नवलपरासी दूध र मासुमा आत्मनिर्भर

यो समाचार 216 पटक पढिएको

नवलपरासी, २० साउन / पशुपालन व्यवसाय फस्टाउँदै गएपछि नवलपरासी दूध र मासुमा आत्मनिर्भर बनेको छ । व्यावसायिक रूपमा पशुपालन गर्ने युवाको संख्या वृद्धि भएकाले दूध र मासु उत्पादन बढेको हो ।

Milknewsagro.comजिल्ला पशु सेवा कार्यालय नवलपरासीका वरिष्ठ पशु विकास अधिकृत शंकर साहका अनुसार गत आवमा जिल्लामा ६३ हजार मेट्रिकटन दूध र १३ हजार मेट्रिकटन मासु उत्पादन भएको छ । ‘सरदर एक व्यक्तिले एक वर्षमा ९० लिटर दूध, १४ केजी मासु, ४८ वटा अन्डा खपत गर्छन् । सोही अनुपातमा ६ लाख २ हजार जनसंख्या रहेको नवलपरासीमा १० हजार २६ मेट्रिकटन दूध जिल्लामा खपत हुन्छ,’ वरिष्ठ पशु विकास अधिकृत साहले भने, ‘दूध र मासु बाहिर बेच्न थालिएको छ ।’ ४ हजार ८ सय ९९ मेट्रिकटन मासु देशका ठूला सहरमा जान्छ ।

पछिल्लो समय वैदेशिक रोजगारमा गएर फर्केका व्यक्तिले थालेको पशुपालन व्यवसायले जिल्ला पशुपालनमा आत्मनिर्भर भएको हो । १ सय ७८ वटा व्यावसायिक कृषि फार्म विदेशबाट फर्केकाले सञ्चालन गरिरहेका छन् । गाईभैँसी पाल्ने युवाको मात्र १ सय २५ वटा फार्म छन् । बाख्राका १८, बंगुरका ७, कुखुराका २८ वटा फार्म छन् । युवाको कृषिप्रतिको उत्साहले जिल्लालाई यी उत्पादनमा आत्मनिर्भर बनाएको छ ।

विदेशबाट फर्केका युवाले मात्र २२ करोड कृषि क्षेत्रमा लगानी गरेका छन् । जिल्लामा ३ सय ६१ गाईभैँसी फार्म, ५५ वटा बाख्रा फार्म, ३७ वटा बंगुर फार्म, १ सय ५१ कुखुरा फार्म, १४ ह्याचरी, ७२ वटा दूधको मात्र कारोबार गर्ने संस्था छन् । खसीको मासुले २० प्रतिशत, राँगाको मासुले ६० प्रतिशत र बंगुरको मासुले ९ प्रतिशत मासु बजारको हिस्सा ओगटेको वरिष्ठ पशु विकास अधिकृत साहले बताए । मासु र दूध निर्यात गर्ने हैसियतमा पुगेको नवलपरासी अन्डामा आयात गर्ने अवस्थामा छ । वार्षिक १ करोड ७० लाख ५४ हजार वटा अन्डा जिल्ला भित्रिने गरेका छन् । ‘घाँस विकास, पशुपालनमा सरकारी अनुदानले युवालाई आकर्षण गरेकाले दूध र मासुमा राम्रो उत्पादन हुन थालेको छ,’ साहले भने, ‘अन्डा उत्पादनमा जोड दिने गरी कार्यक्रम ल्याउँदै छौँ ।’

रचनात्मक प्रतिक्रिया दिनुहोस् :