‘कालो सुन’ अर्थात भैंसी !

यो समाचार 259 पटक पढिएको

मधुसुधन गुरागाईं
काभ्रे, १६ साउन जिल्ला पशु सेवा कार्यालय काभ्रेमा पशुपालन (दूध उत्पादन) पेशा अंगाल्न चाहने किसान र व्यवसायीहरुको संख्या बढ्दा पशु चिकित्सक मणिप्रसाद सापकोटाको दैनिकीसमेत नेपाली कृषकहरुले बढी मन पराएको भैंसीपालनको प्रवर्द्धनमा बित्न थालेको छ।

Bufaloकार्यकक्षको भित्तामा टाँगिएको ‘भैंसीः कालो सुनु नामको पोस्टरमा भैंसीको महत्वबारे उल्लिखित तथ्यहरुलाई उनी किसानहरुमाझ जानकारी बाँड्दै रहेका भेटिन्छन्। ‘भैंसी बहुपयोगी पशु भएकाले उत्पादनशील अवस्था र दूध थाकेका बखतसम्म किसानलाई फाइदा नै हुन्छ। यसैले पनि भैंसी पाल्दा बेफाइदा हुने गुन्जायस नै रहन्न,’सापकोटा भन्छन्। काभ्रे जिल्लामा धेरै अगाडिदेखि भैंसीपालन हुँदै आएको भए पनि व्यावसायिक रुपमा पालन हुन थालेको १ दशक भएको उनको भनाइ छ। सुरुसुरुमा काभ्रे जिल्ला नजिकैको भैंसीस्रोत सिन्धुलीको झाँगाझोली रातामाटा थियो। यहाँदेखिका किसानहरु उता पुगेर भैंसी किन्ने र हिँडाएरै भैंसी ल्याउने चलन रहेको सापकोटाको भनाइ छ। ‘त्यतिखेर ल्याइएका लिमे र पारकोटे जातका भैंसीलाई मुर्रा जातिको क्रस गराएर उन्नत भैंसी उत्पादन हुँदै आएको हो। पछि तराईबाट मुर्रा र मुर्राका क्रस भैंसीहरु आउन थालेपछि किसानहरु भैंसीपालनमा आकर्षित भएका हुन्,’ उनले भने।

नेपालका दुग्ध संकलन केन्द्रहरुले फ्याटका आधारमा दूध किन्दै आएका छन्। यस्तै, खुवा घोट्दै आएका उद्यमीहरुको रोजाई भैंसीको दूध हुने गरेको छ। गाईको दाँजोमा फ्याट बढी हुने भएकाले अधिकांश किसानको रोजाई भैंसी हुने गरेको सापकोटाको भनाइ छ। ‘गाईको दाँजोमा मूल्य बढी पर्ने भए पनि दूध, फ्याट, उमेरमात्रै नभई रुपका कारणसमेत भैंसीलाई किसानले रुचाएका छन्। शहरनजिकै गाई पाल्नेहरुको संख्या बढी रहे पनि भने जिल्लाका अधिकांश गाउँमा भैंसी पाल्ने किसानको बाहुल्य छ,’ उनको अनुभवले भन्छ।

पछिल्लो समयमा भैंसीको मूल्य आकाशिएपछि कार्यालयले पाडा–पाडी हुकार्उने र थारो भैंसीलाई उत्पादनशील बनाउने किसानहरुलाई अनुदान दिन थालेको छ। भैंसीपालनमा आकांक्षीहरु धेरै भए पनि सीमित किसानले मात्रै सरकारी अनुदान पाउन थालेका छन्। यसरी सरकारी अनुदान पाएलगत्तै काभ्रेका दुई किसानले व्यावसायिक रुपमै पाडा–पाडी हुकार्उने र थारो भैंसीलाई उत्पादनशील बनाउने कार्यको थालनी गरेका छन्।

ढुंखर्क–२, मा वेदप्रसाद तिमल्सिनाले थानी महांकाल नमूना पशुपालन उद्योग स्थापना गरेका छन्। वर्षको ५० वटा थारो भैंसी संकलन गर्दै तीनको पोषण, परजीवी नियन्त्रण र प्रजनन स्वास्थ्य सुधार गर्दै उत्पादनशील अवस्थामा पुर्यौउने काम गरिरहेका छन्। उनलाई सरकारले दुई पटक गरी १६ लाख रुपैंया अनुदान दिएको छ। उता, जिल्लाकै विकट कोशीपारिको नाग्रेगागर्चे–६ का दिनेश लामाले तामाखानी अर्गानिक भिलेजमा पाडापाडी हुर्काउन थालिसकेका छन्। सरकारले उनलाई ४ लाख रुपैंया अनुदान उपलब्ध गराएको छ। मासुका लागि एक लटमा १ सय वटा पाडा हुर्काएर बिक्री गरिसकेका छन्। यस पटकदेखि दूध उत्पादनका लागि पाडी हुर्काउने योजना बनाएका छन्।

सरकारी सहयोगबाट मात्रै नभई बैंकको ऋण सहयोगमा समेत किसानले भैंसी जोगाउनकै लागि फार्म समेत स्थापना गरेका छन्। पनौती–२, नैकिन्टारमा चन्द्रप्रसाद न्यौपानेले चन्द्रतारा नमूना कृषि फार्ममा ३० वटा दुहुनो भैंसी पालिरहेका छन्। विदेशको भिसा त्यागेर १० वर्षअघि सुरु गरेको भैंसी फार्ममा हालसम्म ५० लाखभन्दा बढी लगानी गरिसकेका छन्। कृषि विकास बैंकले उनलाई ३० लाख ऋण लगानी गरेको छ।

‘गाई थारो भएमा र बाच्छो जन्मिएमा चौरमा लगेर छाडनुबाहेक विकल्प थिएन तर भैंसीको हकमा दूध थाकेको अवस्थामा फेरि पालेर राख्ने या मासुका लागि पठाउने भन्नेमा किसानसँग विकल्प रहेकाले भैंसी फाइदाजनक देखिन्छ,’ न्यौपानेले भने। उता, बिमा कम्पनीले साथ दिएकाले पशुबस्तुको मृत्यु भएमा क्षतिपूर्ति पाइने भएकाले भैंसीपालनमा ढुक्क हुने अवस्था रहेको समेत उनी बताउँछन्।

केही वर्षयता भारतको बिहारमा भैंसीपालक किसानको संख्या बढेकाले नेपालमा भैंसीको अभाव र मूल्यवृद्धि भएको व्यवसायीहरुको भनाइ एकातिर रहँदा किसानहरुकै रवैयाले भैंसीको मोल बढेको तर्क न्यौपानेको छ। ‘जनआन्दोलन २०६२र६३ मा १९ दिन बन्द हुँदा तराईबाट भैंसी आएन। काठमाडौं उपत्यकाबाट गाउँ–गाउँ छिरेका भैंसीका दलालहरुले दुहुनो भैंसीलाई मासुको प्रयोगलाई किन्दै लगेपछि भाउ एक्कासी बढेको हो,’ न्यौपानेले भने, ‘ढुंखर्क, कुशादेवी, कुन्ताबेसी, नालाजस्ता भैंसीको पकेटक्षेत्रमा बढी पैसा आउनसाथ किसानले समेत लोभमा दुहुनो भैंसी बेच्न थाले। त्यतिखेर दूध उत्पादन श्रृंखलामा पुगेको असरले यतिखेर भैंसीको मोल बढायो,’ उनले थपे।

यतिखेर कम्तीमा ६० हजारदेखि बढीमा १ लाख ३० हजार रुपैयाँसम्ममा भैंसीको किनबेच हुन थालेको छ। भैंसीको मूल्यलाई दूध उत्पादन क्षमता, बेत र रुपले समेत प्रभाव पार्ने उनको भनाइ छ। ‘दूध दिइरहँदा जेनतेन लागत उठाउन सकिएपनि दूध थाकेर ब्याउने बेलाका चार–पाँच महिनाका लागि किसानलाई थप मद्दत आवश्यक पर्छ। त्यतिखेर आम्दानी नै हुँदैन। महँगो दाना, ढुटो र पराल खुवाएर भैंसी पालिराख्न किसानलाई हम्मेहम्मे पर्छ। यस्तोमा सरकारले राहत दिएर भए पनि भैंसीपालक किसानलाई टिकाउनु पर्छ,’ न्यौपानले थपे।

जिल्ला पशु सेवा कार्यालयले भैंसीपालनमा संलग्न किसानहरुलाई प्राविधिक सल्लाह, खोरेतको भ्याक्सिन, जुका नाम्लेको औषधि र पोषिलो घाँसको बीउहरु उपलब्ध गराउँदै आएको छ। काभ्रे जिल्लामा आर्थिक वर्ष ०७१/७२ मा कूल भैंसीको संख्या १ लाख ३६ हजार वटा रहेको छ। यिनमा ५० हजारको हाराहारीमा दूध उत्पादन हुने भैंसी रहेको कार्यालयको भनाइ छ। जिल्लामा मात्रै नभई केन्द्रीयतहमा समेत पशु उत्पादन निर्देशनालयअन्तर्गत खाद्य सुरक्षा प्रवर्द्धन आयोजनाले २०६७ फागुनदेखि देशैभरि भैंसीको नश्ल सुधार कार्यमार्फत दूध उत्पादन बढाउनमा मद्दत गर्दै आएको छ। कार्यक्रमले नश्लसुधार भएका प्रति भैंसीले ३ हजार ८ सयदेखि ४ हजार लिटरसम्म प्रतिबेत उत्पादन भएको जनाएको छ।

यस्तै भैंसी आनुवांशिक सुधार कार्यक्रमअन्तर्गत १२ जिल्लाबाट प्राप्त दूधको परीक्षणका आधारमा नार्कमा तथ्यांक विश्लेषण भइरहेको पनि जनाएको छ। पशुपालनबाट कृषि ग्राहस्थ उत्पादनमा पुग्ने योगदानमध्ये भैंसीले ५३ प्रतिशत हिस्सा आगेटेको केन्द्रीय गाईभैंसी प्रवर्द्धन कार्यालयले जनाएको छ। यस्तै, एक अध्ययनले नेपालमा दूधालु भैंसीको मागलाई धान्न भारतबाट वर्षेनी ४ लाख वटा भैंसी ल्याइने गरिएको हुँदा ४० अर्बभन्दा बढी रकम उता जाने गरेको देखाएको छ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :