ओखलढुंगाका किसानले अलैँचीको मूल्य पाएनन्

यो समाचार 240 पटक पढिएको

  • जीवन शर्मा

ओखलढुंगा, ६ पुस  : यहाँको अँधेरी नारायणस्थान ३ का टीकाबहादुर खत्रीले अलैँची खेती गर्न थालेको ४ वर्ष भयो । सुरुमा उत्पादनशील खेत मासेर अलैँची खेतीमा आकर्षित भएका खत्री अहिले भने अलैँचीले मूल्य नपाएपछि चिन्तित बनेका छन् । ओखलढुंगामा उत्पादित अलैँचीको प्रतिष्पर्धात्मक बजार नहुँदा अलैँचीको भाउ घटेको हो । पूर्वी पहाडमा १५ सय रुपैयाँ प्रतिकेजी बिक्री भइरहेको अलैँची ओखलढुंगामा भने ६ देखि ७ सय रुपैयाँ सम्ममा बिक्री गर्न बाध्य भएको खत्रीले बताए । उनिजस्तै ओखलढुंगामा अलैँची खेती गर्ने धेरै कृषकको कथा यतिबेला यस्तै छ ।alaichi tika bdr photo
अलैँची खेती गरेर राम्रो आम्दानी गर्ने लक्ष्य लिएका ओखलढुंगाको दर्जनौँ गाविसका कृषकहरु यतिवेला अलैँचीले मूल्य नपाउँदा मारमा परेका छन् । यसवर्ष अलैँचीको उत्पादन राम्रो भएपनि अलैँची बिक्री नै नभएपछि व्यापार गर्ने शिलशिलामा ओखलढुंगा आइपुगेका तराईका व्यापारीलाई किनिदिन अनुरोधका साथ सस्तो मूल्यमै अलैँची दिनुपरेको माम्खा ७ का कृषक चक्रप्रसाद बाँस्तोलाको गुनासो छ । बाँस्तोलाले भने,– ‘तरकारी खेती गर्दै आएको बगैँचा मासेर अलैँची खेती गर्न थालियो तर अहिले मूल्य नपाएपछि चिन्तित छु ।’
कृषि विकास कार्यालय ओखलढुंगाले अलैँचीको उत्पादन बढाउन मात्र चासो दिएको तर विक्रीवितरणमा खासै ख्याल नगरेकाले अलैँचीले ओखलढुंगामा मूल्य नपाएको अँधेरी नारायणस्थान ३ का रामबहादुर बानियाले गुनासो गरे । उनले भने– ‘जबसम्म कृषकले परिश्रमको सही मूल्य पाउँदैन, तबसम्म कृषिमा विकास हुँदैन ।’ कृषि विकास कार्यालयले अलैँची खेतीका लागि रावादोलु, भुसिंगा, र अँधेरी नारायणस्थान गाविसमा नर्सरी उत्पादन थालेको बताएको छ ।
कार्यालयले अलैँची खेती विस्तारका लागि कृषकहरुलाई तालिम तथा विभिन्न अभिमुखीकरण कार्यक्रममा सहभागी गराएपनि कृषकले उत्पादन गरेको अलैँची बिक्रीका लागि बजारको व्यवस्था भने गरेको छैन । ओखलढुंगाका अँधेरी नारायणस्थान, रावादोलु, भुसिंगा, मूलखर्क, विगुटार, माम्खा लगायतका दर्जनौँ गाविसमा अलैँची खेती विस्तार भइसकेपनि अलैँची विक्री वितरणमा समस्या देखिएको छ । ओखलढुंगामा पछिल्लो समयमा २८ हेक्टर क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ । जिल्लामा प्रतिहेक्टर १ दशमलब ४२ किलो अलैँची उत्पादन हुने गरेको जिल्ला कृषि विकास कार्यालयका प्रमुख यम कुमार श्रेष्ठले बताए ।

फोटो क्याप्सन ः अलैँचीको बोट स्याहार्दै ओखलढुंगाको नारायणस्थान ३ का कृषक टीकाबहादुर खत्री ।
तस्वीर ः जीवन शर्मा

रचनात्मक प्रतिक्रिया दिनुहोस् :