स्वदेशमै तरकारीबाट आयआर्जन

यो समाचार 286 पटक पढिएको

अर्घाखाँची, १८ साउन / विदेशमा लामो समय बिताएर आएका युवाले स्वदेशमा व्यावसायिक तरकारी खेतीबाट राम्रो आम्दानी गरेका छन् । विदेशमा बसी काम गर्दै आएका अर्घाखाँचीका तीन युवाले एक वर्षदेखि अर्घाखाँचीको करेवाङमा सामूहिक तरकारी खेती गर्दैआएका छन् । उनीहरूले वर्षौदेखि बाझो रहेको १४ रोपनी जग्गा लिजमा लिई काम सुरु गरेका हुन् ।

Vegetable seedनौ वर्ष कतारमा बसेका रामबहादुर ढंगाल विदेशको ५४ डिग्रीको काम खाएर मालिकको गाली खानुभन्दा आफ्नै भूमिमा सम्मानका साथ १५ हजार कमाए बस्नुपर्छ भन्ने सोच आएकाले आफूहरूले व्यवसाय सुरु गरेको बताउनुभयो । अहिले वार्षिक रूपमा तीन लाख रुपियाँ आम्दानी भएको छ सुरु सुरुमा सबै मिलाउँदा कम भए पनि अब भने वार्षिक पाँच लाख रुपियाँभन्दा बढी आम्दानी हुने ढुंगालले बताउनुभयो ।

अहिले टमाटर, करेला, भान्टा, काँक्रा, सिमी लगायतका तरकारी उत्पादन गरिएको युवाले बताएका छन् । उत्पादित तरकारी सन्धिखर्कको हाटबजारमा बिक्री हुँदैआएको छ । उपभोक्ताको माग अनुसारको तरकारी उत्पादन गर्ने गरेको उनीहरूले बताएका छन् । जोत्नका लागि एक हल गोरु र मलका लागि तीनवटा गाई पालेको अर्का विदेशमै बसेर आएका रामबहादुर सलामीले बताउनुभयो ।

विदेशमा गरेको श्रमलाई नेपालमा लगानी गर्ने हो भने सुन फलाउन सकिने उनीहरूको भनाइ छ । विदेशी अपहेलना सहेर काम गर्नुभन्दा नेपालमै केही व्यवसायमा लाग्न विदेशमा रहेका युवालाई उनीहरूले सल्लाह दिएका छन् ।

केही समय अघिको बाँझो जमिनमा अहिले भने हरियाली देखिन थालेको छ । सरकारले सिँचाइका लागि कुलोको व्यवस्था गरिदिएमा आफूहरूलाई निकै सजिलो हुने १० वर्ष कतारमा बसेका मोती गौडेलले बताउनुभयो । अहिलेसम्म कृषि विकास कार्यालयले ४० हजार र किसान परियोजनाले नर्सरी, प्राविधिक, पानी ट्याङ्की र चारवटा टनेल बनाउन अनुदान दिएकोे गौडेलले जानकारी दिनुभयो ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :