गहुँंको दुई जात-पहाडलाई ‘ डाँफे ’ र तराईलाई ‘ तिलोत्तमा ’

यो समाचार 313 पटक पढिएको

भैरहवा, २० साउन / तराई र पहाडका लागि कृषि विशेषज्ञहरुले दुईवटा नयाँ जातका गहुँको विकास गरेका छन् । तराईका लागि “तिलोत्तमा र पहाडका लागि “डाँफे” नाम गरेका गहुँका नयाँ जात कृषि वैज्ञानिकहरुले विकास गरेका हुन् । राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम भैरहवाका कृषि वैज्ञानिकहरुले विगत सात वर्षदेखि अनुसन्धान गरेर “तिलोत्तमा” र “डाफे” नाम गरेका नयाँ गहुँका जात विकास गरेका हुन् ।


Wheatराष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम भैरहवाका प्रमुख शेषरमण उपाध्यायका अनुसार “तिलोत्तमा” र “डाँफे” नामका यीे जातको विकासले बढ्दो जलवायु परिवर्तनलाई समेत चुनौती दिएको छ । दुवै अत्यधिक चिसो र तातो सहन सक्ने जातका रुपमा विकास भएका छन् । यी दुवै जातमा संसारभरि गहुँबालीको ठूलो चुनौतीका रुपमा देखिएको खैरो, पहेंलो र कालो सिन्दुरे रोगप्रतिरोधी क्षमता छ । दुवै जात सिञ्चित, असिञ्चित दुवै जमीनमा उत्पादन लिन सकिने भएकाले कृषकका लागि यी जात उपयोगी हुने विश्वास छ ।

यी दुई जातसँगै गहँुबाली अनुसन्धान कार्यक्रम भैरहवाले अहिलेसम्म विकास गरेका गहुँका जातको सङ्ख्या ३७ पुगेको छ । यसअघि सन् २०१२ मा पनि पहाडका लागि दुईओटा जातको विकास गरिएको थियो । यी जातका गहुँको रोग प्रतिरोधी क्षमता उस्तै भए पनि दुवै जातका बीचमा थुपै्र भिन्नता भने छन् । तिलोत्तमा जात तराईका लागि उपयोगी छ । यो जातको गहुँको उचाइ ८६ सेन्टिमिटर र बाली पाक्न लाग्ने अवधि १ सय २० दिन छ । यसको उत्पादन क्षमता ४ दशमलव ४ टन प्रतिहेक्टर छ । बालाको लम्बाइ ९ दशमलव २ सेन्टिमिटर र प्रत्येक बालामा ५६ ओटा दाना फल्ने उपाध्यायले बताउनुभयो ।

डाँफे जात पहाडका लागि उपयोगी छ । यो गहुँको उचाइ ९६ सेन्टिमिटर र बाली पाक्ने अवधि १ सय ७० दिन छ । यसको उत्पादन क्षमता पनि ४ दशमलव ४ टन प्रतिहेक्टर छ । बालाको लम्बाइ ९ दशमलव ५ सेन्टिमिटर र प्रत्येक बालामा ५६ ओटै दाना फल्ने क्षमता राख्छ । यी जातका बीउ प्रतिरोपनी ६ केजीका दरले रोप्न उपयुक्त हुने सिफारिशसमेत गहुँबाली अनुसन्धानले गरेको छ । दुवै जातका गहुँ रोटी, बिस्कुट र पाउरोटी बनाउन निकै उपयोगी छन् । करीब सात वर्षसम्म गहुँबाली अनुसन्धान केन्द्रले परीक्षण गरेर “तिलोत्तमा” नामको नयाँ जात विकास गरेको हो भने डाँफेलाई सन् २००९ मा परीक्षणका लागि ल्याइएको थियो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :