कुखुरा , बंगुर र अप्सरा

यो समाचार 360 पटक पढिएको

नरेश फुयाँल

लमजुङ , २७ असार / सुन्दर भविश्यको सपनालाई साकार बनाउन मान्छले बर्तमानमा कतिसम्म सम्झौता गर्छ ? सन्तानको सपना सकार बनाउन बाबुआमाले कतिसम्म दुःखसँग पौंठेजोरी खेल्छन् रु यी दुई प्रश्नको उत्तर अप्सरा विकसँग छ । लमजुङ्ग सुन्दरबजार नगरपालिका परेवाडाँडा १२ की अप्सरा विक बगुर र कुखुरा सँगै दिनभरी लुकामारी गर्छिन्, र रात पनि सँगै कटाउँछिन् । बाँसको भाटाले बनाएको टहरोको एक छेउमा हुर्कदै गरेका बोइलर कुखुराका चल्ला त अर्को छेउमा एक हुल बंगुर । त्यती मात्रै होइन सँगै अप्सराको रात कटाउने ओछ्यान पनि छ । जहाँ उनी आफ्नो दिनभरीको थकान बिसाउछिन् ।

Bangoor Porkबंगुर र कुखुरा बेचेर उनले अहिले आफ्नो छोरालाई हेल्थ असिष्टेन्ट ९एचए० पढाइरहेकी छन् । “गरिबका लागि पनि सरकार छ भन्ने मलाई थाहा थिएन, श्री नमुना नागरिक सचेतना केन्द्रको सदस्य नहुन्जेल सम्म मलाई गाविस छ भन्ने पनि थाहा थिएन,” अप्सराले भनिन्, “हाम्रा लागि सामाजिक सुरक्षा भत्ता पनि आउँदो रहेछ । त्यो मलाई थाहा थिएन । भत्ता पनि यो केन्द्रमा आएपछि लिन सकें,” उनले अगाडी थपिन्, “मलाई कुखुरा र बंगुर अझै धेरै बनाएर पाल्न मन छ, मिल्छ भने सरकारले यसका लागि अझै धेरै ऋण दियोस् । म यसलाई व्यवसायीक रुपमा अघि बढाउन चाहान्छु ।”

अप्सराले विपन्न बस्तिमा विपन्न जनताको आयस्थर उकास्ने उद्देश्यले स्थानीय विकास मन्त्रालयले जिविस मार्फत सञ्चालन गरेको नागरिक सचेतना केन्द्रबाट ऋण लिएर सुरु गरेको बंगुर र कुखुरा पालन व्यवसायबाट गैरसरकारी संस्था पनि प्रभावित भएर वल्र्ड भिजनलगायतका संस्थाले पनि सहयोग गरेको बताइन् । उनी अहिले मासिक २० देखी ४० हजार सम्म आमदानी गर्छिन् । अप्सरा सँगै श्री नमुना नागरिक सचेतना केन्द्रमा ५० जना सदस्य छन् । अरुपनि अप्सरा जस्तै सबल र सक्षम हुदैछन् । उनीहरुलाई मात्रै खाँचो छ त लगानीको ।

श्री नमुना नागरिक सचेतना केन्द्रमै वडा नागरिक मञ्च पनि छ । स्थानीय निकायको अभावमा देशैभर गठन गरिएका यस्ता मञ्च मध्य यो १२ नम्बर वडाको संयोजक दिलबहादुर घर्ती हुन् । घर्तीले आफ्नो परिचय पनि दिन नसक्ने महिलाहरु अहिले आयआर्जनमा लागेको बताए । सहकारी गठन गर्ने तयारीमा रहेको भन्दै महिलाहरु अहिले आम्दानी भन्दा कम खर्च गर्न थालेका घर्ती बताउँछन् ।

सुन्दरबजार नगरपालिकाकै ऐसेलु चौरमा पनि नागरिक सचेतना केन्द्र ऐसेलुचौर छ । जसमा आबद्ध ३० महिला बाख्रा पालन गरिहेका छन् । चालु आर्थिक वर्षमा जिविसले दिएको १ लाख रुपैयाँले केन्द्रमा आबद्ध मध्य सबै भन्दा विपन्नको पहिचान गरेर उनीहरुले सचेतना केन्द्रले एक एक वटा बाख्रा दिएको हो । ८५ प्रतिशत दलित समुदाय रहेको यो गाउँका महिला अहिले केन्द्रकै कारण आयआर्जनमा लागेका छन् । जिविसले फलफूलका विरुवा वितरण गरेको छ । यो गाउँलाई अदुवा उत्पादनको पकेट क्षेत्रको रुपमा बिस्तार गर्ने लक्ष्यका साथ अहिले तीन रोपनि जग्गामा सामुहिक अदुवा खेती सुरु गरिएको केन्द्रकी संयोजक सरस्वती परियारले बताइन् ।

उनले आँफुहरु अदुवा खेती, बाख्रा पालन र फलफुल खेतीलाई व्यवसायकै रुपमा अघि बढाउन चाहेको भन्दै जिविसले अहिले दिदै आएको सहयोगको मात्रा बृद्धि गर्न माग गरिन् । नागरिक सचेतना केन्द्रकै कारण आँफुहरुमा नेतृत्व क्षमता समेत अभिबृधि भएको बताउने परियारले आँफु वडा अध्यक्षको जिम्मेवारी निभाउन सक्ने भएको बताइन् । “चाँडै स्थानीय निकायको निर्वाचन हुदैछ । म निर्वाचनमा नेतृत्वको लागि उठ्छौं,” परियाले अगाडी थपिन्, “यो केन्द्रले हामलीलाई धेरै कुरा दियो, अहिले हाम्रो गाउँमा छुवाछुत प्रथाको अन्त्य भएको छ भने सासु र बुहारीबीचको सम्बन्धमा पनि सकारात्मक परिवर्तन आएको छ ।” उनले जिविसको बजेट समयमै निकासा भए हिउदको महिनामा आयआर्जन तथा सिपमुलक काम गर्न सहज हुने बताइन् ।

गाउँ ब्युँझाउँदै इश्वरी र शारदा

अप्सरा र सरवस्तीको यो कथामा जोडिन्छन् इश्वरी र शारदा । लमजुङ्ग बेसीशहरकी इश्वरी पौडेलले पद्यकन्या क्याम्पस काठमाडौंबाट समाजशास्त्रमा स्नातकोत्तर सकेकी छिन् । उनी अहिले गाउँमा दुई देखी तीन घण्टा सम्म हिडेर सचेतना केन्द्रहरुमा पुग्छिन् । केन्द्रमा आबद्ध हुन विपन्न र दलित समुदायलाई आग्रह गर्छिन् । हंसिलो चेहरा र मिजासिलो स्वभावकी उनको आग्रहलाई सहजै स्वीकार्दै स्थानीय महिलाहरु पनि केन्द्रमा आबद्ध हुन्छन् । र, इश्वरीले भनेजस्तै जिविसको आर्थिक सहयोगमा आयआर्जनमा लाग्छन् । फलतः अप्सरा विक जस्ता हजारौं व्यसायी बनिरहेका छन् ।

लमजुङ्ग जिविस प्रशासन विज्ञ लोमश अधिकारीले शारदा पौडेललाई अब अर्को सचेतना केन्द्रमा पठाउन लागेको बताए पछि नागरिक सचेतना केन्द्र ऐसेलुचौरका वडा नागरिक मञ्चका संयोजक चन्द्रबहादुर तामाङ्गले भने, “सरसँग म एउटा आग्रह गर्छु, शारदा म्याडमलाई खोसेर नलैजानुस्, उहाँकै कारण हामी आज यहाँसम्म आइपुग्यौ अझै हामीले शारदा म्यामबाट सिक्नु धेरै छ । कुवाको भ्यागुतो शरह हामी उहाँकै कारण आज विकासे योजना माग्ने भयौं, घण्टौं हिडेर खाने पानी ल्यनाउनु पर्ने वाद्यता अब टर्दैछ,” तामाङ्गले भने, “अब हाम्रोमा खाने पानीको आयोजना बन्दैछ । घरघरमै खानी पानीको धारा बन्दैछ । यी यस्ता अभियानमा हामीलाई शारदा म्याम र इश्वरी म्यामको अझै खाँचो छ ।” विश्वविद्यालयको उच्च तहको औपचारिक अध्ययन सकेकी लमजुङ्ग सुन्दरबजारकी स्थानीय शारदा पौडेल घाम पानी नभनि सरकारको अभियानलाई सफल बनाउन होष्टेमा हैसे गरिरहेकी छिन् ।

वाचडगको रुपमा विकास हुँदै सचेतना केन्द्र

जिविस लमजुङ्गका जिल्ला शासन विज्ञ लोमश अधिकारीले राज्यले नागरिक सचेतना केन्द्रमा गरेको लगानी सदुपयोग भइरहेको दाबी गरे । “सामाजिक विकास भएमात्र पूर्वाधारको विकास हुन्छ, सामुहिक प्रयासमा सामुहिक हित हुन्छ,” उनले भने, “नागरिक सचेतना केन्द्रले गाउँ गाउँमा नेतृत्व विकास सँगै आयआर्जन र सामाजिक चेतनाको विकास गर्ने काम गरेको छ ।” पूर्वाधारको विकास भएको समाजलाई सम्मुनत समाज भन्न नसकिने भन्दै अधिकारीले नागरिक सेचतना केन्द्रले विपन्न जनतालाई सामाजिक र आर्थिक चेतना विकास गरिदिएको बताए । “हाम्रा लागि पनि राज्यले कार्यक्रम ल्याउदो रहेछ, बजेट छुट्याउदो रहेछ भन्ने बुझने भएका छन्, योजना चयन तथा सिफारिस देखी योजना माग्न महिला स्वयम जिविस जान थालेका छन् ।”

इन्जिनियर समेत रहेका अधिकारीले स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधि नहुँदा भ्रष्टाचार बढ्यो भन्ने सामाचार आइरहे पनि यथार्थमा त्यस्तो नभएको बताए । “नागरिक सचेतना केन्द्रको स्थापनासँगै भ्रष्टाचार न्यूनिकरण भएको छ,” उनले भने, “स्थानीय निकायको निर्वाचन पछि चेक एण्ड ब्यालेनसका लागि वाच डगको रुपमा नागरिक सचेतना केन्द्रलाई निरन्तरता दिनु पर्छ ।”

भ्रष्टाचार न्यूनिकरणका लागि वडा नागरिक मञ्च

अधिकारीको भनाईमा सहमति जनाउदै लमजुङ्गका स्थानीय विकास अधिकारी विष्णु प्रसाद अधिकारीले पनि नागरिक सचेताना केन्द्रको गठन सँगै भ्रष्टाचार घटेको दाबी गरे । “केन्द्रमा कतिपय राजनीतिक दलका नेताहरु नै स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा भ्रष्टाचार मौलायो भनिरहेका छन्, तर त्यो यथार्थ होइन,” उनले भने, “भ्रष्टार न्यूनिकरणका लागि अब यसलाई निर्वाचन पछि पनि निरन्तरता पाउँछ । भूकम्पमा वडा नागरिक मञ्चले खेलेको भूमिकालाई कसैले नजरअन्दाज गर्न सक्तैन ।” राजनीतिक दललाई खबरदारी गर्न पनि यसले निरन्तरता पाउनु पर्ने स्थानीय विकास अधिकारी विष्णुप्रसाद अधिकारीले बताए । विभिन्न कारणले डेढ दशकदखी स्थानीय निकायको निर्वाचन हुन नसक्दा जनता र स्थानीय सरकारबीच सेतुको काम गर्दै आएको सचेतना केन्द्र प्रत्यक गाविसमा छन् । जसमा राज्यले वार्षिक ३ लाख १५ हजार रुपैयाँ दिदै आएको छ ।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :