फैलिदो छ, गाउँतिर जंकफुडको ‘जालो’

यो समाचार 272 पटक पढिएको

काठमाडौं, खाजामा रोटी, सातु र भुटेको मकै खानु हिजोआज एकादेशको कथाजस्तै बनेको छ । हाम्रा पूर्खाको खाना संस्कृतिमा पर्ने यस्ता खाजा मात्र होइनन्, बढी पोषण दिने जौं, कोदो, चिनो, कागुनो, गहुँ, फापर र मकैजस्ता अन्न पनि नयाँ पुस्ताले चिन्न पनि छाड्दै छन् । ताजा र पोषणयुक्त खाना/खाजालाई विस्थापित गरेका छन्, जंकफुडले ।


Junk Foodघरमा आएको पाहुनालाई अब चाउचाउ, चिया–बिस्कुट, चाउमिन, कोकाकोला–पेप्सीले स्वागत गर्दा पाहुना खुसी हुने दिन आउन थालेको छ । छोराछोरीलाई फकाउनदेखि दिउँसोको खाजा पकाउन पनि जंकफुडले साथ दिन थालेको छ । गर्ल फ्रेन्ड–ब्वाइ फ्रेन्डलाई भेट्दा पनि चिजबल, लेज, कुर्कुरे, पोटाटो क्र्याकर लैजाने चलन बढेको छ । जंकफुडको उपभोग संस्कार नै बन्न थालेको छ हाम्रो समाजमा । यस्तो संस्कार अब सहरमा मात्र होइन, गाउँमा पनि बढ्दो क्रममा देखिएको छ । टिभी र रेडियोमा देखिने÷सुनिने विज्ञापनका वस्तु आफ्नै सामुन्ने पाउँदा बालबालिका मख्ख पर्छन् भने अभिभावक उनीहरूलाई फकाउँदा–फकाउँदै जंकफुडमा बानी पर्न थालेका छन् ।

बालबालिकाले सानैदेखि जंकफुडको नियमित उपभोग गर्नु उनीहरूको स्वास्थ्यका लागि प्रतिकूलसमेत हुन जाने अध्ययनले देखाएका छन् । यस्ता खाद्यवस्तुमा पल्केका बालबालिकाले घरमा पाकेको खाना नखाएको घटना पनि बढ्दो छ । “जंकफुड पुरियाबन्द तयारी खाना मात्र होइन, मन्दविष नै हो, यसको प्रयोग उचित तरिकाले गरिएन भने असर भयावह हुन्छ,” उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँ भन्छन्, “यस्ता खाना तोकिएका गुणस्तरअनुसार उत्पादित हुनुपर्छ भने भ्रामक विज्ञापन गर्ने काम रोकिनुपर्छ ।” भ्रामक विज्ञापन गर्नेलाई कडा कारबाही गर्नुपर्ने उनको माग छ ।

जंकफुड उपभोग डरलाग्दो रूपमा बढिरहेको र यसका लागि भ्रामक विज्ञापनले मुख्य भूमिका निर्वाह गरिरहेको अध्ययनले देखाएको छ । नेपाल बार एसोसिएसन पुनरावेदन अदालत पाटन र प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्र (रेस्फेक) ले गरेको अध्ययनले जंकफुड प्रयोगले हुने रोगहरूबाट सहरी जीवनलाई मात्र होइन, दुर्गमका जनजीवनलाई पनि प्रभावित पारेको निष्कर्ष निकालेको छ । “भारतीय तथा नेपाली मिडियाले गलत भ्रामक अनुचित प्रभाव पार्ने विज्ञापन प्रसारण गरेको पाइन्छ,” प्रतिवेदनमा भनिएको छ, “जसले पत्रु खाना (जंकफुड) प्राकृतिक खानाभन्दा राम्रो हो भन्ने गलत सन्देश दिएर त्यसले जंकफुडको प्रयोगमा व्यापकता आएको र यसले खाद्यमा गलत संस्कार बसाउनुका साथै सार्वजनिक स्वास्थ्यमा दूरगामी असर पारिरहेको छ ।”

जंकफुड संस्कार बढ्नुमा विज्ञापनको भूमिका बढी हुने भएकाले त्यस्ता विज्ञापनलाई नियन्त्रण गर्नुपर्ने सुझाव अध्ययनको छ । अध्ययतामध्येका एक अधिवक्ता जयप्रसाद पौडेल जंकफुड र भ्रामक विज्ञापनलाई निरुत्साहन गर्ने कानुनको अभाव रहेकाले एकीकृत कानुन बन्नुपर्ने बताउँछन् । यकिन तथ्यांक नभए पनि उपत्यकामा पछिल्लो समय जंकफुड प्रयोग घट्दै गरेको अनुमान भने गर्न सकिन्छ । खासगरी, विद्यालय र कलेज तहमा विद्यार्थीलाई खाजा समयमा बाहिर निस्कन नदिने र जंकफुड स्कुल–कलेजमा लान नपाइने भएकाले प्रयोगमा कमी आएको खाद्य वैज्ञानिक तथा प्राविधिक एसोसिएसनका अध्यक्ष तीर्थप्रसाद अधिकारी बताउँछन् । “स्कुल तथा कलेजमा कम प्रयोग हुन थालेपछि यसको उपभोग सहरमा घटेको छ, गाउँमा बढेको छ,” उनी भन्छन्, “सहरमा कतिपयले यसले धेरै फाइदा गर्दैन भनेर उपभोग घटाउन पनि थालेका छन् । तर, गाउँमा दिनहुँ नयाँ जंकफुड पठाइन्छन् ।” भ्रामक विज्ञापनले गर्दा बालबालिकामा जंकफुडप्रति आकर्षण बढाउनु गलत भएकाले यसलाई रोक्नुपर्ने उनको भनाइ छ ।

‘जंकफुड पोषणयुक्त छ’ भनेर विज्ञापन गर्नु गैरकानुनी रहेको आवाज उपभोक्ता अधिकारकर्मीले उठाउँदै आएका छन् । उपभोक्ता अधिकारकर्मी तथा अधिवक्ता विष्णु तिमिल्सिनाले भ्रामक विज्ञापन रोक्न सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि फैसलासमेत भइसकेको छ । “मुख्यगरी चाउचाउ, चिजबल, कोक, फेन्टालगायत तयारी खाना तथा पेय पदार्थमा समस्या देखिएको छ, यस्ता खालका खानाको विषयमा मिडियाले बढाइचढाइ गरी बजाउने गर्छन्,” उनी भन्छन्, “यस्ता खालका विज्ञापन मानव स्वास्थ्यलाई रत्तिभर पनि ख्याल नगरी प्रसारण गरिन्छ, समयमै ख्याल गरिएन भने भोलि आममानव स्वास्थ्यमा समस्या देखिन सक्छ ।” फैसला कार्यान्वयनमा आए भ्रामक विज्ञापनको असर हट्ने उनको ठम्याइ छ ।

खासमा नेपालीको खाना खाने तरिका आफैंमा वैज्ञानिक छ । दाल, भात, तरकारी, अचार मिलाएर खाना खाने संस्कार शरीरलाई क्यालोरी पु¥याउने खालको छ । कर्णालीमा पाइने चिनो, कागुनो र कोदो मात्र होइन, गहुँ, मकै र जौं खाँदा पनि पोषकीय दृष्टिले सकारात्मक मानिन्छ । तर, पछिल्लो समय देखिएको सजिलै पाइने तयारी खाना जंकफुड संस्कृति भने डरलाग्दो तरिकाले बढ्दो छ । जंकफुड खानै नहुने होइन । तर, जंकफुडको नियमित उपभोगले बिहान–बेलुकाको खाना वा खाजाको मात्रा पूरा नहुने वैज्ञानिक तथ्यलाई ख्याल गर्दै यसतर्फ सजग हुनुपर्ने देखिएको छ । विज्ञापनको जगजगीलाई पनि सरकारले नियमन गर्नुपर्ने देखिन्छ । उपभोक्ता सचेतनाको खाँचो पनि उत्तिकै छ ।

के हो जंकफुड ?
तयारी अवस्थामा रहेको प्याकेटको खानालाई जंकफुड भनिन्छ । यस्ता खाना व्यस्त समयमा पेट भर्न उपयोगी पनि मानिन्छन् । यस्ता खाद्य वस्तु मात्र उपभोग गरियो भने शरीरलाई पुग्ने क्यालोरी अपुग भई कमजोर हुने विज्ञ बताउँछन् । स्वास्थ्यको दृष्टिकोणले पनि जंकफुड फाइदाजनक मानिँदैन । कतिपय अध्ययनले क्यान्सर हुने कारणमध्ये जंकफुडको नियमित उपभोगलाई पनि मान्ने गरेको निष्कर्ष निकालेको पाइन्छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :