हावाहुरीले २ करोड मूल्यको केरा नष्ट

यो समाचार 152 पटक पढिएको

महेन्द्रनगर, १४ साउन / कञ्चनपुरको पुनर्वास नगरपालिकामा असार ३१ गते आएको हावाहुरीले २ करोड ३४ लाखभन्दा बढी मूल्यको केरा नष्ट भएको छ । हावाहुरीले केराखेती नष्ट हुँदा मर्का परेको भन्दै राहातको माग गरेर किसानहरु सदरमुकाम पुगेका छन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला कृषि विकास कार्यालय कञ्चनपुरमा राहातका लागि माग गरिएको त्रिभुवन केराखेती कृषि समूहका अध्यक्ष रामप्रसाद सुवेदीले बताए । उनका अनुसार क्षति अनुसारको राहात नपाएको अवस्थामा केरा किसानले व्यवसाय धरापमा पर्ने अवस्था आएको छ । ‘कृषि कार्यालयले किसानलाई समस्या पर्दा ध्यान दिएको छैन,’ अध्यक्ष सुवेदीले भने, ‘कृषि सेवा केन्द्र पुनर्वासलाई जानकारी गराउँदा कृषि कार्यालयले क्षतिको मूल्याङ्कन र राहातको पहलमा तदारुकता देखाउनुपर्ने भएपनि कृषि कार्यालयले लापरवाही गरिरहेको छ ।’ २ करोडभन्दा बढी मूल्य बराबरको केराखेती नष्ट भएको समस्यालाई कृषि कार्यालयले सामान्य रुपमा लिँदा केरा किसान समस्यामा परेका छन् ।

स्थानीय कृषि सेवा केन्द्र पुनर्वासले तयार गरेको विवरण अनुसार हावाहुरीले पुनर्वासका ६१ किसानले ५२ विगाहामा लगाएको केराखेती नष्ट भएको सेवा केन्द्र प्रमुख धर्मबहादुर साउँदले बताए । उनका अनुसार सेवा केन्द्रले प्रत्येक किसानको केराखेती क्षेत्रफल र क्षति भएको केराको मूल्य निकालेको छ । सेवा केन्द्रले तयार गरेको विवरणसहित राहातको माग गर्दै किसानहरु प्रशासन र कृषि कार्यालयमा धाउन थालेका छन् । ‘सरकारी संयन्त्रले किसानको समस्या नबुझेपछि पत्रकारहरुले पहल गरिदिनु पर्यो,’ पुनर्वास नगरपालिकाकी महिला कृषक रेवती ढकालले भनिन्, ‘केराखेतीमा क्षति हुँदा किसानहरु हतोत्साहित भएका छन् ।’

‘सरकारी निकायले किसानको समस्यामा ध्यान दिएको छैन,’ पुनर्वासका स्थानीय तथा राष्ट्रिय जनमोर्चा कञ्चनपुरका नेता लोकेन्द्र लम्सालले भने, ‘किसानले राहात पाउन आन्दोलन गर्नुपर्ने अवस्था आएको छ ।’ व्यवसायिक रुपमा केराखेती गरिरहेका किसानले केरा बीमा नगरेका कारण झनै समस्या भएको छ । कञ्चनपुरमा केरा बीमा कार्यक्रम लागू भएको भएपनि व्यवसायिक चेतनाको अभावका कारण बीमा नगरिएको किसान रामप्रसाद सुवेदीले बताए ।

किसानको समस्यालाई मध्यनगर गर्दै जिल्ला प्रकोप उद्दार समितिले आवश्यक राहातका लागि केन्द्रमा सिफारिस गर्ने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोविन्दबहादुर कार्कीले बताए । उनका अनुसार क्षतिको स्थलगत अवलोकन गर्न बिहीबार जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रतिनिधिसहित कृषि कार्यालयको टोली पुनर्वास जाने तयारी भइरहेको छ । ‘स्थलगत अवलोकनपछि क्षतिको विवरण अध्ययन गरेर राहातका लागि केन्द्रीय निकायमा सिफारिस गरिने छ,’ प्रमुख जिल्ला अधिकारी गोविन्दबहादुर कार्कीले भने ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :