी दिए । यसै गरि बजार लक्षित कार्यक्रम अनुसार साना डेरी उद्योगहरुका लागि बिभिन्न उपकरण खरिदमा ५० प्रतिशत अनुदानका लागि पनि सिफारिस गरिएको छ ।

यसरी अनुदान प्रदान गर्न थालिए पछि व्यवसायीक पशुपालनमा पनि बृद्धी भएको छ । झापामा गत वर्ष मात्र ६ वटा व्यवसायीक गाई फार्म थपिए भने थप १० वटा बंगुरका फार्म पनि सञ्चालनमा आएका छन् । नयाँ उद्यमको रुपमा बाख्राको व्यवसायीक पालनका लागि पनि गत आर्थिक वर्षमानै ८ वटा फार्म स्थापना भएका छन् । किसानले व्यवसायीक रुपमा पशु पालन गरेका फार्मको संख्या यो भन्दा धेरै भए पनि सवै दर्ता नभएकाले संख्या न्यून देखिएको कार्यालयको भनाई छ ।

किसानले पशुपालनलाई व्यवसायीक बनाउने क्रममा सवै भन्दा आकर्षण गाईमा देखिएको छ । जिल्लामा ६२ फार्ममा किसानले व्यवसायीक रुपमा गाई पालन गरि रहेका छन् । तर, ति मध्ये ४० वटा मात्र कार्यालयमा दर्ता रहेको जनाइएको छ । अधिकृत श्रेष्ठले भने,‘किसानहरुले व्यवसायीक रुपमा पशु पालन त गरेका छन् तर सवै फर्म दर्ता भएका छैनन् । हामीले अनुगमनका क्रममा भने भेटिएका फार्मको संख्या दर्ता भन्दा उच्च छ ।’ अघिल्लो वर्ष झापामा २ लाख ४२ हजार ४८ वटा गाई रहेकोमा गत आर्थिक वर्षमा भने सो संख्यामा बृद्धी भई २ लाख ५२ हजार २ सय ८४ वटा पुगेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :