करोड लगानीमा एसीयुक्त तरकारी बजार

यो समाचार 393 पटक पढिएको

टोपराज शर्मा

करोड लगानीमा एसीयुक्त तरकारी बजारबुटवल, १४ साउन / पहाडी जिल्लाका कृषि उपजको कारोबार गर्दै आएको पैंचो पसल प्रालिले बुटवलमा एसीयुक्त तरकारी तथा कृषि उपज बजार सञ्चालनमा ल्याएको छ । अघिल्लो वर्षदेखि गुल्मी र पाल्पाका १२ गाविसका कृषकका उत्पादन खरिद गरी १५ वटा पैंचो पसल सञ्चालन गर्दै आएको प्रालिले बुटवलको सुख्खानगरमा १ करोड रुपैयाँ लगानीमा सुविधासम्पन्न तरकारी तथा कृषि उपज बजार सञ्चालनमा ल्याएको हो ।

प्रालिका प्रबन्ध सञ्चालक ध्रुव न्यौपानेका अनुसार ४ कठ्ठा जग्गामा सरकारी मापदण्डबमोजिम भवन र अन्य पूर्वाधार बनाई व्यवस्थित रूपमा बजार सुरु गरिएको यो नेपालकै एकमात्र वातानुकुलित तरकारी बजार  हो । बजारमा तरकारी, फलफूल र अन्य खाद्यान्न सामानका थोक र फुटकर अलग–अलग बिक्री कक्ष, पर्याप्त पार्किङ क्षेत्र, शौचालयलगायत सुविधाहरु छन् । १६ जनाले रोजगारी पाएको बजारमा गुल्मीका हुंगा, हर्दिनेटा, दिगाम, बलेटक्सार, थानापति, रिमुवा, पल्लीकोट, रुरु, ग्वादी, बम्घा र अस्लेवा तथा पाल्पाको अर्गली गाविसका कृषकले उत्पादन गरेका अग्र्यानिक तरकारी, फलफूल र खाद्यान्न बिक्री गरिन्छ ।

यहाँ नेपालका तराई क्षेत्र र भारतबाट आयातीत तरकारी, फलफूल र खाद्यान्न बिक्री नगरिने प्रालिका प्रबन्ध सञ्चालक न्यौपानेले जानकारी दिए । “उपभोक्तालाई पहाडी क्षेत्रका ताजा र स्वच्छ अग्र्यानिक तरकारी तथा फलफूल उपलब्ध गराउने उद्देश्यले नमुनाको रूपमा व्यवस्थित तरकारी तथा कृषि उपज बजार सञ्चालनमा ल्याएका हौं,” न्यौपानेले भने ।

प्रालिले आफ्नै मिनी ट्रकमार्फत गुल्मी र पाल्पामा उत्पादन भएका तरकारी र फलफूललगायत कृषि उपज उसैदिन बिहानै बुटवल ल्याउँछ । बुटवलमा पहिलोपटक सुविधायुक्त र व्यवस्थित तरकारी बजार सञ्चालनमा आएकाले दैनिक सरदर ६ सयजना उपभोक्ता किनमेलका लागि आउने गरेको पैंचो पसल प्रालिका व्यवस्थापक केशव न्यौपानेले बताए । “व्यवस्थित र संगठित बजारीकरणको अभावमा कृषकले आफ्ना उत्पादन त्यत्तिकै खेर फाल्ने वा न्यून मूल्यमा बेच्नुपर्ने बाध्यता अन्त्य गरी उचित मूल्य दिएर पहाडी क्षेत्रका तरकारी, फलफूल र कृषिजन्य उत्पादनलाई बढावा दिने हाम्रो मुख्य उद्देश्य हो,” उनले भने, “१२ गाविसमा काम गर्दा मात्रै करिब ४० हजार कृषकलाई व्यावसायिक कृषिमा लाग्न प्रेरित गरेका छौं । यस्तै काम अन्य जिल्लामा अरुले पनि गर्ने हो भने कृषि उपजको उत्पादन बढाएर आत्मनिर्भर हुन र बढ्दो व्यापार घाटा कम गर्न सकिन्छ ।”

१ वर्षअघिसम्म १२ वटा गाविसवाट वार्षिक १०/१५ लाख रुपैयाँको मात्रै तरकारी तथा फलफूल बिक्री हुने गरेकोमा पैंचो पसल सुरु भएपछि वार्षिक डेढ करोड रुपैयाँबराबरको उत्पादन बिक्री हुन थालेको अर्गलीका अगुवा कृषक निलकण्ठ भट्टराईले बताए । “कहिल्यै नबिक्ने गिठा, भ्याकुर, बेलौती, खन्युका दाना, भकिम्लोसमेत बिक्न थालेका छन्,” भट्टराईले भने । आफूले उत्पादन गरेका जुनसुकै उपज आफ्नै खेतबारीमा आएर खरिद हुने र बेच्न बजार धाउनु नपर्ने भएपछि अहिले गाउँमा व्यावसायिक तरकारी र फलफूल खेती गर्न शिक्षित युवा र विदेशबाट फर्केकाहरु आकर्षित भएको दिगामका कृषक मोहित कँडेलले बताए ।

कृषकका उत्पादन स्थानीय संकलन केन्द्रबाट वस्तु विनिमयका आधारमा खरिद गरी त्यसको सट्टामा कृषकलाई बीउबिजन, प्राविधिक सेवा, तालिम र अन्य दैनिक उपभोग्य सामान दिने गर्छ । १५ करोड लगानीमा सुरु भएको प्रालिले तरकारी बजारका १६ जनासहित ७० जनालाई प्रत्यक्ष रोजगारी दिएको छ । प्रालिले गुणस्तरीय कृषिजन्य तथा खाद्यान्न वस्तुको आपूर्ति गर्न गुल्मीको रिडीमा ४ करोड रुपैयाँमा प्रशोधन उद्योगसमेत निर्माण गरिरहेको छ । प्रालिले अग्र्यानिक कृषि उपजलाई विदेशसम्म निर्यात गर्ने योजना बनाएको प्रालिका अध्यक्ष दुर्गा भण्डारीले बताए । उत्पादित वस्तुहरुको भण्डारणका लागि आफ्नै कोल्डस्टोर स्थापना र प्याकेजिङ गर्ने तयारीमा रहेको भण्डारीले बताए ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :