खडेरी जिल्लामा आठसय स्यालो टयुववेल जडान गरिने

यो समाचार 239 पटक पढिएको

काठमाडौं/ खाद्यान्न भण्डार भनेर चिनिने तराईका आठ जिल्ला बर्षेनी खडेरीको मारमा पर्न थालेपछि खाद्य सुरक्षामा परेको प्रभावलाई न्युनिकरण गर्न सरकारले त्यस्ता जिल्लामा स्यालो टयुववेल जडान गर्ने भएको छ । सरकारले यही साउन महिनाभरमा आठ जिल्लामा आठसयभन्दा बढी यस्ता टयुववेल जडान गर्न लागेको हो ।

Rice

धानको प्रमुख उत्पादन केन्द्र सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहठ, बारा र पर्सा जिल्लामा अकाशे पानीको अभावमा बर्षेनी विकराल खडेरी पर्न थालेको छ । खडेरीका कारण खाद्यान्न उत्पादनमा प्रतिकूल असर पुगेको भन्दै कृषि विकास मन्त्रालयले सिंचाई मन्त्रालयको सहकार्यमा ति आठ जिल्लामा यही साउन महिनाभित्रमा आठसय थान स्यालो टयुववेल जडान गर्न लागेको हो । यो बर्ष पनि ति आठ जिल्लामा राम्रो उत्पादन हुन नसके १२ अर्ब मूल्यबराबरको राज्यले घाटा व्यहोर्नु पर्ने मन्त्रालयले निश्कर्ष निकालेको छ ।


कृषि विकास मन्त्रालयले सिंचाई मन्त्रालयको सहकार्यमा तराईको आठ जिल्ला सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहठ, बारा र पर्सा जिल्लामा अकाशे पानीको विकल्पमा स्यालो टयुववेल जडान गर्न लागेको हो । टयुववेल जडानमा लाग्ने कूल खर्चमध्ये किसानले १५ देखि २० प्रतिशत र बाँंकी सरकारले व्यहोर्ने छ । कृषि मन्त्रालयका प्रवक्ता उदयचन्द्र ठाकुरका अनुसार कृषि बिभागले शुक्रबारदेखि टयुववेल जडान गर्ने कार्यको सुरुआत गर्दैछ ।

मन्त्रालयकाअनुसार गत मंगलबार उपप्रधान तथा कृषि विकासमन्त्री बामदेव गौतमको अध्यक्षतामा बसेको बैठकले तराईको आठ जिल्लामा सिंचाई अभावका कारण धान रोपाईमा ठूलो क्षति पुगेको निश्कर्ष निकालेको थियो । बैठकमा सहभागी मुख्य सचिब लिलामणि पौड्याल, सिंचाई सचिब, कृषि सचिबलगायतकाले आठ जिल्लामा धान रोपाई हुन नसके राज्यले १२ अर्बभन्दा बढीको नोक्सानी व्यहोर्नुपर्ने निश्कर्ष निकाल्दै प्रत्येक जिल्लामा कम्तिमा सय थान गरी आठ जिल्लामा आठसय स्यालो टयुववेल जडान गर्ने निर्णय गरेको थियो । ‘सोही निर्णयअनुसार कृषि बिभागले शुक्रबारदेखि स्यालो टयुववेल जडानसँंगै उन्नत प्रविधिबाट धान रोपाई(एसआरआरआई) अभियान सुरु गर्दैछ,’ मन्त्रालयका प्रवक्ता ठाकुरले भन,यो नीतिबाट केही हदसम्म धान रोपाईलाई खडेरीको मारबाट जोगाउन सकिन्छ ।’ एसआरआरआई प्रविधिबाट धान रोपाई गर्दा अत्यन्त थोरै पानी, मल र जनशक्ति आवश्यक पर्छ ।


‘तीन सातापछिको बीउ बुढो भइसक्छ । पर्याप्त रुपमा नियमित पानी परेपनि यस्तो बीउको प्रयोग गरेर रोपाई गर्दा उत्पादन भने राम्रो दिदैंन् । ढिलो गरी रोपिएका बीउका कारण १५ देखि २० प्रतिशतसम्म उत्पादनमा ह्रास आउन सक्ने सम्भावना हुन्छ ।’
-डा. दिलिप सेरचन, धान बैज्ञानिक, नेपाल कृषि अनुसन्धान परिषद(नार्क)


उनकाअनुसार साउनको दोश्रो साता बित्दा पनि मुलुकभर साढे ६७ प्रतिशतको हाराहारीमा मात्र मुलुकभर धान रोपाई सम्पन्न भएको छ । तुलनात्मक रुपमा सिंचाईको अभावमा हिमाली क्षेत्रबाहेक गत बर्षको तुलनामा यो बर्ष पहाडी र तराई क्षेत्रमा केही कम परिमाणमा धान रोपाई सम्पन्न भएको छ । मन्त्रालयको तथ्याँंकअनुसार गत बर्ष यही अबधीमा मुलुकभर ७१ प्रतिशत रोपाई सम्पन्न भएको थियो । अघिल्लो बर्ष २०७० मा ७८.१ र त्यसअघिको बर्ष २०६९ मा ४६ प्रतिशत रोपाई भएको थियो । करिब ७० प्रतिशत अकाशे पानीको भरमा हुने धान रोपाईको अवस्थामा यो बर्ष पनि सुधार हुन नसकेको धान बिज्ञहरुले औल्याएका छन् । पानीका कारण कम रोपाई हुँंदा कृषि मुलुक भनेर चिनिने नेपाल पछिल्लो समयमा धानमा परनिर्भर हुँंदै गएको छ । नेपाल राष्ट्र बैंकको तथ्याँंक अनुसार आर्थिक बर्ष ०७१।०७२ को ११ महिनामा भारतबाट १३ अर्ब ७४ करोड ३८ लाख रुपैयाँंबराबरको चामल आयात भएको छ । अघिल्लो बर्षको सोही अवधीको तुलनामा २४ प्रतिशतले बढी परिमाणमा चामल आयात भएको हो ।

प्रवक्ता ठाकुरकाअनुसार गत बर्ष २०६९ को तुलनामा बढी र अघिल्लो बर्ष २०७० तथा २०७१ को तुलनामा केही कम परिमाणमा तराई क्षेत्रमा रोपाई सम्पन्न भएको छ । यो बर्ष अहिलेसम्म तराईमा ६३.९ प्रतिशतको हाराहारीमा रोपाई सम्पन्न भएको छ । अघिल्लो बर्ष २०६९, २०७० र २०७१ म क्रमश ः उक्त क्षेत्रमा ३९, ७४ र ६७ प्रतिशत रोपाई भएको थियो । हिमाली क्षेत्रमा भने ८१.३ र पहाडी क्षेत्रमा ७४.२ प्रतिशतले रोपाई सम्पन्न भएको छ ।


धान रोपाईको चार बर्षको अवस्था(प्रतिशतमा)

क्षेत्र                   २०७२                २०७१                   २०७०                  २०६९

तराई                     ६३.९                     ६७                      ७४.०                    ३९
पहाड                     ७४.२                     ७९                      ८६.१                    ६१
हिमाल                  ८१.३                     ७६                      ८८.९                     ७२
तथ्याँंक साउन दोश्रो सातासम्मको
श्रोत: कृषि विकास मन्त्रालय


बिज्ञहरुका अनुसार धान रोपाईको लागि सबैभन्दा उत्तम समय असार १५ देखि साउन १५ सम्मको समयलाई मानिन्छ । तर यो अवधीसम्म धान उत्पादनको मुल्य थलो तराईमा अत्यन्त थोरै परिमाणमा रोपाई सम्पन्न भएको छ । साउन महिनापछि हुने धानवालीको रोपाईले अत्यन्त कम उत्पादन दिन्छ । तराईका जिल्लामा ५० प्रतिशतको हाराहारीमा पनि रोपाई भएको छैन् । धान उत्पादनमा तराई क्षेत्रले करिब ८० प्रतिशत योगदान पु¥याउछ ।

नेपाल कृषि अनुसन्धान परिषद(नार्क) का बरिष्ठ धान बैज्ञानिक डा. दिलिप सेरचनले साउनपछि हुने रोपाईले भने उत्पादनमा राम्रो प्रतिफल दिन नसक्ने जानकारी दिए । उनकाअनुसार राम्रो उत्पादन लिनका लागि तीन साताको बीउको व्याडले राम्रो उत्पादन दिन्छ । ‘तीन सातापछिको बीउ बुढो भइसक्छ,’ सेरचनले भने, ‘पर्याप्त रुपमा नियमित पानी परेपनि यस्तो बीउको प्रयोग गरेर रोपाई गर्दा उत्पादन भने राम्रो दिदैंन् ।’ डा. सेरचनले ढिलो गरी रोपिएका बीउका कारण १५ देखि २० प्रतिशतसम्म उत्पादनमा ह्रास आउन सक्ने सम्भावना भएको जानकारी दिए । समयमा अकाशे पानी नपर्दा बीउको ब्याड सुक्नुका साथै धान खेतमा धाँंजा फाटेको छ । तराईको धान रोपाईसम्बन्धि स्थलगत अध्ययन गरेर बिहिबार राजधानी फर्केका डा. सेरचनले पानीको अभावमा तराईमा धान रोपाईको अवस्था डरलाग्दो भेटिएको जानकारी दिए । मौसमविद्ले भने यो बर्ष सुख्खा खडेरी पर्ने प्रवल सम्भावना भएको चेतावनी दिएका छन् । यो बर्ष पूर्व र पश्चिमी क्षेत्रबाहेक अन्य क्षेत्रमा औसतभन्दा कम परिमाणमा कहिले ठूलो र कहिले सानो अनियमित रुपमा पानी पर्ने जानकारी बिज्ञले दिएका छन् ।

मन्त्रालयका बरिष्ठ तथ्याँंक अधिकृत हेमराज रेग्मीकाअनुसार तराईको सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही र रौतहठ जिल्लामा तुलनात्मक रुपमा अहिले पनि अत्यन्त कम रोपाई भएको छ । गत बर्ष २०७१ मा सिराहामा ४३ प्रतिशत रोपाई भएकोमा यस बर्ष १८ प्रतिशत सम्पन्न भएको छ । यसैगरी सप्तरीमा गत बर्ष ४० प्रतिशत भएकोमा यस बर्ष २९ प्रतिशत सम्पन्न भएको छ । धनुषामा २०, महोत्तरीमा २२, सर्लाही र रौतहठमा ३५ प्रतिशत रोपाई भएको छ । त्यसैगरी बारामा ५५, पर्सामा ६०, सुनसरीमा ६७, झापामा ६८, कपिलबस्तुमा ७०, मोरंगमा ७३, रुपन्देहीमा ७५ र नवलपरासीमा ९८ प्रतिशत रोपाई सम्पन्न भएको छ ।

मन्त्रालयकाअनुसार १५ लाख ३१ हजार हेक्टर क्षेत्रफलमा धान उत्पादन हुँंदैआएपनि पछिल्लो समयमा खेतीयोग्य क्षेत्रफल भौतिक पूर्वाधार, प्लटिंग र अन्य प्रयोजनमा प्रयोग भएपछि हाल १४ लाख २० हजार हेक्टरमा धानको खेती हुँंदै आएको छ । अहिलेसम्म मुलुकभर नौं लाख ६० हजार हेक्टरमा मात्रै रोपाई सम्पन्न भएको छ । कूल गार्हस्थ उत्पादन(जिडिपी)मा कृषिको करिब ३५ प्रतिशत र धानले मात्रै करिब २० प्रतिशत योगदान पुरयाउदै आएको छ । कूल खाद्यान्नमध्ये धानले ५० प्रतिशत हिस्सा ओगटेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :