हाते ट्‍याक्टर प्रयोगमा आकर्षण

यो समाचार 367 पटक पढिएको

बेनी, २४ असार/  सीमित जनशक्ति लाग्ने र समयको पनि बचत हुने भएपछि जिल्लाका किसान खेत जोत्न हाते ट्याक्टरतर्फ आकर्षित भएका छन्।

technologyजिल्ला कृषि विकास कार्यालयले कृषि इन्जिनियरिङ निर्देशनालयसँग सहकार्य गरेर ३० प्रतिशत अनुदान सहयोगमा तीन वर्षदेखि ट्याक्टर वितरण गरिरहेको छ। युवा शक्ति वैदेशिक रोजगारमा जाँदा गाउँघरमा भएको जनशक्ति अभावलाई समेत ट्याक्टर प्रयोगले पूर्ति गरेको किसानको भनाइ छ।  जिल्लाको ताकम, दरबाङ, बाबियाचौर, अर्मन, कुहु, पात्लेखेत, बिम, निस्कोट, देवीस्थान, बेनी नगरपालिकाको घतान, रत्नेचौर, पुलाचौर, सिंगालगायतका क्षेत्रमा यसको प्रयोग बढी भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ।

सानोदेखि ठूला गरा भएको खेत जोत्न ट्याक्टर उपयोगी देखिएको पुलाचौरका किसान मीनबहादुर केसीले जानकारी दिए। उनका अनुसार एकहल गोरुले एक दिन लगाउने खेत ट्याक्टररले दुई घन्टामै जोतिसक्छ। ‘सुरुमा चलाउन जान्नुपर्‍यो, यसलाई आवश्यक पर्ने तेलको व्यवस्था गरिदिए पुग्छ’, उनले भने, ‘आजभोलि गोरु खोज्ने र पाल्ने झन्झट पनि हुँदैन।’  बेला-बेलामा ट्याक्टरमा समस्या आए पनि मर्मत गर्दै गए पाँचदेखि १० वर्षसम्म चलाउन सकिने प्राविधिकहरूले जानकारी दिएका छन्।

कम्पनी र ब्रान्डअनुसार केही रकम तलमाथि परे पनि न्यूनतम ७० हजार रुपैयाँमा हाते ट्याक्टर आउने, त्यसमा ३० प्रतिशत अनुदान पाइने हुँदा ४८ देखि ५० हजार रुपैयाँमा ट्याक्टर खरिद गर्न सकिन्छ। मध्य पहाडी जिल्लाहरूमा हाते ट्याक्टरको प्रयोग बढ्दै गएको र त्यो प्रभावकारी बनेको जिल्ला कृषि विकास कार्यालका वरिष्ठ कृषि विकास अधिकृत वसन्तकुमार श्रेष्ठले जानकारी दिए। बर्सेनि ३० जना किसानलाई अनुदानमा ट्याक्टर उपलब्ध गराउन सकिने भए पनि चालू आवमा दुई सयभन्दा बढी किसानले निवेदन दिएको उनको भनाइ छ।

‘जिल्लामा कति आवश्यक छ भनेर खबर गर्दा दुई सयभन्दा बढी किसानले निवेदन दिए, हामीकहाँ सीमित कोटा हुने भएकाले सीमित किसानलाई छनोट गरेका छौु’, उनले भने। किसानहरूले तत्काल ५० हजार रुपैयाँ तिरे ट्याक्टर उपलब्ध गराइने कार्यालयले जनाएको छ । व्यक्तिगतसँगै कृषि सहकारी, किसान समूहहरूले बढी ट्याक्टर माग गरेका छन्। सरकारले गत वर्ष ५० प्रतिशत अनुदानमा ट्याक्टर वितरण गरे पनि यस वर्ष भने ३० प्रतिशतमात्रै अनुदान उपलब्ध गराएको छ। जिल्लामा गत वर्ष २१ वटा ट्याक्टर वितरण गरिएकोमा चालू आवमा ३४ वटा वितरण गरिने कृषि विकास कार्यालयका प्राविधिक सहायक रमेश खड्काले जानकारी दिए। ‘यो कार्यक्रमलाई आगामी आर्थिक वर्षहरूमा पनि निरन्तरता दिइनेछ’, उनले भने।

रचनात्मक प्रतिक्रिया दिनुहोस् :