पाल्पामा पाउलोनिया परीक्षण

यो समाचार 295 पटक पढिएको

तानसेन, १६ साउन / काठ बेचेर मनग्य आम्दानी लिन सकिने सम्भावना भएको चिनियाँ प्रजातिको पाउलोनिया बिरुवाको पाल्पामा परीक्षण गरिने भएको छ।

यो वर्षदेखि सरकारले पाउलोनियाका बिरुवा परीक्षण गर्न बजेट विनियोजन गरेर वन अनुसन्धान विभागलाई जिम्मा दिएपछि यो बिरुवालाई पाल्पाका विभिन्न स्थानमा रोप्न थालिएको जिल्ला वन कार्यालयले जनाएको छ। पाल्पामा पाउलोनियाको परीक्षण उत्पादनका लागि वृक्षरोपण गरिएको हो।

वन तथा भूसंरक्षण मन्त्रालयको सहयोग र जिल्ला वन कार्यालयको सिफारिसमा दुई सय ५६ वटा बिरुवा पश्चिम पाल्पाको छहरा गाविस ५ का कमल घिमिरेको निजी जग्गामा रोपिएका छन्। ‘अरू गाउँबाट पनि माग आएको छ। जिल्ला वन कार्यालयले छहराका लागि मात्र सिफारिस गरेका कारण अहिले यहाँ भयो। मागअनुसार पछि थप्दै जाने कार्याक्रम छु,’ वन अनुसन्धान तथा सर्वेक्षण विभागका सहायक अनुसन्धान अधिकृत राजेन्द्रकुमार वासुकलाले भने।

पछिल्लो समयमा अधिंकाश किसानले आफ्ना खेतारी र खरबारी बाँझै छोड्ने समस्यालाई न्युनीकरण गर्न पाउलोनिया बिरुवा लगाउन थालिएको वासुकलाले जानकारी दिए। उनले भने, ‘नेपालका केही उत्साही व्यक्तिले अनलाइन मिडियाबाट यो खेतीका बारेमा जानकारी लिएपछि यसको प्रयोग गर्न लागिएको हो।’ सरकारी स्तरबाट पाउलोनिया लगाइएको यो पहिलो पटक हो। यसले किसानलाई पनि आकर्षण गरेको छ । जिल्लाका किसान यसको व्यावसायिक खेतीका लागि आकर्षित देखिएका छन्।

जग्गाधनी कमलले पाउलोनियाका बारेमा राम्रोसँग बुझेर जिल्ला वन कार्यालयको सिफारिसमा बिरुवा रोपेको बताए। छोटो समयमा धेरै आम्दानी लिन परम्परागत अन्नबालीको सट्टा पाउलोनिया रोपको उनको भनाइ छ।नेपाली हावापानीमा पाउलोनिया राम्ररी फस्टाउने विज्ञ बताउँछन्।  बिरुवा लगाएको ६ देखि १० वर्षभित्र नै आम्दानी दिन थाल्ने भएका कारण पनि यसको खेतीतर्फ आकर्षण बढेको जिल्ला वन कार्यालयका वन अधिकृत प्रकाश लम्सालले जानकारी दिए।

एकपटक रोपेको बिरुवाबाट चारपटकसम्म काठ काट्न मिल्ने र एक बोटबाट तीन लाख रुपैयाँसम्मको काठ उत्पादन हुने लम्सालले जानकारी दिए । परीक्षण सफल भएमा पाल्पाका विभिन्न सामुदायिक वनमा पाउलोनिया लगाइने लम्सालले बताए। एकपटक रोपेको पाउलोनियाबाट चारपटकसम्म काठ काट्न मिल्ने र एक बोटबाट तीन लाख रुपैयाँसम्मको काठ उत्पादन हुने विज्ञले बताएका छन्।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :