तनहुँमा १३.२ मेट्रिक टन मह उत्पादन

यो समाचार 438 पटक पढिएको

दमौली, १४ साउन/ तनहुँमा यो वर्ष मह उत्पादन वृद्धि भएको छ । मौरीपालन तर्फ कृषकहरु आकर्षित हुन थालेपछि जिल्लामा मह उत्पादनमा वृद्धि आएको हो । आर्थिक वर्ष २०७१/७२ मा जिल्लामा १३.२ मेट्रिक टन मह उत्पादन भएको कृषि विकास कार्यालय तनहुँले जनाएको छ ।

Honey Newsagrocomयो उत्पादन गत वर्षको भन्दा २२ प्रतिशतले बढि हो । उत्पादित मह विक्रीबाट जिल्लाका कृषकले ६० लाख भन्दा बढि आम्दानी लिन सफल भएका छन् । छोटो समयमा राम्रो आम्दानी लिन सकिने भएपछि जिल्लाका कृषकहरु मौरीपालन तर्फ आकर्षित हुन थालेको कृषि विकास कार्यालय तनहुँका वरिष्ठ कृषि विकास अधिकृत राजेन्द्रकुमार मल्लले बताए । घरमै बसी–बसी मौरीपालनबाट मनग्य आम्दानी हुने भएपछि मौरीपालन गर्ने कृषकको संख्या बढ्दै गएको उनले जानकारी दिए ।

कार्यालयले मौरीपालनमा युवाको आकर्षण बढाउन विभिन्न कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ । यो वर्ष कार्यालयले युवा लक्षित कृषि कार्यक्रम अन्तर्गत मौरीपालनका लागि २८ जना युवालाई अनुदान प्रदान गरेको छ । जिल्लाका विभिन्न गाविसका २८ युवा छनौट गरी प्रत्येकलाई १ लाख २८ हजारका दरले अनुदान प्रदान गरेको मल्लले बताए ।

कार्यालयले जिल्लाको आँबुखैरेनी, जामुने, ढोरफिर्दी, तनहुँसुरमा क्लष्टर बनाई ती युवा लक्षित मौरीपालन कार्यक्रम अन्तर्गत ३६ लाख रुपैयाँ अनुदान दिएको छ । जसका कारण विदेशबाट फर्किएर आएका युवा समेत अहिले मौरीपालन गरिरहेका छन् । ‘युवा लक्षित कृषि कार्यक्रम अन्तर्गत मौरीपालनका लागि दिइएको अनुदानले समेत मौरीपालनमा आकर्षण बढ्दो छ,’ वरिष्ठ कृषि विकास अधिकृत मल्लले भने । मौरीपालनका लागि कृषि कार्यालयले जामुने, थप्रेक, ढोरफिर्दी, पुर्कोट, चोक, रुपाकोट, छिम्केश्वरी, बन्दिपुर, क्यामीन, बरभञ्ज्याङ्ग, रानीपोखरी, देउराली लगायतका गाविसलाई पकेट क्षेत्रको रुपमा पहिचान गरेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :