कृषि उपजबाट एक वर्षमा रु. पच्चीस करोड

यो समाचार 211 पटक पढिएको

म्याग्दी, ४ साउन / म्याग्दीका किसानले विभिन्न किसिमका कृषि उपज निकासी गरेर एक वर्षको अवधिमा रु २५ करोडभन्दा बढी नगद भित्र्याएका छन् ।

Honey Newsagrocomम्याग्दीमा व्यावसायिक बालीमार्फत गत आर्थिक वर्ष २०७१/७२ मा रु २५ करोड २८ लाख ७० हजार भित्र्याएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । पोखरा, काठमाडौँ, कुश्मा र बागलुङमा सुन्तला, तरकारी, आलु र कफी निकासी गरेर सो नगद भित्रिएको वरिष्ठ कृषि विकास अधिकृत वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार व्यावसायिक रुपमा उत्पादित रु ४५ करोड, ६३ लाख २४ हजारबराबरको कृषि उपज जिल्लाभित्रै खपत भएको छ । “म्याग्दीमा सुन्तला, आलु, तरकारी, मह, माछा, कफी र च्याउको व्यावसायिक खेती विस्तार हुँदै गएको छ” अधिकृत श्रेष्ठले भने,‘व्यावसायिक रुपमा खेती गरिएको बालीबाट गत आवमा रु ७० करोडको कारोबार भएको छ ।”

कार्यालयका अनुसार जिल्लाभर व्यावसायिक रुपमा करिब सात हजार हेक्टरमा व्यावसायिक रुपमा विभिन्न प्रजातिका तरकारी, फलफूललगायत बालीको खेती भएको छ । जसबाट २९ हजार ६९१ मेट्रिक टन कृषि उपज उत्पादन भएको छ । यसैगरी म्याग्दीमा एक हजार ४८५ जना व्यावसायिक किसान नियमित र २९ हजार ५३४ जना किसानले मौसमी रुपमा रोजगारी पाएका छन् ।

गत आवमा एक हजार ९४५ मेट्रिक टन सुन्तला उत्पादन भएकामा एक हजार ३१६ मेट्रिक टन जिल्लाभित्र खपत भएको थियो । ५३१ मेट्रिक टन सुन्तला पोखरा र काठमाडौँको बजारमा निकासी भएको कार्यालयका बागबानी विकास अधिकृत वासुदेव पौडेलले जानकारी दिए ।

कार्यालयका अनुसार राम्चे, हिस्तान, घार, शिखलगायत गाविसमा उत्पादन भएको १६ हजार ४३५ मेट्रिक टन आलुमध्ये जिल्लाभित्र १२ हजार ६३४ मेट्रिक टन खपत भएको थियो । पाँच हजार २८२ मेट्रिक टन आलु पोखरा, काठमाडौँ, कुश्मा र बागलुङमा निकासी भएको छ ।

यसैगरी ११ हजार २७९ मेट्रिक टन तरकारी उत्पादन भएकामा जिल्लाभित्र सात हजार ४३४ र पोखरा, कुश्मा तथा बागलुङमा चार हजार १८५ मेट्रिक टन निकासी भएको देखिएको छ । यसैगरी १.१३ मेट्रिक टन कफी कुश्मा र बागलुङ निकासी भएको छ ।

छ मेट्रिकटन मह, दुई मेट्रिक टन माछा र १५ मेट्रिक टन च्याउ जिल्लाभित्रकै बजारमा खपत भएको छ । यसबाहेक म्याग्दीमा उत्पादन भएको मकैको बीउ र सिमी पनि देशका विभिन्न ठाउँमा निकासी हुने गरेको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :