स्याङ्जाको कफी जापान पुग्यो

यो समाचार 218 पटक पढिएको

स्याङ्जा, १६ साउन / स्याङ्जामा उत्पादित कफी जापान निर्यात गरिएको छ। जिल्ला कफी व्यवसायी संघ स्याङ्जामार्फत यस वर्ष १० मेट्रिक टन ग्रिन बिन कफी जापान निर्यात गरिएको हो। यहाँ उत्पादित कफी जापानको नागोया सहरस्थित शान्ति शान्ति कफी कम्पनीलाई निर्यात गरिएको हो।

Coffe Fruit, Newsagroनेपाली मूल्यअनुसार ८० लाख रुपैयाँको कफी जापान निर्यात भएको हो। ग्रिन बिन कफी प्रतिकिलो आठ सय रुपैयाँमा बिक्री हुँदै आएको छ। यसैगरी २५ मेट्रिक टन हाइल्यान्ड कफी प्रमोसन लिमिटेडमार्फत निर्यात गरिएको छ।  स्याङ्जामा उत्पादित कफी अर्गानिक र निकै स्वादिलो भएको पारखीले बताउने गरेको पुतलीबजार नगरपालिका १३ करेनडाँडाका कफी व्यवसायी कृष्ण केसीले बताए। उनले भने, ‘यस वर्ष जापानीले २० मेट्रिक टन कफी माग गरे पनि पूरा गर्न सकेनौं, आगामी दिनमा पूरा गर्नेछौं।’

किसानले मूल्य राम्रो पाएपछि स्याङ्जामा कफी उत्पादनमा पनि बढेको छ। गत वर्षको तुलनामा यस वर्ष कफी उत्पादन बढेको कफी व्यवसायी संघ स्याङ्जाले जनाएको छ। गत वर्ष ४८.५ मेट्रिक टन (४८ हजार पाँच सय किलो) कफी उत्पादन हुँदा ९२ लाख रुपैयाँ आम्दानी भएको थियो। यस वर्ष ५०.५ मेट्रिक टन कफी उत्पादन भएको छ। यसबाट एक करोड ६१ लाख ५० हजार रुपैयाँ आम्दानी भएको छ।

नेपाली मूल्यअनुसार ८० लाख रुपैयाँको कफी जापान निर्यात भएको छ। मागअनुसार निर्यात गर्न अझै नसकेको उत्पादकले बताएका छन्। गत वर्ष कफीको मूल्य प्रतिकिलो ६० रुपैयाँ थियो भने यस वर्ष ८० रुपैयाँ रहेको कफी व्यवसायी संघका अध्यक्ष फणिनारायण अर्यालले जानकारी दिए। ३८.५ मेट्रिक टन जिल्ला कफी व्यवसायी संघमार्फत संकलन गरिएको हो भने १२ मेट्रिक टन अन्य संकलन केन्द्रमा संकलन गरिएको हो।

संकलित कफीमध्ये ३१.५ मेट्रिक टन पार्चमेन्ट र सात मेट्रिक टन ड्राइचेरी हो। पार्चमेन्ट र ड्राइचेरीको हालको मूल्य क्रमशः चार सय ५० र दुई सय प्रतिकिलो रहेको कफी व्यवसायी संघकी लेखा प्रमुख माया तिवारीले बताइन्। जिल्लामा २०५६ सालदेखि व्यावसायिक कफी खेती सुरु गरिएको हो। करिब दुई सय ७० हेक्टर क्षेत्रफलमा कफी खेती गरिँदै आएको कफी व्यवसायी बोधराज अर्याल बताउँछन् । पुतलीबजार नगरपालिका १३ निवासी अर्यालले ७० रोपनी जग्गामा कफी खेती गरेका छन्।

यसैगरी अर्जुनचौपारी २ थापाथोक निवासी फणिनारायण अर्याल, पुतलीबजार नगरपालिका १३ करेनडाँडाका भूमिजंग केसी, वालिङ नगरपालिकाका यामबहादुर गुरुङ, आरुखर्क गाविसका शिवप्रसाद सुवेदी, ठूलाडिही गाविसका मनोहरि रेग्मी, फापरथुक गाविसका बुद्धिसागर ढकालले कफी खेती गर्दै आएका छन्। उनीहरूले कफीबाट वार्षिक लाखौं रुपैयाँ आम्दानी गर्ने गरेका छन्। पाखोबारी र वनजंगलभित्र पनि कफी उत्पादन हुने कफी किसान शिव सुवेदीले बताए। रोपेको दुईतीन वर्षमै फल दिने हुँदा कफी खेतीतर्फ किसानको आकर्षण बढेको उनको भनाइ छ। राम्रो मूल्य पाएका कारण पनि किसान कफी लगाउन हौसिएको उनले बताए।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :