कुखुराको मासु प्रतिकिलो ४ सय पुग्यो

यो समाचार 275 पटक पढिएको

अझै बढ्न सक्छः ब्यवसायी

  • मूल्य वृद्धिको कारण चुनाव पनि
  • मागको ४० प्रतिशतमात्र मासु आपूर्ति, मूल्य गतवर्ष भन्दा दोब्बर
  • अण्डाको विक्री मूल्यमा प्रति क्यारेट १५ रुपैयाले वृद्धि
  • आपूर्ति व्यवस्था सहज बनाउन कृषि मन्त्रीको निर्देशनChicken

काठमाडौं,  राजधानीमा ब्रोइलर कुखुराको मासुको मूल्य प्रतिकिलो ४ सय रुपैया पुगेको छ । तीन साताअघि कुखुराको मासू हालसम्मकै उच्च, ३ सय ४० रुपैया प्रतिकिलोमा खुद्रा कारोबार भएकोमा त्यसयता निरन्तर मूल्य बढेर आइतवार ४ सय रुपैया प्रतिकिलो सम्ममा किनवेच भएको छ । माग अनुसार आपूर्ति हुन नसक्ने भएकाले मूल्यमा थप वृद्धि हुन सक्ने व्यवसायीले बताएका छन् ।
बजारको माग भन्दा ४० प्रतिशतसम्म कम मासु मात्र बजारमा आपूर्ति भएपछि किर्तिमानी रुपमा मूल्य बढेको हो । “काठमाडौंमा साढे २ लाख देखि ३ लाख किलो मासु प्रतिदिन माग छ,” नेपाल कुखुरा व्यवसायी संघका अध्यक्ष जंगबहादुर बीसीले भने, “हाल दैनिक साढे १ देखि २ लाख किलो मासु मात्र आपूर्ति हुन सकेकाले मूल्य समेत बढेको हो ।” सरकारले अब्यवस्थित तरिकाले एक महिनामा १५ लाख बढी कुखुरा मारेकाले बजारमा कुखुरा आपूर्ति घटेका कारण मूल्य बढेको उनको तर्क छ । बढेको मूल्यमा पनि बजारमा मासु सहज रुपमा नपाइएको उपभोक्ताको गुनासो छ ।  विगतका वर्षहरुमा कुखुराको मासुको खुद्रा मूल्य सबैभन्दा बढी प्रतिकिलो ३ सयको हाराहारीमा मात्र पुगेको तथ्यांक छ । आइतवार कुखुराको मासुको थोक मूल्य नै बढेर ३ सय ५० देखि ३ सय ६० सम्म पुगेको छ । उपत्यकामा इतिहासमै सबैभन्दा बढी गतवर्ष फागुनमा प्रतिकिलो ३ सय ५ रुपैयामा फुटकर कारोबार भएको कृषि विभागको तथ्यांक छ । गतवर्षको कात्तिकमा भने १ सय ९२ रुपैया प्रतिकिलोमा कारोबार भएको थियो ।
संविधानसभाका कारण गाउँमा चहलपहल बढेकाले सहर आउने मासु समेत गाउँमै खपत हुन थालेपछि काठमाडौंमा मासुको आपूर्ति गर्दै आएका चितवन, धादिङ, काभ्रे, नुवाकोट र ललितपुरका ग्रामीण भेगबाट कुखुराको आपूर्तिमा कमी आएको कुखुरा व्यवसायी संघका अध्यक्ष बीसीले बताए । “काठमाडौं वरपरका जिल्लाबाट आपूीर्त घटेपछि माग पुरा गर्न धनगढीदेखि महोत्तरीसम्म तराइका जिल्लाबाट कुखुरा आपूर्ति गरिरहेका छौं,” उनले भने । पश्चिम तराइको धनगढी, दाङदेखि पूर्वी तराइका महोत्तरी, सिराह, सर्लाही लगाएतका जिल्लाबाट समेत कुखुरा आपूर्ति गर्न थालेको उनले बताए ।
सरकारी अकर्मन्यताले आत्मनिर्भर बनेको कुखुरा व्यवसायी धरासयी हुदा कृषक–ब्यवसायीदेखि उपभोक्ता समेत मारमा परेको नेपाल पोल्ट्री फोर्म नेपालका अध्यक्ष गुणचन्द्र विष्ट बताउँछन् । “देशभरमा ७ लाख प्यारेन्ट (माउ कुखुरा) मारिएपछि कुखुराको उत्पादनमा ४० प्रतिशतले कमी आएको छ,” उनले भने, “सरकार र व्यसायीहरु तदारुकताका साथ लाग्ने हो भने पनि यो व्यवसायलाई पुरानै अवस्थामा फर्कन ३ वर्ष कम्तिमा लाग्छ ।” हचुवाको भरमा कुखुरा मारेर सरकारले ब्यवसायीलाई हतोत्साहित पारेको र क्षतिपूर्ति तथा पुनस्र्थापनामा समेत ढिलासुस्ती गरेकाले कुखुरा व्यवसाय पुरानै अवस्थामा फर्कन थप चुनौति सिर्जना भएको उनले बताए ।

अण्डा प्रतिक्यारेट १५ रुपैया महंगीयो

उत्पादनमा वृद्धि हुन नसकेपछि कुखुराको अण्डाको मूल्यमा प्रति क्यारेट १५ रुपैयाले वृद्धि भएको छ । अण्डाको उत्पादन लागत लगातार वृद्धि भएको र अण्डा पार्ने लेयर्सको संख्यामा समेत वृद्धि हुन नसक्दा उत्पादन घटेपछि मूल्य वृद्धि भएको नेपाल अण्डा उत्पादक संघले जनाएको छ ।
“सात वर्षअघि दानाको मूल्य प्रतिकिलो १३ रुपैया हुँदा अण्डा प्रति क्यारेट १ सय २२ रुपैया थियो, अहिले दानाको मूल्य ४० रुपैया पुग्दा पनि अण्डाको उपभोक्ता मूल्य २ सय रुपैयामा सीमित छ,” संघका अध्यक्ष शिवराम केसीले भने, “उत्पादन लागतमा निरन्तर वृद्धि भएपछि फार्मबाट अण्डाको विक्री मूल्यमा प्रति क्यारेट १५ रुपैयाले वृद्धि गरिएको छ ।” यसअघि २ सय ४५ रुपैया प्रति क्यारेट रहेकोमा आइतवारदेखि कृषकले अण्डा विक्री गर्ने मूल्य २ सय ६० रुपैया प्रति क्यारेट पुगेकाले कुषकलाई थोरै राहत भएको उनले बताए ।
संविधानसभाका कारण गाउँगाउँमा अण्डाको माग बढेपछि मूल्यमा समेत वृद्धि भएको केसीले बताए । “जताततै पाइने र पौष्टिक पनि रहेकाले चुनावी अभियानमा हिड्नेहरुले अण्डाको प्रयोग बढी गरेको पाइन्छ,” अण्डा व्यसायी संघका अध्यक्ष केसीले भने, “प्यारेन्ट कुखुराको संख्या समेत नबढेकाले अण्डा उत्पादन समेत घटेकाले बढ्दो माग अनुसार आपूर्ति गर्न सकिने अवस्था छैन ।” देशको मागको ७० प्रतिशत अण्डाको माग पुरा गर्ने चितवनमा यसअघि १२ हजार पेटी अण्डा दैनिक उत्पादन हुने गरेकोमा हाल ५ हजार पेटी मात्र उत्पादन भैरहेको उनले बताए । देशभर करिव २० हजार पेटी अण्डा दैनिक खपत हुने अनुमान छ ।

आपूर्ति ब्यवस्था सहज बनाउन निर्देशन
कृषि विकास र वन तथा भूसंरक्षण मन्त्री टेकबहादुर थापा घर्तीले चुनावको समयमा अत्यावस्यक वस्तुहरुको आपूर्ति सहज बनाउन मातहतका निकायलाई निर्देशन दिएका छन् । आइतवार घर्तीको अध्यक्षतामा बसेको कृषि विकास मन्त्रालय र वन तथा भूसंक्षण मन्त्रालयका कर्मचारीहरुको संयुक्त बैठकमा यस्तो निर्देशन दिएका हुन् । मन्त्री घर्तीले आसन्न संविधानसभाको चुनावसम्म अत्यावश्यक वस्तुहरु दूध, फुल, मासु, तरकारी, माछा, फलफूल आदिको आपूर्तिका सहज र अविछिन्न रुपमा व्यवस्थापन गर्न दुबै मन्त्रालय अन्तर्गतका महाशाखा प्रमुख, विभागीय प्रमुख तथा कार्यक्रम निर्देशकहरुलाई निर्देशन दिएका छन् । आपूर्ति कार्यका लागि सहज बनाउन नेपाल सरकारले सुरक्षा योजना बनाइ लागू गरेको सन्दर्भमा कृषिसँग सम्बन्धी विभिन्न व्यवसायीहरुसँग छुट्टै बैठकबसी आपूर्ति व्यवस्था सहज बनाउन मन्त्रीले निर्देशन दिएको कृषि विकास मन्त्रालयका प्रवक्ता डा. प्रभाकर पाठकले बताए ।

 

रचनात्मक प्रतिक्रिया दिनुहोस् :